‘एउटै नाउरको सिकार गर्न २३ लाख’

मुसहर समुदायद्वारा गृहमन्त्री लेखकलाई ज्ञापनपत्र

सिरहा । गृहमन्त्री रमेश लेखकलाई यहाँका दलित मुसहर समुदायले नागरिकतासम्बन्धी समस्या समाधानका लागि आज ज्ञापनपत्र बुझाएका छन् ।

लहान नगरपालिकाको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच ‘सवरी संकल्प समाज’ नामक गैरसरकारी संस्थाका अगुवाले गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा मुसहर समुदायलाई नेपालका आदिवासी घोषित गर्नुपर्ने, वंशजका आधारमा नेपाली नागरिकता दिनुपर्ने, मुसहर समुदायका भूमिहीन सुकुम्बासीलाई खेतीगोग्य जमिन र घरबासको व्यवस्था गर्नुपर्नेलगायत पाँचबुँदे माग रहेको छ ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री लेखकले मुसहर समुदायको समस्यालाई गम्भीरतापूर्वक अध्ययन गर्ने र समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईहरूको समस्याप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो तपाईहरूको मात्र नभएर राज्यकै समस्या भएकाले यसको समाधान गर्न उचित कदम चालिनेछ ।’

अधिकारकर्मी अरुण सदायले ज्ञापनपत्र बुझाउँदै मुसहर समुदाय पछाडि पर्नुमा राज्यको विभेदकारी नीति र अन्यायपूर्ण सामाजिक आर्थिक संरचना नै मुख्य कारक रहेको बताउनुभयो । साथै उहाँले दलित समुदायभित्रको अति सीमान्तकृत समुदायका रूपमा रहेको मुसहर जातिको सामाजिक, राजनितिक, आर्थिक, शैक्षिक उत्थान नभएसम्म समृद्ध राष्ट्रको कल्पना गर्न नसकिने बताउनुभयो ।

मधेश प्रदेशमा मुसहर समुदायको संख्या २ लाख ४७ हजार ५५५ रहेको तथ्यांक छ । अधिकांश मुसहर समुदायका नागरिक नागरिकताविहीन छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ५ : ०६ बजे