‘नेशनल डे कन्सर्ट’ सम्पन्न

विषयगत शिक्षक नहुँदा त्रैमासिक परीक्षा रोकियो

गुलरिया (बर्दिया) । जिल्लाको राजापुर नगरपालिका–४ मा रहेको अमर सहिद श्री दशरथ चन्द माध्यमिक विद्यालयमा सामाजिक विषयको शिक्षक नहुँदा कक्षा ९ को त्रैमासिक परीक्षा रोकिएको छ ।

नगरपालिकाले दरबन्दी मिलानका क्रममा विद्यालयमा कार्यरत सामाजिक विषयको शिक्षकलाई अन्यत्र सरुवा गरेपछि पदपूर्ति नहुँदा तीन महिनादेखि विद्यालयमा सामाजिक विषयको अध्यापन गराउने शिक्षक अभाव छ ।

दरबन्दी मिलानका क्रममा गत जेठमा नगरपालिकाले विषयगत शिक्षक सरुवा गरेपछि हालसम्म पनि पदपूर्ति नभएको विद्यालयका प्रधानाध्यापक सरोजकुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा ९ मा १५० विद्यार्थी अध्ययनरत छन् ।

‘अरू विषयको शिक्षक अभाव नभएकाले प्रश्नपत्र तयार गरी त्रैमासिक परीक्षा भइसकेको छ,’ प्रअ झाले भन्नुभयो, ‘सामाजिक विषय शिक्षक अभावमा प्रश्नपत्र नबन्दा परीक्षा हुन सकेको छैन ।’

उहाँका अनुसार सोही विषयको एकजना शिक्षक दुई वर्षअघि निलम्बनमा पर्नुभएको थियो । उहाँको ठाउँमा आउनुभएका शिक्षक पनि दरबन्दी मिलानका क्रममा गत जेठमा सरुवा भएपछि पठनपाठन प्रभावित भएको हो । नगरपालिकासँग पटकपटक शिक्षक माग गरिरहेको भन्दै हालसम्म सुनुवाइ नभएको उहाँले उल्लेख गर्नुभयो ।

विद्यालयमा सामाजिक मात्र नभई गणित, अंग्रेजी विषय शिक्षकको समेत समस्या रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार उपाध्यायले बताउनुभयो । ‘कक्षा १२ (प्लस टु) मा पनि राजनीति शास्त्र विषयगत शिक्षक अभाव छ । पटकपटक शिक्षक माग गर्दा नगरपालिकाले कार्यविधि बनाएर व्यवस्था गर्ने बताउँदै आएको छ । नगरपालिकासँग समन्वय गरी समस्या समाधान गर्नेछौँ,’ उहाँले भन्नुभयो ।

सामाजिक विषय शिक्षकसहित अभाव रहेका शिक्षकको दरबन्दी आह्वान गरेर शिक्षकको पदपूर्ति गर्ने योजना रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख दलबहादुर चौधरीले बताउनुभयो । ‘तल्लो तहको शिक्षकले योग्यता पुगे माथिल्लो कक्षामा पढाउन सक्ने शिक्षा नियमावलीको प्रावधान छ । विद्यालयमा केही शिक्षकले पढाएको कक्षा कम देखिएका विद्यालयसँग बसेर छलफल गर्ने तयारीमा छौँ,’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ३ : २२ बजे