हालै काठमाडौँ गौशालास्थित पशुपतिनाथ मन्दिर क्षेत्रमा आयोजित एक महायज्ञको व्यासासनमा बसेर कृष्ण दमाईले प्रवचन दिए । उनी त्यहाँ पुग्दा त्यस घटनालाई उच्च प्राथमिकतामा राखेर सञ्चार माध्यमहरूले प्रत्यक्ष प्रसारण गरे । त्यो समाचार समेत ‘भाइरल’ बन्यो । यसको चर्चा अहिले पनि सेलाएको छैन । यो विषय अझै विस्तारित हुँदै जानेछ भन्ने अनुमान गर्न सकिन्छ । यस घटनालाई कतिपयले ‘क्रान्ति’, कतिपयले ‘ऐतिहासिक’ को संज्ञा दिए । एकाध व्यक्तिले त्यो विषय ‘हिन्दु धर्मको प्रतिकूल’ रहेको भन्न समेत भ्याए । जे होस्, दमाईलाई धार्मिक समारोहमा ल्याएर प्रवचन गराउने कार्यको सराहना सांस्कृतिक, बौद्धिक, सामाजिक अभियन्ता, नागरिक समाज सबै क्षेत्रबाट हुनु खुसीको विषय हो ।
यस आलेखमा त्यस समारोहका हर्ताकर्ता, यज्ञको सान्दर्भिकता र उपादेयताका बारेमा पंक्तिकारको धारणा होइन, बरु ‘दलित’ जातिले यस समाजमा व्यहोरिरहेका भुक्तमानका केही प्रसंग र ‘दलित’ विद्वानले उक्त धार्मिक कार्यक्रममा विनम्रतापूर्वक राखेका भनाइमा सन्निहित सन्देशका केही आयामहरूबारे मात्र चर्चा गर्ने कोसिस गरिएको छ ।
प्रवचनको सुरुमै आचार्य दमाईले भन्नुभयो, ‘आज यहाँ बसेर प्रवचन गर्न पाउँदा स्वर्ग पुगे झैँ भएको छ ।’ हिन्दुहरूको विश्वासमा मृत्युपछि असल कार्य गरेकाले अत्यन्त उत्कृष्ट स्थान ‘स्वर्ग’ हासिल गर्छ र निकृष्ट कार्य गर्नेले सबैभन्दा निकम्मा ठाउँ ‘नर्क’ मा फस्दछ । यद्यपि अहिलेसम्म संसारमा कोही यस्तो व्यक्ति भेटिएको छैन, जसले आफू स्वर्ग पुगेर आएको या नर्कमा फसेर फर्केको भनेर पुष्टि गरेको होस् । विज्ञानले स्वर्ग र नर्क भन्ने कुरा काल्पनिक नै हो भनेको छ । त्यसैले हिन्दु धर्मशास्त्रका विद्यार्थी दमाईमा पनि स्वर्ग र नर्कका बारेमा भ्रम रहेको भने छर्लंग हुन्छ । त्यसो त यस रचनाको उद्देश्य अध्यात्मवाद र भौतिकवादबारे उनमा के कति ज्ञान रहेछ भन्ने कुरा उधिन्न प्रयास गर्नु पनि होइन ।
निश्चित जातका आधारमा ‘अछुत’ भनिँदै आएको परम्परागत हिन्दुवादी दृष्टिकोणको बोलवाला भएको समाजमा आफ्नो ज्ञान प्रस्तुत गर्ने अवसर पाएकामा दमाईले गर्वको महसुस गरिरहँदा कसैलाई उचित नलागेको हुन सक्ला तर धर्मलाई पनि बदलिएको परिवेश अनुरूप परिष्कृत गर्दै लैजानुपर्छ भन्ने मान्यता राख्ने सुधारवादीहरूलाई यो सामान्य नै लाग्छ । यस्तो परिस्कार गर्ने प्रवृत्तिको सराहना नै गर्नुपर्दछ ।
विश्वव्यापी रूपमा विज्ञानले फड्को मारेको अहिलेको अवस्था र मानिसलाई उच्च निच जातिमा विभक्त गरेर निहित स्वार्थपूर्ति गर्न पल्केको वर्ग र प्रवृत्ति क्रमशः कमजोर बन्दै गएको वर्तमान परिवेशमा समेत दमाईले मञ्चासिन हुन पाउनु नै अहोभाग्य ठान्नुपर्ने अवस्था आउनु आधुनिक र सभ्य ठान्ने मानवजातिका लागि लाजमर्दो विषय भने पक्कै हो । यो बुज्रुक भनाउँदो समाजका लागि चोटिलो व्यंग्य पनि हो । दमाईको उक्त भनाइको प्रशंसा गर्नुपर्छ ।
नेपालमा जात प्रणाली सामन्ती राज्यसत्ताले कतिपय अवस्थामा घोषित रूपमा नै अवलम्बन गर्यो भने त्यसरी घोषणा नगर्दा परम्परागत रूपमा चल्दै आएको छ । त्यसैले एउटा बुझ्नैपर्ने विषय के हो भने समाजमा घट्ने एकादुई घटनाले हजारौँ वर्षदेखि जरा गाडेर बसेको जात प्रथाको उन्मूलन गर्न सक्दैन । यस्ता प्रगतिशील पहलकदमीले सामाजिक चेतना र जागरण फैलाउन भने अवश्य मद्दत मिल्छ । यस अर्थमा कार्यक्रममा दमाईको प्रवचन सहितको संलग्नता र यसमा श्रोताहरूको उत्साहजनक स्वागतले पछौटे चिन्तन बोकेको समाजमा वैज्ञानिकता र आधुनिकतातर्फको यात्रामा अग्रसर हुन सहयोग नै पु-याउँछ ।
यस देशको तराई, पहाड र हिमाली सबै क्षेत्रमा करिब १४ प्रतिशत ‘दलित’ समुदायको संख्या रहेको छ । शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सार्वजनिक क्षेत्रमा यस समुदायको पहुँच कमजोर छ । साँच्चै भन्ने हो भने ठूलो संख्यामा ‘दलितहरू’ ले मुलुकमै दोस्रो दर्जाको नागरिक सरह जीवन जिउनुपर्ने बाध्यता र विवशता छ । दमाईलाई संस्कृत शिक्षा पढ्नका लागि त्यहाँका शिक्षकबाट रोक्न खोजिएको रहेछ उबेला । यस घटनाबाट नै बुझिन्छ कि ‘दलित’ समुदायलाई शिक्षा आर्जन गर्नबाट कसरी वञ्चित गरिँदो रहेछ ।
उपेक्षित र अपहेलित ‘दलित’ समुदायको उक्त जनसंख्या देशको कुल जनसंख्याको उल्लेख्य प्रतिशत हो । निरपेक्ष गरिबीको रेखामुनि रहेको २२ प्रतिशत जनसंख्यामा ‘दलित’ समुदायको ठूलो हिस्सा रहेको छ । त्यसैले जबसम्म यस समुदायलाई सामाजिक आर्थिक विकासको मूल प्रवाहमा समावेश गर्न सकिँदैन देशलाई समृद्ध बनाउन असम्भव छ ।
केही दिन पहिले मुलुकको आर्थिक समृद्धि तथा जल्दाबल्दा समस्यामा केन्द्रित भएर केही साथीहरूसँग छलफल गर्ने क्रममा सहभागी दलित समुदायका एकजना मित्रले समाजका सबै सदस्यहरूको अन्तरघुलनको विषयमा चर्चा गरे । ‘दलित समुदाय यसै पनि सामाजिक आर्थिक क्षेत्रमा पछि परेको छ र त्यसमाथि ‘उपल्लो जात’ का कतिपय घरमा प्रवेश गर्न मनाही गरिएको हुन्छ र केही ‘दलित’ मा हीनताबोधले प्रवेश गर्न नसक्ने अवस्था भएकाले समेत दलित समुदायले ती घरपरिवारका असल अभ्यास देख्न नसक्ने अवस्था छ,’ उनले मलिन स्वरमा पीडा व्यक्त गरे । यसले त्यहाँ उपस्थित सबैको मनलाई दुःखित बनायो । सुन्दा सामान्य लागेपनि यो विषय अत्यन्त महत्त्वपूर्ण छ- समाजको उन्नति र प्रगतिका लागि ।
मानव अधिकारको एउटा महत्त्वपूर्ण प्रस्थापना नै हो कि मानिसलाई कुनै जात र थरका आधारमा विभेद गर्न पाइँदैन । मानव अधिकारसँग सम्बन्धित थुप्रै अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र कानूनहरूको नेपाल पक्ष राष्ट्र हो । यी विश्वव्यापी नियमहरूको पालना गर्न आवश्यक नीति तथा कानून बनाउनु राज्यको दायित्व भित्र पर्ने भएकाले यहाँको संविधान, कानून र आवश्यक पर्ने नीति नियमहरू जातिय विभेद विरोधी छन् । यहाँ जातिय विभेद गर्नु, छुवाछूत गर्नु दण्डनीय अपराध नै हो । यो सकारात्मक पक्ष हो । यति हुँदाहुँदै पनि ‘दलित’ समुदायले मन्दिर प्रवेश गर्न तथा प्रसाद ग्रहण गर्न, सार्वजनिक धारा, कुवा, इनारमा पानी भर्न, होटल तथा चमेना गृहमा खाना खान समस्याहरू झेल्नुपरिरहेको छ । यसैगरी सार्वजनिक सवारी साधन प्रयोग गर्न तथा स्वास्थ्य चौकी तथा अस्पतालमा जाँच गराउन समेत ‘दलित’ ले सास्ती भोग्नुपर्ने अवस्था रहेको छ । यतिसम्म कि विद्यालयमा दिवा खाजा दिने विषयमा समेत ‘दलित’ समुदायका अबोध बालबालिकालाई कतिपय विद्यालयमा विभेद हुने गरेको समाचारहरू आइरहेका छन् ।
त्यसो त मुलुकमा दलितका पक्षमा बनेका नीति तथा कानूनको कार्यान्वयन हुँदै आएको अवस्थासमेत छ । दलितका हक अधिकारका विषयहरूले स्थान पाउँदै पनि गएका छन् । विभेद गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याइएको पनि सुनिन्छ । यसको प्रभावकारी कार्यान्वयनको खाँचो भने अझै पनि छ । अर्को कुरा नीति र कानून बनेर मात्र हुँदैन जातीय विभेद र छुवाछूतको अन्त हुनका लागि सिंगो समाजले नै सम्पूर्ण मानव एउटै हो भन्ने हृदयदेखि नै महसुस गर्ने वातावरण बनाउनुपर्दछ । त्यसैले यस समुदायलाई राजनीतिक, प्रशासनिक, शैक्षिक, नीति निर्माण तथा यसको कार्यान्वयन तहमा स्थापित गराएर सामाजिक आर्थिक विकासको मूल प्रवाहमा सामेल गराउनुपर्दछ । उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर र स्वावलम्बी बनाउन ध्यान दिनैपर्दछ ।
एउटा सकारात्मक पक्ष के हो भने समाजमा रहेका ‘दलित’ समुदाय जो सम्पन्न र शिक्षित छन् तिनले तुलनात्मक रूपमा विभेद कम व्यहोर्नुपर्दछ । त्यसैले दलित मुक्तिको विषय वर्गीय मुक्तिसँग जोडिएको छ भन्ने कुरा स्पष्ट हुन्छ । समृद्ध समतामूलक समाज स्थापना हुँदै जाँदा जातीय विभेद र उत्पीडन पनि न्यून हुँदै जान्छ । यसका लागि स्वयं ‘दलित’ समुदाय संगठित बनेर प्रगतिशील रूपान्तरणका लागि सही राजनीतिक अभियानको अभिन्न अंग बनेर सक्रिय हुनुपर्दछ । कृष्ण दमाई जस्ता ‘दलित’ समुदायका विद्वान तथा विदुषीहरूले आर्जन गरेको ज्ञान समाजमा बाँड्न पाउने वातावरण बन्नैपर्दछ । अनि लामो समयसम्म असल अभ्यास हुँदै जाँदा सबै मानव एकै हुन् भन्ने मान्यता अवश्य स्थापित हुनेछ ।
प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार ११ : २६ बजे
प्रतिक्रिया