‘एउटै नाउरको सिकार गर्न २३ लाख’

‘गल्छी–रसुवागढी सडक’ आंशिक रुपमा सञ्चालन

त्रिशूली। सडकमाथिबाट खसेको ठूलो ढुंगासहितको पहिरोले अवरुद्ध अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत ‘गल्छी–रसुवागढी सडक’ आंशिक रुपमा पुनःसञ्चालन भएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित ठूलोखोला नजिकैमाथिबाट खसेको ठूलोढुंगासहितको पहिराले सडक पूर्णरुपमा बन्द भएकोमा आज साँझदेखि एक लेन सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख जे जंग कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार देवीघाटबाट महादेवफाँट हुँदै गल्छी आउजाउ गर्ने सडकमा बुधबार राति गएको पहिराले पूर्णरूपमा बन्द भएको थियो । पहिरासँगै खसेको ठूलोढुंगा हटाउन बाँकी भए पनि भित्ताबाट एक लेन खुला गरेर रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाइएको छ ।

गल्छी–रसुवागढी सडक योजनाको कार्यालयका प्रमुख इञ्जिनियर धुव्रकुमार श्रेष्ठका अनुसार अहिले खुला भएको सडकमा सोही स्थानमा थप पहिरो नगए हुने अपेक्षा गरिएको छ । पहिरासँगै ठूलोढुंगा हटाउन ब्रेकर लगाउनुपर्ने भएकाले ‘डेडिकेटेड डबल लेन’ को सडक पूर्णरुपमा सञ्चालन गराउन बाँकी रहेको छ ।

“तत्कालको लागि सडक खुलाउन प्राथमिकता दिँदै रोकिएका यातायात सञ्चालनमा ल्याएका छौँ,” योजना प्रमुख श्रेष्ठले भन्नुभयो, “ठूलो ढुंगालाई ब्रेकर लगाएर हटाउन र पहिरो गएको स्थानमा थप पहिरो खस्न नदिने प्रयास गरिएको छ ।”

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  ९ : १६ बजे