साफ यू–१७ च्याम्पियनसिप आजदेखि

परराष्ट्रमन्त्री राणा स्वदेश फर्कंदै, नेपाल भ्रमणको निम्तो मोदीलाई हस्तान्तरण


काठमाडौं । भारतको पाँच दिने भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्किँदै हुनुहुन्छ ।
भारतीय समकक्षी एस. जयशंकरको निमन्त्रणमा आइतबार भारत भ्रमणमा निस्केकी मन्त्री राणा आज अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उहाँको सचिवालयले जनाएको छ।

भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ । राणाले मोदीसँगको सोमबार बेलुकी भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निमन्त्रणा हस्तान्तरण गर्नुभएको हो ।

परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले लगायतसँग भेटवार्ता गर्नुभएको थियो । भेटका क्रममा नेपाल भारत सम्बन्ध, व्यापार, कनेक्टिभिटी, हवाई रुट, विद्युत् लगायत बहुआयामिक द्विपक्षीय हितका विषयमा कुराकानी भएको जनाइएको छ ।

स्वदेश फर्कनुअघि परराष्ट्रमन्त्री राणाले आफ्नो भारत भ्रमण सफल भएको उल्लेख गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमा भारत भ्रमणबारे प्रतिक्रिया सार्वजनिक गर्दै यस्तो उल्लेख गर्नुभएको छ।

‘छिमेकी मुलुक भारतको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छु । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यू, विदेशमन्त्री श्री डा. एस‍. जयशंकरज्यूसँग शिष्टाचार भेट तथा द्विपक्षीय वार्ता भयो । मलाई भ्रमणका लागि आमन्त्रण गरी न्यानो स्वागत एवं आतिथ्यका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद ज्ञापन गर्दछु । भ्रमणले सदियौँ पुरानो नेपाल–भारत सम्बन्ध अझ मजबुत भएको विश्वास मैले लिएको छु ’ उहाँले लेख्नुभएको छ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  २ : ५९ बजे