साफ यू–१७ च्याम्पियनसिप आजदेखि

डुबानबाट कैलालीका ५ सय घरपरिवार प्रभावित

सुदूरपश्चिम । दुई दिनदेखिको वर्षासँगै नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानको समस्याले कैलाली जिल्लामा ५ सय घरपरिवार प्रभावित भएका छन् ।

जिल्लामा आज बिहानसम्म पाँचसय घर डुबानमा परेको र यसबाट झन्डै एक हजार ७०० नागरिक प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । डुबानको समस्याले कैलारी गाउँपालिका, भजनी, घोडाघोडी र गौरीगंगा नगरपालिका क्षेत्र बढी प्रभावित भएको छ । डुबानको जोखिम अझै रहेकाले सुरक्षित स्थानमा सर्न जिल्ला प्रशासन कार्यालये सूचना जारी गरेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको छ । कटैनी, शिवगंगा, कान्द्रा, पथरैया, खुटिया, मोहनालगायत नदीमा बढेको पानीको बहाव बस्तीमा पसेपछि आसपासको बस्तीमा डुबानको समस्या भएको हो । डुबानबाट बढी प्रभावित कैलारी गाउँपालिका—५ को मनिकापुरका कतिपय घरपरिवारको खाद्यान्न लत्ताकपडालगायत समान भुइँतलाबाट माथिल्लो तल्लामा राखेर भिज्नबाट जोगाइएको छ । डुबान भएपछि आफ्नै घरको छत र छानामा बसेर नसुतेरै धेरैले रात विताएका छन् । डुबानले धेरै परिवारको घरभित्र पानी पस्दा खाद्यान्नसहितको धनमाल भिजेर क्षति पुगेको छ ।

घोडाघोडी नगरपालिका—९ मा शिवगंगा नदीको बहाव बस्तीमा पसेपछि भएको डुबानले महादेवा, कम्दा, भगवानपुर, शंकरपुरलगायत क्षेत्र डुबानमा परेका छन् । पूर्वपश्चिम हुलाकी राजमार्गको कैलारी सडक खण्ड बस्तीको भूभागभन्दा अग्लो निर्माण गरिएको कारण पानी थुनिएर आसपासको बस्ती डुबानमा परेको स्थानीयवासीले बताएका छन् । “पानीको निकास हुन पाउनेगरी हुलाकी सडक निर्माण गर्नुपर्नेमा त्यसो नगरिएकाले आफूहरुले बर्सेनि डुबानको समस्या झेल्नु परेको छ,” स्थानीयवासी ठाकुर चौधरीले भन्नुभयो, “पानीको निकास गरेर मात्र विकास गर्नुप-यो ।”

गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले डुबानबाट प्रभावित हुनेहरुको वडाका जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, प्रहरी लगाएको टोली उद्धार राहतमा जुटिरहेको बताउनुभयो । उहाँले गाउँपालिकामा उपलब्ध साधन स्रोतका आधारमा डुबान, कटानको समस्या समाधान गर्न नसकिने भएकाले संघ र प्रदेश सरकारले नदी तटबन्धनजस्ता ठूला योजना ल्याउन जरुरी भइसकेको बताउनुभयो ।

अविरल वर्षाले धनगढी उपमहानगरपालिका क्षेत्र जलमग्न भएको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा प्रदेश सरकारका कतिपय मन्त्रालयलगायत सरकारी कार्यालय र सडकमा पानी जमेपछि आवागमन असहज बनेको छ । दुई दिनदेखिको वर्षासँगै कैलालीको मोहना, खुटिया, पथरैया, मुढा, गोरीगंगा, कान्द्रा, शिवगंगा र काँडालगायत नदी र खोलामा पानीको बहाव बढेको छ । डुबानका कारण विस्थापित स्थानीयवासीका लागि कैलाली जिल्लाको पूर्व—पश्चिम हुलाकी राजमार्गअन्तर्गतको केही ठाउँको सडकसुरक्षित ‘सेल्टर’ ९बासस्थान० बन्दा कतिपय ठाउँको सडक भने डुबान हुने कारक पनि बनेको देखिएको स्थानीयको भनाइ छ ।

जिल्लाको दक्षिणी क्षेत्रको होचो भूभाग हुँदै निर्माण गरिएको यो राजमार्ग बस्तीभन्दा अग्लो भएपछि डुबानको समयमा विस्थापित हुने स्थानीयवासी यसै राजमार्गमा त्रिपाल टहरा बनाएर बस्ने गरेका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  २ : २३ बजे