साफ यू–१७ च्याम्पियनसिप आजदेखि

पौडी टोली आबुधाबी जाँदै

काठमाडौं। १५औँ विश्व फाना पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा सहभागी हुन नेपाल पौडी टोली सोमबार आबुधाबी जाँदै छ ।१५ देखि २१ डिसेम्बरसम्म हुने प्रतियोगितामा समान २-२ पुरुष र महिला गरी चार खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । 

पुरुषको २०० मिटर फ्रिस्टायल र व्यक्तिगत मिड्लेमा नासिर हुसैन तथा ५० र एक सय फ्रिस्टायलमा एलेक्स शाहले प्रतिस्पर्धा गर्नेछन् । 

महिलाको ५० र १०० मिटर फ्रिस्टायलमा अनुश्रिया तण्डुकार तथा ५० र १०० मिटर ब्रेस्टस्ट्रोकमा उपास्ती महर्जनले सहभागिता जनाउने छन् । 

अमेरिकामा रहेका एलेक्स त्यतैबाट आबुधाबी जाने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन् ।

प्रशिक्षकमा नयना शाक्य तथा व्यवस्थापकमा अनिश महर्जन छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्यसचिव घिसिङले नयाँ उपलब्धी हासिल गर्न खेलाडीलाई उच्च मनोबलका साथ प्रदर्शन गर्न बताउँदै खेलाडीले व्यवस्थापनमा नभई आफ्नो खेल र प्रशिक्षणतिर मात्र ध्यान दिन आवश्यक रहेको बताए । 

उनले राष्ट्रिय टिमको प्रदर्शन व्यवस्थित गर्न राखेपले हाइ पर्फमेन्स कमिटी गठनको तयारी गरिरहेको जानकारी गराए ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ४ : ३४ बजे