साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

चिनीमा कृत्रिम मूल्यवृद्धि , किलोको १ सय १५ पुग्यो

काठमाडौं । चाडपर्व सुरु हुनु पूर्व नै चिनीमा कृत्रिम मूल्यवृद्धि सुरु भएको छ । व्यापारीले आफूखुसी मूल्य बढाएका कारण चिनीको मूल्य प्रतिकिलो १ सय रुपैयाँबाट ११५ रुपैयाँ पुगेको छ ।

विगतका वर्षमा पनि चाडपर्वअघि चिनीको कृत्रिम अभाव देखाएर व्यवसायीहरूले मूल्य बढाउने गर्थे । यो वर्ष विगतको भन्दा पहिलेनै चिनीको मूल्य अकासिएको छ ।

खुद्रा व्यापारीहरुका अनुसार दुई साताअघि चिनी प्रतिकिलो ९५–१०० रुपैयाँ थियो । अहिले बजारमा ११५ रुपैयाँसम्म पुगेको छ । खुद्रा व्यवसायी संघका महासचिव अमुल तुलाधरले पछिल्लो समय चिनीको मूल्य बढेको बताएका छन् ।
बजारमा चिनी पर्याप्त हुँदाहुँदै पनि मूल्य बढेको छ । थोक बजारमै चिनीको मूल्य बढेपछि त्यसको असर बजारमा परेको खुद्रा व्यापारीहरुले बताएका छन् । अहिले थोक बजारमा प्रतिकिलो १०९ रुपैयाँ चिनीको मूल्य पुगेको छ । त्यसमा ढुवानी भाडा र केही नाफा जोड्दा ११५ रुपैयाँसम्म पुग्ने खुद्रा व्यापारीहरुले बताएका छन् ।

पछिल्ला दिनमा दैनिक उपभोग्य वस्तु चिनीसहित चिनीसँगै सबै खाद्यवस्तुको मूल्य बढेको छ । व्यापारीहरुले दैनिक उपभोग्य वस्तुमा आफूखुसी मूल्य लिएर कालाबजारी गरी उपभोक्तालाई अनवश्यक रुपमा ठगी गर्ने कार्य गरिरहेका छन् । दाल, गेडागुडी, चामल, तरकारी लगायत धेरै वस्तुमा अस्वाभाविक रुपले मूल्य १० देखि ५० प्रतिशतसम्म बढेको छ ।

उपभोक्ताको हितमा सरकार संवेदनशील बन्न नसक्दा कालोबजारी बढेको आकलन गरिएको छ । सरकारलाई चाडपर्वमा चिनी अभाव हुन्छ भन्ने थाहा भए पनि उपभोक्तालाई सहज रुपमा आपूर्ति गर्नुपर्छ भनेर नयाँ रणनीति केही पनि बनाएको देखिँदैन । अहिले भारतीय बजारमा पनि चिनी महँगो भएको छ । भन्सारको बाटोभन्दा चोरीपैठारीबाट चिनी ल्याएर महँगो मूल्यमा बेच्न पाइने भएकोले व्यवसायीले आयात नै कम गर्न थालेका छन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले बजार अनुगमन गर्दा १०८ देखि ११० रुपैयाँसम्ममा चिनी बिक्री भएको पाइएको विभागका सूचना अधिकारी राकेश पाण्डेले बताएका छन् । तर बजारमा चिनी महँगो भयो भनेर विभागमा हालसम्म कुनै उजुरी नपरेको विभागका उच्च अधिकारीले बताएका छन् ।

चाडपर्वमा उपभोक्तालाई सहज रुपमा चिनी आपूर्तिको व्यवस्था मिलाउन विभागले सात वटा व्यावसायिक फर्मलाई आयातको अनुमति योभन्दा पहिले नै दिएको हो । सय दिनमा १९ हजार टन चिनी आयात गर्न अनुमति विभागले दिइसकेको छ । देशभर चिनीको वार्षिक माग २ लाख ८० हजार टन रहेको सरकारको आकलन छ । जसमध्ये स्वदेशी उत्पादन १ लाख ८० हजार टन हुने गरेको कृषि मन्त्रालयले जनाएको छ । बाँकी करिब एक लाख टन आयात गर्नुपर्ने अवस्थामा निजी कम्पनीलाई चिनी आयातको स्वीकृति दिए पनि बजारमा मूल्य वृद्धि नियत्रन्त्रण भने हुन सकेको छैन ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  १ : १३ बजे