‘एउटै नाउरको सिकार गर्न २३ लाख’

पाठेघरको शल्यक्रिया गर्ने क्रममा महिलाको मृत्यु

भरतपुर । भरतपुर अस्पतालमा पाठेघरको शल्यक्रिया गर्ने क्रममा एक महिलाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–१२ मुनाल चोक बस्ने ३९ वर्षीया सम्झना काफ्लेको मंगलबार पाठेघरको शल्यक्रिया गरेर बायोप्सी निकाल्ने क्रममा मृत्यु भएको हो । माइनर (साधारण) शल्यक्रिया गर्दा नै महिलाको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् । 

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार पाठेघरको बायोप्सी निकाल्दा बेहोस बनाउने क्रममा उहाँको मृत्यु भएको हो । पाठेघरमा सिष्ट भएको भन्दै उहाँको शल्यक्रिया गरेर बायोप्सी निकाल्न लागिएको थियो । मृतक महिलाको मुटुमा पहिल्यैदेखि समस्या रहेको पौडेलले बताउनुभयो । बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आइसीयूमा राखे पनि बचाउन नसकिएको उहाँले जानकारी दिनुभयो । 

मृतक महिला यही भदौ ३ गते पाठेघरको ट्यूमरको शल्यक्रियाका लागि भरतपुर अस्पतालमा भर्ना हुुनुभएको थियो । मंगलबार बिहान ९ बजे शल्यक्रिया थियटरमा राखी लठ्ठाउने सुई लगाइ बेहोस बनाउने क्रममा उहाँको होस नआएको पौडेलले बताउनुभयो । 

उहाँका अनुसार घटनाका बारेमा थप अनुसन्धान हुँदै छ । अस्पतालले समेत आन्तरिक छानबिन समिति बनाएको जनाएको छ । मृतकका आफन्तले अस्पतालले उपचारमा गम्भीर लापरबाही गरेको बताएका छन् । अहिले जिल्ला प्रशासन कार्यालयमा घटनाको विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ५ : १९ बजे