साफ यू–१७ च्याम्पियनसिप आजदेखि

स्टार्टअपका लागि नेपालमा अनुकुल वातावरण बनेको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्टार्टअपका लागि नेपालमा अनुकुल वातावरण बनेको बताउनुभएको छ ।

बुधबार काठमाडौँमा स्टार्टअप नेसन,२०३० कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अहिले स्टार्टअपका अनुकुल वातावरण रहेको बताउनुभएको हो । उहाँले कामको खोजीमा युवाहरू दिनहुँ विदेशिरहेको भन्दै नेपालमै पर्याप्त रोजगारीको सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले देशबाट बाहिरिने युवाहरूका लागि स्वदेशमै पर्याप्त रोजगारी सिर्जना गर्न स्टार्टअप महत्त्वपूर्ण साबित हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले सिप, आम्दानी, आत्मविश्वास बढाउने कार्यक्रमहरू सरकारले ल्याउने पनि जानकारी गराउनुभयो । उहाँले सहकारीमा गैर सहकारी तत्त्वहरूको प्रवेशले सहकारीप्रतिको आम नागरिकको विश्वास गुमेको बताउनुभयो । उहाँले हजारौँ सहकारीमध्ये केही सहकारीमा मात्रै सो अवस्था आएको भन्दै सहकारीप्रतिको विश्वासलाई फेरि जगाउने बताउनुभयो । उहाँले स—साना पुँजीले अलि ठुला कामहरू गर्ने गरी अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीले सहकारीका माध्यमबाट केही चिज गर्न खोज्यौँ । सहकारीमा गैर सहकारी तत्त्वहरू केही सहकारीमा प्रवेश गरे । सहकारी अचानक ठुला भए । सहकारीको उद्देश्य, सहकारीको मूल्य मान्यताअनुसार चलेनन् र सम्पूर्ण सहकारीप्रति जनताको एक ढंगको विश्वास कमजोर हुने खालको स्थिति बन्यो । हुनतः हजारौँ सहकारीमध्ये केही सहकारी हुन् । सरकारले समस्याग्रस्त भनेर पनि छुट्याइसकेको छ । कतिपय सहकारी अप्ठ्यारोमा पारिएको छ । यो चिज गैर सहकारी तत्त्वहरू त्यसमा घुसेर हो । सहकारी गर्दागर्दै नजानेर भन्दा पनि गैर सहकारी तत्त्वहरू बेग्लै उद्देश्यले प्रवेश गरेर सहकारीप्रतिको निष्ठा रहेन । सहकारीको उद्देश्यप्रतिको बेइमानी भयो । सहकारीप्रतिको विश्वासलाई फेरि पनि अघि बढाउँछौँ । अघि बढाउनु पर्छ । सच्चा सहकारीहरूको व्यापक नेटवर्क बनाउनु पर्छ । स—साना पुँजीले अलि ठुला कामहरू गर्ने गरी अघि बढ्नुपर्छ । स्टार्टअप विभिन्न क्षेत्रमा चान्स छ । अब हामीकहाँ एक ढंगले भन्ने हो स्टार्टअपका लागि अनुकुल वातावरण बनेको छ । हाम्रा युवाहरू बाहिर गइरहेका छन् । कामको खोजीमा, त्यो भन्दा राम्रो अवस्था यहाँ स्टार्टअपबाट ल्याउन सकिन्छ । सिप, आम्दानी, आत्मविश्वास बढाउन सकिन्छ ।’

प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास नगरीकन रोजगारीका अवसर सिर्जना हुन नसक्ने बताउनु भयो । उहाँले स्टार्टअप आफैँमा गन्तव्य, उद्देश्य नभई माध्यम भएको बताउनु भयो । गन्तव्य सुखी नेपाली र समृद्ध नेपाल रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले युवालाई देशमै रोजगारी दिने वातावरण सिर्जना गर्न जरुरी रहेको बताउनु भयो । 

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ३ : ०० बजे