‘नेशनल डे कन्सर्ट’ सम्पन्न

   इटहरीमा हास्यव्यंग्यात्मक संगोष्ठी 

इटहरी ।  भाद्र ४ गते इटहरी वडा नं. ५ को पचरुखी स्थित  ज्येष्ठ नागरिक भवनको सभाहलमा गाईजात्राका अवसरमा स्रष्टाहरूले हास्यव्यंग्यात्मक संगोष्ठी सम्पन्न गरेका छन् । 

इटहरी वरपर र इनरुवा  र धरानबाट समेत सहभागी वरिष्ठ,ज्येष्ठ,साधनारत, बाल तथा युवा प्रतिभाको व्यापक सहभागितामा रोचक र घोचक कार्यक्रम सम्पन्न भएको  थियो । वरिष्ठ हास्यकलाकार कृष्ण नेपालको अगुवाइमा भएको कार्यक्रमको आयोजक संस्था हंशवाहिनी फिल्म्स प्रोडक्शन प्रालि र इटहरी साहित्यिक समूह रहेका थिए  भने  सह-आयोजकमा जनजागरण पुस्तकालय,पचरुखी रहेको थियो ।  

इटहरी साहित्यिक समूहका अध्यक्ष  हेमन्त गौतमको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रसिद्ध स्रष्टा तथा समालोचक प्रा।डा बद्रीविशाल पोखरेल  हुनुहुन्थ्यो  । प्रमुख अतिथि पोखरेलले राजा प्रताप मल्लले सुरु गरेको गाईजात्राको प्रसङ्ग उल्लेख गर्दै समय क्रममा नेपाली हास्यव्यङ्ग्य विधाका रूपमा नेपाली साहित्यमा प्रचलित भएको बताउनुभयो । 

उहाँले समाजमा व्याप्त सबै खालका  विकृति विसङ्गतिमा परिवर्तन वा सुधार गर्ने मूल  उद्देश्यबाट  स्रष्टाले हास्यका साथ कटुव्यङ्ग्य गर्ने परम्परा रहेको बताउँदै कार्यक्रमको सह्राना गर्नुभयाे ।  वाचित कवितामा आधारित भएर डा. पोखरेलले देश  र देशभक्तलाई चाहिँ उछित्तो काढ्न हुँदैन तर आवश्यक पर्दा राजनीतिक,सामाजिक आर्थिक लगायत विकृतिको ढाँडै भाँच्ने गरी पनि लेखक कविले लेख्नु पर्ने बताउनुभयो तर उहाँले सबै जोगी कान चिरा भन्ने भ्रमपूर्ण मानसिकता समाजमा प्रवाह गरेर देशमा  चरम निराशा र अनास्था उत्पन्न गराउने काम समाजका अगुवा सर्जकले गर्नु जाती नभएको उल्लेख गर्नुभयो ।

कार्यक्रम साँच्चै गाईजात्रे पाराको नौलो व्यङ्ग्यात्मक थियो । कविता, गीत गजल,नृत्य,प्यारोडी क्यारिकेचर  पनि नेपाली थारु र मैथिली भाषामा रचनाहरू प्रस्तुत भएका थिए । अतिथि,प्रमुख अतिथि लगायत वरिष्ठ सर्जक र पुरस्कृत प्रतिभालाई हास्य खालका माला,ब्याच र पुरस्कार प्रदान गरिएको थियो । लौका,फर्सी,भन्टा,काँक्रो,सागपात,निगुरो जस्ता पदार्थहरू पुरस्कारका रूपमा प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रथम,द्वितीय,तृतीयसहित १२ जना सर्जकलाई प्रोत्साहन वा सान्त्वना पुरस्कार प्रमुख अतिथिले प्रदान गर्नुभएको थियो  । वरिष्ठ कलाकार प्रकाश अनुराग, टेकराज राजवंशी, संजीव कटुवाल, ,सरस्वती चौधरी,वरिष्ठ गायिका गंगा गौतम, लेखक मिथिला पोखरेल,कृष्ण गौतम,राजन निरौला,वरिष्ठ स्रष्टाहरू राधा सुवेदी,रञ्जना शर्मा, निरज कोइराला, , प्रेम गुरागाईँ, तथा बालप्रतिभा सुहान नेपाल,हेमांशा कार्की पुरस्कृत भएका थिए । कार्यक्रममा राजसा महासङ्घको केन्द्रीय सदस्य तथा प्रसिद्ध कलाकार दुर्गा पराजुली तथा प्रलेस सुनसरीको अध्यक्ष  टीक मिलन लगायतले मन्तव्य प्रस्तुत गर्नुभयो ।  

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  १२ : ५१ बजे