साफ यू–१७ च्याम्पियनसिप आजदेखि

नेपालको सामाजिक-सांस्कृतिक रूपान्तरण र प्रवासी नेपाली आन्दोलनमा पुनः जागरणको आवश्यकता

रामायणमा एउटा सुन्दर प्रसङ्ग छ, रावण वध गरी लङ्कामाथि पूर्ण विजय प्राप्त गरेपछि राम, लक्ष्मणलगायतले लङ्काको सौन्दर्य र वैभव हेर्दै थिए । लक्ष्मणलाई यो वैभवले लोभ्याएछ र रामसँग यतै बस्ने आशयले व्यक्त गरेछन् । त्यतिबेला रामले लक्ष्मणलाई भनेको प्रसङ्गको रूपमा यो पङ्क्ति प्रचलित छ— ‘जननी जन्मभूमि स्वर्गादपि गरीयसी आमा र मातृभूमि स्वर्गभन्दा महत्त्वपूर्ण छन् ।’ देशभित्रै, आमाकै काखमा बसिरहेकाहरूमा भन्दा काख छोड्न विवशहरूमा देशभक्ति—मातृ भक्तिको भावना बढी पाइन्छ । त्यति बेलाका मर्यादा पुरुषोत्तम रामले पनि यति कुरा व्यक्त गर्दा लङ्कामा थिए । यसबाट स्पष्ट हुन्छ, विजयको उल्लासमा पनि परदेश कति त्याज्य हुँदो रहेछ । 

त्यतिबेला राम र रावणको बीचमा युद्ध थियो । अहिले पनि सम्पन्नता र विपन्नताको बीचको युद्ध छ । अन्य अनेकौँ विषयका सङ्घर्षहरू पनि छन् । सबैलाई थाहा छ, विश्व समाज मुख्य दुई वर्गमा विभाजित छ— धनी र गरिब । जसरी मानिसहरू धनी र गरिब छौँ, त्यसरी नै राष्ट्रहरू पनि धनी र गरिब छन् । यसलाई विकसित, विकासशील, अल्पविकसित, विपन्न आदिका रूपमा वर्गीकरण गरेको पाइन्छ । तर, धनी, गरिब, विकसित, विकासशील आदि जेसुकै भने पनि आजको विश्व पूर्णतया आत्मनिर्भर छैन । धन शक्ति हुनेहरूसँग जनशक्तिको कमी छ । जहाँ जनशक्तिको कमी छ, त्यस्ता देशहरूले बेरोजगार जनशक्ति धेरै भएका राष्ट्रबाट श्रमिक जनशक्ति आयात गर्दछन् । यस हिसाबले पनि राष्ट्रहरूलाई दुई हिसाबले उल्लेख गरिन्छ— श्रम शक्ति निर्यातक ( Sending Country) राष्ट्र र श्रम शक्ति आयातक (Receiving Country) राष्ट्र । हाम्रो देश श्रम शक्ति निर्यात गर्ने ( Sending Country) राष्ट्र हो । 

नेपाली श्रमिकहरू र विद्यार्थीहरू पारपत्र ट(Passport) र श्रम अनुमति (Work permit) आवश्यक पर्ने राष्ट्रमा जानेहरूको तथ्याङ्क भेटिन्छ, तर भारतमा जानेहरूको तथ्याङ्क राख्ने प्रचलन छैन । यस कारण भारतमा कति श्रमिकहरू श्रम बेच्न जान्छन् र कति विद्यार्थीहरू कुन तहको कस्तो शिक्षा लिन कुन प्रान्त र सहरमा जान्छन् वा गएका छन् भन्ने तथ्याङ्क छैन । तथ्याङ्क नै नभएपछि उनीहरू हक—हित तथा अधिकारको अवस्था के छ, सुरक्षित वा असुरक्षित के छन् भन्ने थाहा हुने कुरा भएन । र, भारतमा रहने प्रवासीहरू राज्यबाट पूर्णतया उपेक्षित रहेका छन् । यस्ता विषयमा अब देशका राजनीतिक दलहरूको ध्यान जानु आवश्यक छ । 

प्रवासीहरूको पीडा कुनै नयाँ विषय होइन रहेछ भन्ने कुरा नीति शास्त्रमा लेखिएको यस पङ्क्तिबाट पनि पुष्टि हुन्छ — ‘…..कष्ट कष्टकर चैव परगेहनिवासनम् । कष्ट अरु पनि धेरै छन्, अर्काको घरमा बस्नु कष्टकर हुन्छ ।’ आफ्नै देश, प्रदेश, जिल्ला सदरमुकाम रहेको सहर—बजारमा महिनैपिच्छे घर भाडा तिरेर भाडाको घरमा बस्दा त मानिस सुखी हुन सकेको देखिँदैन; अझ गाँस, वास, कपास, सामान्य शिक्षाका निम्ति अर्काको देशमा गएर बस्नुपर्दा कस्तो हुन्छ होला ? स्वदेश घर आउँदा राम्रो लुगा लगाएर ‘लाहुरे’ भनिने प्रवासी नेपालीहरूसँग सोधौँ । 

के तिथि, के व्रत, के संस्कृति, के चाडपर्व ! तिजमा चेलीबेटीको पर्खाइ, दसैँमा आमा—बा, जीवनसाथी र कलिला लाला बालाको पर्खाइ । ल्होसार, फागु, इद होस् वा तिहार परिवारबाट अलग्ग हुँदाको पीडा कस्तो होला ? ती लाहुरे र तिनका परिवारलाई सोधौँ । देश कहाँ छ ? संस्कृति कहाँ छ ? पारिवारिक माया ममता कहाँ छ र कस्तो हुन्छ ? तिनैलाई सोधौँ । ती लाहुरे, ती हिजो सँगै खेलेका दौँतरी, आज दूर देशमा छन्, ती प्रवासीका बारेमा सोचौँ त ! प्रवासी हुनुको लाभ त हामी सबैले पाएका छौँ, तर पीडा ती प्रवासीको भागमा मात्र छ नि । 

ऐतिहासिक सन्दर्भका कारण हामीले परदेश गएकाहरूलाई लाहुरे पनि भन्ने गरिन्छ, यद्यपि अहिले यस शब्दको प्रयोग घटेको छ । हामी नेपालीहरूको औपचारिक रूपमा प्रवासिने क्रम ‘लाहुर’ जाने क्रमबाट भएको हो । त्यस कारण जुनसुकै काम गर्न, जुनसुकै विदेश गए पनि लाहुरे भन्न थालिएको हो । अहिले, त्यस्ता मानिसहरूलाई प्रवासी र आप्रवासी भन्ने गरिन्छ । 

प्रवासी शब्दको एउटा अर्थ यात्रा गर्नु, बसिरहेको घर, गाउँ, देश छोडेर अन्यत्र जानु हो । पछि यसलाई फरक ढङ्गले व्याख्या गरियो— छोटो समयको लागि कहीँ जानु पर्यटन हो । अलि बढी समय अन्यत्र गएर बस्नु प्रवासी हुनु हो । प्रवासलाई आन्तरिक र बाह्य गरी दुई भागमा राखेर हेर्ने, बुझ्ने गरिन्छ । आन्तरिक प्रवासन भनेको देशभित्रको अर्को कुनै ठाउँमा गएर अस्थायी रूपमा बसोबास गर्नु हो भने बाह्य भनेको मुलुक बाहिर त्यसरी बस्नु हो । आन्तरिक होस् वा बाह्य प्रवासन भनेको अस्थायी बसोबास गर्नु हो । 

प्रवासिनुका धेरै कारणहरू छन् । मूल कारण रोजगारी हो । रोजगारीमा पनि आधारभूत आवश्यकता पूरा गर्ने रोजगारी र विलासिता प्राप्त गर्ने रोजगारी पर्दछन् । अर्को कारण शिक्षा प्राप्ति हो । यसलाई पनि दुई भागमा राखेर हेर्न सकिन्छ— एउटा सामान्य शिक्षा हो भने अर्को उच्च र विशिष्ट शिक्षा । अर्को कारण हो राजनीतिक निर्वासन । हाम्रो नेपालीहरूको सन्दर्भमा महत्त्वपूर्ण पक्ष हो जातीय विभेद तथा छुवाछूत । अन्य कारणहरू पनि हुन सक्दछन् । तर, जेसुकै कारणले भए पनि प्रवासनको नकारात्मक पक्ष प्रतिभा र दक्ष जनशक्ति पलायन हो । 

भारतीय भूमिमा नेपालीहरूको आइजाइ र बसोबासको इतिहास कुनै तिथि मितिमा भन्न सकिँदैन । आधुनिक राष्ट्र निर्माणपछिको इतिहास पनि निकै लामो छ । ब्रिटिस भारत र नेपालको बीचमा भएको युद्धले निर्धारण गरेको नेपाल—भारत सीमाका हिसाबले भारततर्फ पारिएको भूभाग त्यसअघि नेपाल हुनुले पनि यसको इतिहासको समय रेखा लामो हुनु स्वाभाविकै हो । ऋषि महर्षिका तपस्थली, पुराणवर्णित देवीदेवताका धामहरू तथा मान्दै आइएका तीर्थहरू दुवैतिर हुनुले मानिसहरूको आइजाइ एवं बसोबासको लामो इतिहासको पुष्टि हुन्छ । 

तर, नेपालका नागरिक प्रवासीहरू यही रूपमा औपचारिकता पाएको भने सन् १९५० देखि हो । यसअघि ब्रिटिस सेनाका रूपमा गोर्खाली फौजमा नेपालका नागरिकहरू भर्ना भएका थिए । जुन इतिहासले भारत वा अन्यत्र विदेश जाने नेपालीहरूलाई समेत लाहुरे बनाएको थियो ।  अहिले त आइजाइ र बसोबासको तथ्याङ्क राखिने गरिएको छैन भने उहिलेका के कुरा गर्नु ! 

राज्यले तथ्याङ्क नराखेको भए पनि, उनीहरूको हक—अधिकार तथा हित रक्षाबारे सोच्दै नसोचेको भए पनि नेपाल राष्ट्रको हित, अधिकार प्राप्तिका विषयमा भारत प्रवास गएका नेपालीहरू अत्यन्त चिन्तित र क्रियाशील रहने गरेका अनेकौँ उदाहरण छन् । 

यस सन्दर्भमा जनअधिकार तथा सामाजिक विसङ्गतिका विरुद्ध नेपालमै पहिलो सङ्गठन नारी(महिला?) जागृति सङ्घ स्थापना गर्ने विदुषी  योगमाया न्यौपाने प्रवासी हुनुहुन्थ्यो । यो सङ्घ वि.स.१९७४ मा स्थापना गरिएको थियो । यद्यपि, योगमायाको प्रवास गमन विद्रोहसँग नै जोडिएको विषय हो, तथापि, यसलाई सामाजिक स्तरमा विकसित तथा सङ्गठित गरिएको विषयसँग प्रवासको सिकाइको महत्त्वपूर्ण भूमिका रहेको स्पष्ट छ । 

जातीय विभेद तथा छुवाछूत विरुद्धको बौद्धिक र तार्किक अभियान अघि बढाउने र सङ्गठित गर्ने रगरगे भनेर चिनिने भगत सर्वजितको शिक्षा दीक्षा पनि भारत प्रवास, बनारसमा भएको थियो । नेपाली समाजमा विद्यमान उत्पीडनको तहको विभेदकै बीचमा वहाँले बनारसमा धार्मिक विषयसहित संस्कृतको पढाइ गर्नुभएको थियो । यस शिक्षाबाट सर्वजितले वैदिक सनातन हिन्दु ‘धर्म’का अनुयायीद्वारा गरिने विभेद वास्तवमा वेद आधारित नभएर स्वार्थी, पीडकहरूको विभेदकारी व्याख्या र व्यवहार रहेकोमा स्पष्ट हुनुभएको थियो ।

यस्तो ठम्याइपछि उहाँले वैदिक कर्मकाण्ड विधिबाट आफ्नो छोराको व्रतबन्ध गरिदिनुभएको थियो । जातीय विभेद तथा छुवाछूतको अन्त्यका लागि वहाँ शास्त्रार्थ गर्नुहुन्थ्यो भन्ने भनाइ छ । यसलाई व्यक्तिगत स्तरमा मात्र सीमित नराखी वि.स.१९९७ मा विश्व सर्वजन सङ्घ नामको संस्था नै गठन गर्नुभएको थियो । 

इतिहास अध्येताहरूका अनुसार शशीधर स्वामी पाल्पा हुँदै काठमाडौँ आएका थिए । यस अघि वि.स.१८२७ तिर भारतको जगन्नाथ पुरीमा साधनारत गुल्मी रेसुङ्गाका शशीधर स्वामीले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहलाई भेटेर भाषिक, सांस्कृतिक, धार्मिक र मनोवैज्ञानिक एकताको अभियान अघि बढाएको विषय इतिहासमा पढ्न पाइन्छ । उहाँले भारत बसाइका क्रममा वैदेशिक हस्तक्षेप र अतिक्रमणको दुःसह परिणाम भोगिरहेका भारतीय जनताको मनोविज्ञान बुझ्नुभएको थियो ।

आफ्नो अस्तित्वको रक्षाका लागि उपनिवेशका विरुद्धमा राजनीतिक, धार्मिक, सामाजिक, आर्थिक क्षेत्रका मानिसहरू जुर्मुराएको देखेर आफूले पनि देशका लागि केही गर्नुपर्ने प्रेरणा पाएको भनाइ छ । हुन पनि हो, परम्परागत सनातन धर्ममा रहेको बलि प्रथा, जातीय छुवाछूत आदिका विरुद्ध थिए । उनले त्यति बेलाका थुप्रै दरबारियाहरू समेत सबै जाति—समुदायका जनतालाई दीक्षा दिएर आफ्नो मतको विस्तार गरेका थिए । उनको त्यस मतलाई ‘जोसमनि’ भनेर चिनिन्छ । वैदिक हिन्दु सनातन धर्ममा रहेका विभेद हटाउने जोसमनि मतका शशीधर स्वामीको धार्मिक विचारलाई पछिल्ला हिन्दु राजाहरूले महत्त्व नदिएकै कारण धर्मका नाममा जातीय तथा अन्य विभेद रहिरह्यो । 

यति मात्र होइन, नेपालमा पाउरोटीका प्रथम उत्पादक प्रवासी नेपाली नै थिए । यहाँहरूले कुनै समय रेडियो नेपालबाट घन्किने ‘कृष्णा पाउरोटी’को सुरिलो विज्ञापन सुन्नुभएको वा त्यस विषयमा थाहा पाउनुभएको हुनुपर्दछ । नेपालमा पाउरोटी चिनाउने र खान सिकाउने कृष्णबहादुर राजकर्णिकारले वि.स. २००५ मा आफ्नै घरबाट यस कामको सुरुआत गरेका थिए भन्ने जानकारी पढ्न पाइन्छ । कृष्णा पाउरोटी भण्डार काठमाडौँको कमलपोखरीमा अहिले पनि देख्न सकिन्छ । 

यी त भारत प्रवासका प्रवासी नेपालीहरूले नेपालमा गरेका महत्त्वपूर्ण योगदानका केही उदाहरण मात्र हुन् । उनीहरूले आफूले रोजगारी गरेर देशको बेरोजगारी कम गर्ने भूमिका निर्वाह गरेका छन् । कतिपयले आफ्ना सन्तानलाई आफूसँगै लगेर उतै पढाएका छन् र शैक्षिक योगदान गरेका छन् । कमाएको धन पैसा बचत गरी नेपालमा पठाएर विप्रेषण (Remitance) योगदान गरेका छन् । त्यता रहँदा—बस्दा भारतीयहरूका बीचमा नेपाली भाषा—संस्कृतिलाई परिचित बनाएका छन्, नेपाल भन्ने स्वतन्त्र राष्ट्र छ भन्ने जानकारी गराएका छन् । त्यहाँका केही असल परम्परा बुझेर नेपाली संस्कृतिको विकासमा योगदान गरेका छन् । भारतीय र नेपाली जनता बीचको मैत्री सम्बन्धको सुदृढीकरणमा योगदान गरेका छन् । 

सबैलाई ज्ञात नै छ, नेपालका दुई ठुला पार्टी नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको पनि भारतमा नै हो । पार्टी स्थापनाको पृष्ठभूमिमा पनि प्रवासी नेपालीहरूको सहयोग रहेको छ । खास गरी, कम्युनिष्ट पार्टीको स्थापनामा प्रवासी नेपालीहरूको आधारभूत सहयोग रहेको छ । भूमिगत कालमा निर्वासनमा रहेका नेताहरूको भरण पोषण, सुरक्षा दिने काम गरेका छन् । बिरामी नेताहरूको उपचार गराएका छन् । यी सबै काममा उनीहरूले आफ्नो र परिवारको छाक काटेर आर्थिक योगदान गरेका छन् । 

नेपालका पुराना र नयाँ प्रायः सबै राजनीतिक पार्टीहरूले भारतमा आफ्ना पार्टीका शाखा र जनवर्गीय सङ्गठन (समर्थकहरूको सङ्गठन) स्थापना र विस्तार गरेका छन् । यी सबैको समेत सहभागितामा नेपालमा राजतन्त्र सहितको बहुदलीय व्यवस्था हुँदै राजाविहीन सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । भारतमा सङ्गठित भई योगदान गरेका केही नगण्य प्रवासी नेताहरूले नेपालमा अवसरहरू पाएका छन्, तर आफैले लेखिदिएका सिङ्गो प्रवासी आन्दोलनका प्रस्तावना अनुसार नेपाल राष्ट्रको तर्फबाट प्रवासीहरूका लागि नीतिगत सम्बोधन हुन नसक्नु दुर्भाग्यपूर्ण छ । विदेशी भूमिमा सङ्गठन स्थापना र विस्तार गर्दा आस र आश्वासन देखाएर बोलिएका विषयमा अहिलेसम्म राज्यले केही गरेको छ ? प्रवासी नेपालीहरूले पाउनुपर्ने अन्तर्राष्ट्रिय अधिकारको विषय कहाँ पुग्यो ? यो दुई राष्ट्रबीच सन्धि—समझदारीबाट गरिनुपर्ने काम होइन र ? 

प्रवासी नेपालीहरूले आफ्नो धर्म—संस्कृति अवलम्बनका लागि स्थानीय स्तरमा भजन—कीर्तन, आजा—पूजा आदि गर्ने, मन्दिर बनाउने आदि काम त गरेकै थिए, आफ्नो समुदायको खाँचो—गर्जो टार्ने, जन्ती, मलामी हुने र स्वयंसेवक बन्ने काम त गरेकै थिए । तर, तिनलाई भत्काएर र जोडेर राजनीतिक विचारसहितको अखिल भारत स्तरका सङ्गठन बनाइनुको आशय के थियो ? राजनीतिक हैसियतमा उनीहरूको व्यवस्थापन गर्ने र प्रवासीहरूका मुद्दाको राजनीति—कूटनीतिक समाधान गर्नु थिएन र ? 

प्रवासी नेपालीहरूले आफ्नो र परिवारको आर्थिक तथा शैक्षिक हैसियत आफै माथि उठाएका छन् । प्रवासी नेपालीका सन्तान अहिले चौकीदार, पाले, भान्से, सुसारे आदिमा मात्र सीमित छैनन् । यो उनीहरूको आफ्नो पौरख हो । आफ्नो निजी जीवनको व्यवस्थापन गर्ने र माथि उठाउने दायित्व नागरिक स्वयंको हो । तर, सवाल आफ्ना लाखौँ नागरिकहरूको अन्तर्राष्ट्रिय अधिकार सिङ्गोसम्म नभाँच्नुलाई कहिलेसम्म सम्मान गरिरहन पर्ने हो ? चौकीदार, पाले, भान्से, सुसारे अवस्थाबाट सामाजिक, शैक्षिक र आर्थिक रूपले माथि उठेका प्रवासी नेपालीहरूलाई अहिले पनि नेपालका नेताहरूको चौकीदार, पाले, भान्से, सुसारेभन्दा माथि उठ्न दिइएको छैन । लामो र फरक ऐतिहासिक सन्दर्भ बोकेको प्रवासी नेपाली आन्दोलनलाई स्वयंसेवक मात्र बनाइराख्नु न्यायसङ्गत छैन । प्रवासी नेपालीहरू राजनीतिक दृष्टिकोणलाई पन्छाएर फरक ढङ्गले सङ्गठित भए भने सातै प्रदेश, सतहत्तरै जिल्लामा  त्यसको कल्पनातीत असर पर्न सक्दछ । यस्तो हुनका लागि प्रवासी नेपाली सङ्घ—संस्थाहरूले नेपालमा बहुदल, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनुपूर्वको कार्यशैलीमा व्यापक परिवर्तन ल्याउन ल्याउन आवश्यक छ । यस अर्थमा प्रवासी नेपाली आन्दोलनको पुनर्जागरण आवश्यक छ । 

(लेखक प्रवासी नेपाली सङ्घ, भारतका पूर्व महासचिव हुनुहुन्छ ।)    

 

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १२ : ३६ बजे