‘एउटै नाउरको सिकार गर्न २३ लाख’

पदाधिकारी विवादले नेकपा एसमा साउनदेखि नै ‘गाईजात्रा’

काठमाडौँ । सामन्यतया नेपालमा गाईजात्रा भदौमा पर्छ । नेकपा एसभित्र भने साउनदेखि नै गाईजात्रा सुरु भएको छ । त्यो पनि पदाधिकारी विवादले ।

सो पार्टीले हात्तीभन्दा हल्ला ठुलो भन्ने उखान चारितार्थ गर्दै असार १६ गते महाधिवेशनको आयोजना गर्‍यो । त्यो महाधिवेशन नेतृत्व छान्न असफल भयो । महाधिवेशनले ३४३ जना केन्द्रीय सदस्य निर्वाचित गर्नुपर्नेमा ९३ जना केन्द्रीय सदस्य मात्र छान्न सक्यो । बाँकी सदस्यको टुंगो लगाउने जिम्मा भने अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाललाई दिइयो । यसको सिधा अर्थ थियो– तीन नेताबीच भागबण्डाका आधारमा केन्द्रीय सदस्यको टुंगो लगाउने ।

साउनको दोस्रो साता तीन नेताले तयार गरेको केन्द्रीय सदस्यको सूचीले सो पार्टीमा ठुलो भाँडभैलो निम्त्याएको छ । सूचीमा नपर्ने अधिकांश नेताहरूको असन्तुष्टि बढेको छ । सो पार्टीका निवर्तमान उपाध्यक्ष राजेन्द्र पाण्डेले त असन्तुष्टि जनाउँदै विज्ञप्तिसमेत निकाल्नुभयो । उहाँले एसको केन्द्रीय कार्यालय नजिकै आफ्नो अलग्गै कार्यालय खोल्नुभएको छ । एसको केन्द्रीय कार्यलयमा भन्दा पाण्डेको कार्यालयमा अहिले भीड देखिने गरेको छ ।

महाधिवेशन भएको तीन महिना पुरा हुन लाग्दा पनि सो पार्टीको केन्द्रीय पदाधिकारीको टुंगो लाग्न सकेको छैन । महाधिवेशनबाट महासचिवमा घनश्याम भुसाल चयन भए पनि अन्य पदाधिकारीको अहिलेसम्म चयन हुन सकेको छैन । पदाधिकारीका आकांक्षी धेरै हुँदा यसको टुंगो लगाउन पार्टी अध्यक्ष माधव नेपाललाई पसिना छुटेको एक नेताले चक्रपथलाई बताए ।

अहिले सो पार्टीमा पदाधिकारीको पनि चुनाव हुनुपर्ने बहुमत केन्द्रीय सदस्यहरूको अडान रहेको स्रोतले बतायो । अब पदाधिकारी चयन हुँदा तीन नेताको भागबन्डाका आधारमा नभई खुला प्रतिस्पर्धा हुनुपर्ने माग केन्द्रीय सदस्यहरूको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव लगायत पदाधिकारीको चयन गर्न बाँकी रहेको छ । ती पदाधिकारीमा केन्द्रीय समितिका ३४३ जनाको मतदानबाट हुनुपर्ने अडान पार्टीभित्र बलियो भएपछि अध्यक्ष नेपालको पसिना छुटेको बताइएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  १२ : ३७ बजे