‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बाझाङ र जाजरकोटमा पहिरोमा परी सातको मृत्यु, महाकाली सडक अवरुद्ध

काँक्रेविहार (सुर्खेत)। जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड-२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार, उनीहरूका दुई वर्षीय छोरा शिभम परियार छन् ।

उनीहरू भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बसेका नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको नगरप्रमुख रावतले बताउनुभयो । घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिकै छ ।

बझाङको टुमेडा पहिरो : चारजनाको मृत्यु, छजनाको जीवितै उद्धार

अविरल वर्षासँगै बझाङको बुंगल नगरपालिका–१० स्थित टुमेडा गाउँमा पहिरो जाँदा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुंगल–१० का टुमेडाका काली धामी, गोल्की धामी, आकृति धामी, लक्ष्मी धामी रहेका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिनुभयो ।

गए राति गएको पहिरोमा घर पुरिँदा चारजनाको मृत्यु भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चारजनाको मृत्यु भएको र छजनाको उद्धार गरिएको खबर छ, हामी राहत सामग्री लिएर प्रभावित क्षेत्रमा जाँदै छौँं ।” पहिरोमा परी पुरिएका शव स्थानीय र प्रहरीको टोलीको सक्रियतामा बिहान निकालिएको हो ।

पहिरोमा पुरिएका अन्य छजनाको जीवितै उद्धार गरिएको छ । वीरबहादुर धामी, उज्जल धामी, रोशन धामी, कमला धामी, अम्बादत्त जोशी र शान्ति धामीको जीवितै उद्धार गरिएको छ ।

महाकाली लोकमार्ग पनि अवरुद्ध

दार्चुलामा गए राति परेको वर्षाका कारण पहिरोले महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलंगा सडक अवरुद्ध बनेको छ । लोकमार्गको कठपते नक्तड, पनेबाज, ऐरिछाना र मालिकार्जुन गाउँपालिकाको धामीगाडामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधन सडकमै रोकिएका छन् । दार्चुलाबाट महेन्द्रनगर, काठमाडौँ आउने दिवा तथा रात्रिसेवाका बस सडक अवरुद्ध भएपछि बाटोमै रोकिएका हुन् ।

पटक–पटक पहिरोका कारण अवरुद्ध हुने लोकमार्गमा छोटो दूरीका सवारी साधन पनि सञ्चालन हुन नसक्दा यात्रुले सास्ती भोग्नुपरेको छ । आज बिहानदेखि डिभिजन सडक बैतडी पाटनको जेसिबीले पहिरो पन्छाइरहे पनि ठाउँठाउँमा पहिरो खसिरहेकाले एउटा मात्र जेसिबीले पन्छाउन केही समय लाग्ने सडक विभागका सुपरभाइजर राजेन्द्रसिंह धामीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ११ : ५२ बजे