‘नेशनल डे कन्सर्ट’ सम्पन्न

ओली–माधवको एक्कासि फैन्टासी फोन संवाद  !!!

माधवले एक्कासि रिसिभर उठाउनुभएछ ! र बालुवाटारमा फोन डायल गर्नुभएछ । माधवको फोन देखे पछि ओली एकछिन घोरिनुभएछ ! मोबाइल वा ल्यापटपमा जुम गरेको शैलीमा दाहिने हातको चोर औँला र बुढी औँलालाई नाकबाट कानतिर हल्का चिप्लेटी खेलाउँदै जुँगा मुसार्नु भएछ । अनि फोन उठाएर ‘हेलो’ भन्नु भएछ । त्यसपछि दुईजनाको संवाद यसरी अगाडि बढेछ ! 

माधवः हेलो, कामरेड ! तपाईसँग एकल राजीनामा माग्दा माग्दै बेसुरमा झन्डै आफै पो राजीनामा दिइएनछ नि, व्रतमान परिप्रेच्छ्यमा !

ओलीः हैन त्यो त्त ‘काँ व्रतमान परिप्रेच्छमा हुनु नि बितेको कुरो त भूत परिप्रेच्छमा’ भन्नु पर्ने होला नि कि कसो ! खैर,केही छैन ! जुन परिप्रेच्छ्यमा भए पनि । तपाई त वचनको पक्का मान्छे ! अब तपाईले मलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हटाउन खानु भएको सुपारीको कार्यभार पनि सक्किगो , पहिले अध्यक्षबाट हटाउनु भो, अहिले प्रधानमन्त्रीबाट !!!! अब केबाट हटाउन फोन गर्नु भा नि ! 

माधवः  हैन के, ! अब त सैँ पनि एमाले मै पनि एमाले,भन्न पो फोन गर्या । हेर्नु नि,  हिजो राती सपनामा मदन भण्डारी, जीवराज आश्रित, मनमोहन अधिकारी, रत्नकुमार वान्तवा, लगायतका नेताहरू आउनु भो र खबरदारी गर्नु भो ! यदु गौतम र द्वन्द्व कालमा अकालमा हत्या गरिएका निहत्थाहरूको जुलुस आयो र त्यसले पनि हामीलाई मार्नेका पछि लाग्ने रु भनेर सातो खाएर गयो । मैले ‘केपी ओलीले मलाई जोगी बनाउछन् के गर्नु त’ भनेपछि उहाँहरूले हकार्नु भो र भन्नु भो, “ केपी ओलीले होइन, तपाईले आफूले आफैलाई जोगी बनाउन थाल्नु पो भो त ! त्यै भएर तपाईलाई जोगाउन पो आको त ! खुरुक्क पार्टीमा फर्कनुस् ।

ओलीः अनि के भन्नु भो त उहाँहरूले ?

माधवः खुरुक्क जाने “अब हामी केपी ओलीलाई सर्वसम्मत नेता मान्छौँ   भन्ने” केपी ओलीकै नेतृत्वमा बहुमतको सरकार बनाउने अभियानको नेतृत्व गर्ने अनि हिजोको रत्नाकरबाट अब बाल्मीकि बन्ने ! उताबाट पनि जवाफी हमलामा भए गरेका केही गल्ती रहेछन् भने महसुस भै हाल्छ ! प्राकृतिक महामारीका बेला तपाईको नेतृत्वमा चलेको राजनीतिक महामारीको यो नौटङ्की गाईजात्रा तुरुन्त बन्द गर्ने ! राजनीतिमा लाउँलाऊँ र खाऊँखाऊँको उमेरका केही थान युवाहरूको राजनीतिलाई वायुमा उड्न नदिने, उनीहरूका राजनीतिक अवसानको चिहान नखन्ने, कुरा राम्ररी बुझ्ने ?

ओलीः (मुसुमुसु हाँस्दै ) अँ, अनि  ? के सोच्नु भो ! जेठ दुई कि फागुन अट्ठाईस नि ?

माधवः त्यै त भन्दै छु ! ‘मैले २०७५ जेठ दुईमा फर्कने र २०७७ फागु २८ को निर्णय बदर् गर्ने’ सन्दर्भ मात्र के झिक्न खोज्या थिएँ  फेरि उहाँले त विचित्रसँग झपार्नु पो भो त भन्या ! सर्वोच्च अदालतले जेठ २३ गते फैसलाले आआफ्नो पार्टीमा जाऊ भनेपछि  पनि फागुन २३देखि २८ सम्मका एक हप्ताका  अर्याल होटल, पेरिस डाँडा, हात्तीबनतिर हान्निएका हाम्रा गतिविधिका सारा दृश्य भिज्युअल रूपमा देखाएरै भन्नु भो !“ल हेर ! तिम्रो एक हप्ता भित्रका यै वितण्डाको परिणाम होः ( फागुन २८ ! सर्वोच्चको फैसला पछि फागुन २४ गते खुरुक्क धुम्बाराही गएर कुरा गर्या भए फागुन २८ जन्मन्थ्यो त !” यति सुने पछि त म झसङ्गै भएँ भन्या !!!!

ओलीः ए जम्मै पो रेकर्ड रहेछ त्यहाँ ? (मनमनै) आफूले पनि केकेबोलियाछ कुन्नि ? ( बोलेर) अँ, त्यति भने पछि त बुझ्नु भो नि हैन र ?

माधवः (सुस्केरा हाल्दै ) अँ त्यति मात्रै कहाँ हो र ? एकछिन फेरि एसो के हल्का के निदाएको थिएँ, सुनको जलाहरीले झलझलाकार पशुपतिनाथ बाबा र नजिकै रहेका किरातेश्वर आए र पशुपतिनाथले भने ‘ए माधव !’ हुनत तिमी होलिवाइनका खास पारखी नै हौ क्यार , हाम्ले भनेको के मान्लाउ र खै ! तर पनि तिमी एक धार्मिक पिताका पुत्र भएकाले हामी सम्झाउँदै छौँ, ध्यान दिएर सुन ! शास्त्रमा के लेखेको छ भने जतिसुकै अपराध गरेपनि त्यसको प्रायश्चित्त गरेपछि सम्पूर्ण पुराना कुरा ढुस भैहाल्छन्  ! पवित्र नदीमा स्नान गर्यो भने सबै कुकर्म नाश हुन्छन् । जाउ आफ्नै दलको सङ्लो नदीमा एक डुबुल्की लगाऊ । रगतै रगत बगेको बीभत्स दलदले र लदबदे नदीमा नुहाउँदा नुहाउँदा ओलेर्जी (ओली एलर्जी) ले जथाभावी चिलाउने गरेको तिम्रो जिउलाई राम्ररी पखाल । खै, कोले हो कुन्नि अस्ति तिमीसँग डीपलभ पर्याथ्यो भन्दै थे रे ! उनैसँग अझैभित्रभित्रै पिरती गाँस्यागाँस्यै छौ कि क्या हो, त्यतातिर ‍भसिने काम चैँ पटक्कै नगर है । अब यो तिम्रा लागि अन्तिम मौका हो । तमाम जनताको मुटु कुटुकुटु खाने गरी आफ्नो घरको छानाका दुचारओटा भाटा भत्काएर अर्काकोमा सुकुम्बासी बन्न जाने रु अँ, हिजो बोल्ने बेला तिमीले घाँटीमा अलिकति पानी खाने ठाऊँ खाली राख्या भए आज यो आपत पर्ने थियो त ।

ओलीः तपाईँलाई आउनुस् भनेकै छु त ! तपाई तर्सनु पर्दैन ! आउनुस् स्वागत छ । तर कोभिड महामारी छ, भिडभाड नगरी एक्लाएक्लै आउनु नि ! प्रिपेड जिम्मेवारी होइन पोस्टपेड जिम्मेवारी पाएरै छाड्नु हुन्छ ! तपाई खुला दिलले पार्टीमा आउनुभो भने हिरो, नत्र जिरो ! जनताका नजरमा चाहिँ ‘सतिसाल जस्तो आफनै दल ढाल्छु’ भन्ने धमिरो !

माधवः ( अप्ठ्यारो मान्दै ) ल, भो छाड्दिनुस् ती पुराना कुरा, म पनि अब आयन्दा त्यसो गर्दिन । ल, त्यसो भए आएँ आएँ, होलसेलमा होइन तपाईले भनेझैँ किस्ताबन्दीमै आएँ ।

(त्यत्तिकैमा एक्कासि भी। र। अर्थात् भीरतिरबाट आएको भू.रा. अर्थात् भूराहरू समेतको अट्ठाइस जनाको जत्थाको हल्लाले झल्याँस्स हुनुहुन्छ र आँखा मिच्दै माधव जुरुक्क उठ्नुहुन्छ । वर्तमान परिप्रेच्छमा सपना पनि कस्तो देखिन्छ भन्या ! कस्तो अलोकतान्त्रिक र विधि र पद्धतिको सपना हो यो ? यो सपनामा पनि सेटिड् र षड्यन्त्र हुनै पर्छ  (मनमनै गम्दै) जे भए पनि कुरो त सही हो ! सपनाले दिमागै पो खल्बल्यायो त हौ  ! ( जुरुक्क उठेर बैठक कक्षतिर लाग्नुहुन्छ )

(र यो पनि लेखकले एसो झकाएका बेलादेखेको सपना नै हो है कहिलेकाही त मेरो सपना पनि ठ्याक्कै मिल्छ र पो लेख्या नि  )

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ८ : ०० बजे