‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नेपाल र बंगलादेशले गोलरहित बराबरी खेल्दै अंक बाढे

काठमाडौं – खेल भर दबाब खेपेको नेपालले यु–१९ महिला साफ फुटबलमा बंगलोदशसँग गोलरहित बराबरी खेल्दै अंक बाढेको छ ।

शनिबार बीएसएसएस मुस्ताफा कमल मैदानमा भएको आफ्नो पहिलो खेलमा नेपालले बराबरी खेल्दै अंक खोसेको हो ।

गोलरक्षक अञ्जना राना मगरको कप्तानीमा रहेको नेपाल पुरा समय आफ्नो बक्स वरिपरि नै रह्यो । सुधारिएको खेल प्रदर्शन गरेको बंगलादेशले नेपाललाई खेलमा पूर्ण रूपमा दबाबमा राखे पनि गोल भने गर्न सकेन ।

यस अघि सन् २०१८ मा भुटानमा भएको यु–१८ साफमा नेपाल फाइनल खेलमा बंगलादेशसँग १–० अन्तरले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।

गत सिजन कोरोना महामारीबीच प्रतियोगिता हुन नसकेपछि दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सोही उमेर समूहलाई उपयुक्त हुने गरी यसपटक यु–१९ साफ प्रतियोगिता आयोजना गरेको हो ।

आज नै भएको प्रतियोगिताको उद्घाटन खेलमा भुटानले श्रीलंकालाई ५–० अन्तरले पराजित गर्‍यो ।

सिंगल राउण्ड रोबिनको पद्धतिमा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भुटान, भारत र श्रीलंका गरी ५ टोलीको सहभागिता छ ।

प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् ।

अब, नेपालले आफ्नो दोस्रो खेलमा मंगलबार श्रीलंकाको सामना गर्नेछ ।

बंगलादेशविरुद्ध नेपालको सुरुआती एघार

अञ्जना राना मगर, विमला वि क, सलोनी राना मगर, रोजिना श्रेष्ठ, मन्जु कुमारी खड्का, प्रीति राई, रजनी थोकर, रश्मी कुमारी घिसिङ, दीपा शाही, सविता राना मगर, मेनुका आले मगर

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ९ : ४२ बजे