‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सबै छ तर केही छैन

Sample picture

काठमाडौँ । समय उहीँ छ । धरातल उहीँ छ । स्थान उहीँ छ । मान्छेको बनावट पनि सायद उही छ तर स्थानभित्रका दृश्य फेरिएका छन् । दृश्यमा रोमाञ्चकता छ साथै भित्र कतै च्वास्स बिझाउने घोचाइ पनि छ ।

मान्छेका मनका ढाँचा थाहै नपाई फेरिएका छन् । मान्छेले भोग्ने भोग्यवस्तु फेरिएका छन् । हेर्दाहेर्दै धेरै फेरियो । हिजोको आज छैन । आजको भोलि कायापलट भइरहेको छ । हेर्नुहोस् त– गाउँ फेरियो, बाटो फेरियो । सम्बन्ध फेरिए । शील फेरिए, शैली फेरिए । प्रविधि वरदान बनेर आयो । प्रविधि भस्मासुर बनेर पनि आयो । यसले रीति खायो, स्थिति निल्यो । परम्परालाई विस्थापित गरेर नयाँ परम्पराको टाँचा लगायो ।

कुनै समय थियो– साँझपख वल्लो घर पल्लो घरका मान्छे खेर्रिन्थे र दिनभरिका अनुभव विनिमय गर्थे । केटाकेटीका लागि त्यो भोगाइको प्रस्तुति दन्त्यकथा बन्थ्यो । अब त्यो कथाको मूल सुक्यो । कोठाभित्रै मान्छे गुम्सिने भयो । मान्छेको सामाजिक जीवन र परस्परको सम्मेलन खण्डित भयो । सजीवताको सङ्गत टुटेर निर्जीव यन्त्रको सहारामा मान्छे बाँच्ने भयो ।

मादल बजाएर मायाप्रीति लगाउन जाने अब ठिटा भेटिँदैनन् । सिनेमा र फेसबुकले माया लगाइदिने भयो । साउनको महिनामा केटीहरू बयलडाडी खेल्थे । रजस्वलापूर्व बिहे गरिने प्रथामा त्यसले भावी वैवाहिक जीवनलाई सहज रूपमा ग्रहण गर्न भूमिका खेल्थ्यो । समयले विवाहको भूत हटाइदियो ।

आज बिहेपूर्व बिहेका रिहर्सल देखिन थाले । तीजका बेलामा पीपलको बुटामा पिङ खेलेको दृश्य बिरलै देख्न पाइने भयो । चौमासामा गाईको पूजा गर्थे– उहिलेका दिदीबहिनीहरूले, तिनका शृङ्खला टुटेर गए । अहिले गौपूजा हैन, पेटपूजाको रापताप बढ्यो ।

शिवालय वा गाउँका ठुलाठालुका घरमा अखण्ड भजनकीर्तनको गुञ्जन र नाचले वातावरण चकमन्न हुन्थ्यो, त्यो पनि सकियो । बसले गर्दा अब कसैका घरमा कोही पाहुना लाग्न जाँदैन । ‘अतिथि देवो भव’ हैन ‘ग्राहक देवो भव’ ले बजार पिट्न थाल्यो । आँकसित बिहे गर्ने कुरा छाडौँ, मीत र सँगिना लाउने रीति पनि सेलायो । यता अस्पताल खुले, उता धामीझाँक्री गुरुवापाती पनि आफैँ हराएर गए । कसैका माल चोरी हुँदा अक्षता हेर्ने र धनु लगाउने विद्या पनि मासिएर गयो ।

दुना–टपरा खुट्ने, बत्ती कात्ने महिला को होलान् र ! भर्खरै बिहे गरेका दुलैनीले आफ्नो प्यारको निसानी स्वरूप हातैले श्रीमान्का लागि स्विटर बुनिदिन्थे तर बजारले त्यो सीप खोसिदियो । पँधेरामा घर र परका कुरा काटेर मन हलुको पार्ने माध्यम पनि सिद्धियो । गाउँका महिला वनमा पात टिप्न जान छाडे ।

अड्कोपड्कोमा एैँचोपैँचो चल्थ्यो, त्यसको नामोनिसान रहेन । अब कसैले लाइटर बोक्दैन । बिहे गरेर ल्याएकी दुलहीलाई भुयाँर घुमाउने रीति पनि सकियो । पहिलो फल (काँक्रो, बेलौती) देउताका थानमा चढाइन्थ्यो, अब बजारका महाजनकहाँ पुग्ने भयो ।
ग्रहण लाग्दा आलो गोबरले घर अब कसले घेर्छ होला र ! केटाकेटी परालका कुन्युमा लुकामारी खेल्थे, स्कुलका कोठाचोटामा आइसपाइस खेल्थे, मोबाइलले त्यो सबै शारीरिक र सामूहिक व्यायाम खोसिदियो ।

माइत जाने मैतालुले रातो रूमालले छोपेका कोसेली बोक्थे, तिनको स्थान मिठाई र स्याउले लिए । कुन्द्री–वनकरेली–घुरियाको साग नखाने अभागीहरूको संख्या पनि बढेर आयो ।

बाँध बाँधेको गहिरो दह आजका केटाकेटीले देख्नै नपाउने भए । सजीव पानीको स्पर्श नहुने भयो । भ¥याङमा बाँधिएको दहीको ठेकी मथ्दा सुनिने घ्वार्रघ्वार्रको आवाज शून्य भइसकेको छ ।

आजभोलि च्याउ वनमा पाइन्न, बजारमा पाइने भयो । कुखुरा–परेवा–बट्टाई किसानका घरमा भन्दा सहरमा ज्यादा प्राप्य छन् । “ए हजुर ! पानी खान पाइन्छ कि !’ भनेर अपरिचित घरमा पस्दा मही खान पाइन्थ्यो, अब त चोरीको फत्तुर लाग्ने पो भयो ।
एउटाका घरमा श्राद्ध हुँदा गाउँभरिका मान्छेको भिड जुट्दथ्यो, अब पण्डित नभेटिने भए । बच्चाबच्चीका कम्मरमा कन्धनी देखिँदैन, त्यसमा प्वाल परेका पैसा राखिन्थ्यो ! कसैले त्यसमा अनुसन्धान गरेन । घाँटीमा मन्तर गरेका जन्तर पनि हुन्थे, त्यहाँ पनि जर्ता गएको छ ।

जनै सङ्लिने तिउरिने र बाट्ने चलन अकस्मात् हरायो । सप्तमीको डोरी लाउने र काँचा चना निल्ने महिला पनि सिद्धिए । ओहो ! छेकौती र बिलौनीका स्वादसमेत बिर्सियो अब । चिरुवा नसबन्दी गरेका बाख्राका पाठाको राजखानी नखाएको युग भएछ ।
आँखामा ग्रह पर्दा फुक्नेले फुकिदिएपछि चट् निको हुने कुरा कसले पत्याउँछ अब ! गानो गएको बेला लोट्टे कसले बसाउँछ अब ? तिनमा केही दम थियो होला । लागोभागो नहोस् भनेर कपालका गुजुल्टा, मासको दाल, काँचो सिन्दूर र फलामको टुक्रा चौबाटोमा फालेको दृश्य आजका विसी बच्चाले देख्न नपाउने भए । चनाका बारा (काँचो चनालाई भुटेको) को स्वाद जिब्रोले बिर्सियो ।

भान्साको मर्यादाहरण भयो । जनै हालेका र नहालेकाले एउटै थलोमा उदरपूर्ति गर्ने भए । भात खाँदा जल अच्याएर ‘वासुदेव गदाचक्रम्।‘ भन्ने खाद्य नारालाई राजनीतिक लफ्फाजीले ध्वस्त पारिदियो ।

गोलीगाँठा देखाउँदा महिलाको लज्जाको आवरण च्यातिन्थ्यो, अहिले नाइटोमा नत्थी ढल्काएको दृश्यले लाजलाई किनारा लगाइदिएको छ । हुक्का–तमाखु सग्र्रहालयमा बन्दी भए । पाञ्चायन देवताको पूजा र त्यसको तिलक लगाउने निधार भेटिँदैन । नित्य स्नान र गायत्री जपनको ठाउँ बजारिया झिल्के गीतले लियो । अब पहिलो भेटमा चौपायाको सोधनी हुन्न, बरु वाईफाईको पासवर्डको नम्बर प्राथमिकतामा प¥यो ।

कसैका मुखमा भजन र आरती हुँदैन, मोबाइल र कम्प्युटरले मान्छेबाट ध्वनि खोसिदियो । एकोहोरो सिसाको भित्तामा दृष्टि स्थिर भएको छ, औँलाहरू सलबलाएको देखिन्छ । मान्छे छ कि छैन को दोसाँधमा बाँचेको छ । जीवन एक्लो छ, सम्बन्ध फगत् निजी उद्देश्य पूरा गर्नमा टिकेको छ । यन्त्रले संवेदना चोरिदिएको छ । मान्छे स्वयं यन्त्रमा रूपान्तरित भइसकेको छ ।
सबै छ तर मान्छेको आफ्नो कोही छैन ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ७ : १२ बजे