स्वीकृति लिएर मात्र रथयात्रामा सर्वत–पानी वितरण गर्न आग्रह

विराटनगर । विराटनगरमा निकालिने श्रीराधाकृष्णको रथयात्राका क्रममा हुने फोहोर व्यवस्थापनमा विराटनगर महानगरपालिकाले तयारी थालेको छ । महानगरले एक सूचना जारी गर्दै जथाभावी फोहोर नगर्न अपिलसमेत गरेको छ ।
महानगरले जथाभावी फोहोर हुन नदिनसम्बन्धित संघसंस्था र व्यक्तिलाई पूर्वस्वीकृत लिएर मात्रै पानी, सर्वत, प्रसादलगायत सामग्री वितरण गर्न आग्रह गरेको छ । रथयात्राका क्रममा वितरित सामग्रीका बोतल र प्लास्टिक सडकमा फाल्दा बजार फोहोर देखिने गरेको थियो ।
गत वर्षदेखि महानगरले रथयात्राका क्रममा निस्कने फोहोर व्यवस्थापन योजनाबद्ध रूपमा गर्न सुरु गरेको हो । यस वर्ष आगामी भदौ ११ गते राधाकृष्ण रथयात्रा निकालिँदै छ । महानगरपालिकाको सरसफाइ व्यवस्थापन शाखाका प्रमुख पुनम दाहालले सबै सरोकारवालाहरूलाई फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्नुभयो ।
रथयात्राका क्रममा पानी, सर्वत तथा प्रसाद वितरण गर्न चाहने व्यक्ति तथा संघ संस्थाहरूले अनिवार्य रूपमा महानगरबाट पूर्वस्वीकृति लिनुपर्नेछ । महानगरले सेवा प्रदायकहरूलाई डस्टबिन वा बोरामा फोहोर संकलन गरी सरसफाइको साधनमा राख्न निर्देशन दिएको दाहालले बताउनुभयो ।
महानगरपालिकाले स्वीकृति नलिई फोहोर उत्पादन गर्ने कुनै पनि व्यक्ति वा संस्थालाई कारबाही गरिने चेतावनी समेत दिएको छ । पछिल्लो वर्ष सेवा प्रदायकहरूले फोहोर नउठाउँदा महानगरको टोलीले सरसफाइ गरेको थियो ।
यसपटकको रथयात्रामा महानगरपालिकाले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । सबै पक्षको सहयोगले मात्र विराटनगरलाई सफा र सुन्दर राख्न सकिने मेयर नागेश कोइरालाले बताउनुभयो ।
‘रथयात्रामा पानी, सर्वत, प्रसादलगायत वितरण गर्नेहरूले फोहोरलाई व्यवस्थित गर्नु जरुरी छ,’ उहाँले भन्नुभयो, ‘गत वर्षझैँ यस वर्ष पनि रथको पछिपछि महानगरको टोलीले फोहोर संकलन गरेर तत्कालै व्यवस्थापन गर्नेछ ।’
महानगरले सूचना जारी गरेपछि पूर्वस्वीकृति लिन विभिन्न संघसंस्था र व्यक्तिहरू आउन थालेको सरसफाइ व्यवस्थापन शाखाका सुपरभाइजर किरण न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ५ : २२ बजे