‘एउटै नाउरको सिकार गर्न २३ लाख’

हिमताल फुट्दा थामे गाउँका  घरहरू बगायो (अपडेट) 

सोलुखुम्बु ।  खुम्बुमा हिमताल फुट्दा थामे गाउँका घरहरू बगाएको छ ।  दुधकोशी तटीय क्षेत्रमा जोखिम हिमताल फुट्दा सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नम्बर ५ थामेमा केही घरहरू बगाएको हो  । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको शिरमा रहेका केही हिमतालहरू फुट्दा थामे बस्तीका केही घर र होटलहरु बगाएको हो ।

थामे खोलाको शिरमा रहेका हिमतालहरू फुटेर बाढी आएको खुम्बु पासाङल्हमु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरि शेर्पाले जानकारी दिनुभयो  । उक्त क्षेत्रमा सञ्चार सम्पर्क पनि स्थापित हुन नसकेकाले कति वटा ताल फुटे भन्ने यकिन विवरण आउन कठिन भइरहेको प्रवक्ता शेर्पाको भनाइ छ ।

सिङ्गो थामेमा बाढी पसेको र एउटा होस्टेल र २ वटा होटलहरु पूर्ण रूपमा बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी द्वारिका प्रसाद घिमिरेले बताउनु भयो ।  थामेको बाढी दुधकोशीमा मिसिएसँगै दुधकोशी तटीय क्षेत्रमा जोखिम रहेको प्रमुख जिल्ला अधिकारी देवी खत्री पाण्डेले बताउनु भयो ।  तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन प्रशासनले अपिल समेत गरेको छ ।

दुधकोशी नदी बहने सोलुखुम्बु र खोटाङ क्षेत्रका नागरिकहरूमा त्रास बढेको हो । बाढीले के कति मानवीय क्षति पुर्‍यायो भन्ने यकिन भने हुन सकेको छैन ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ४ : ४२ बजे