‘वैशाली की नगरवधू’ आम्रपाली र चतुरसेनको दृष्टि

सन् १९८० तिरका वर्षहरूमा  पूर्वोत्तर भारतको असम राज्यमा नेपाली समुदायले ‘विदेशी भगाऊ’ आन्दोलनको त्रास र चरम सरकारी दमनको एकसाथ सामना गरिरहेको थियो । यो लेखमा त्यो दुर्दान्त अवस्थाको कारण खोतल्ने मेरो आशय छैन । त्यसताका म माध्यमिक तहको विद्यार्थी थिएँ र मुख्य गुवाहाटी सहरको नारङ्गीमा अवस्थित रघुनाथ चौधरी हाई स्कुलमा पढ्न जाने गर्दर्थेँ । हामी बस्ने ठाउँ सहरको मध्यतिर पर्ने भाँगागढबाट स्कुल जान म गुवाहाटी रेल्वे स्टेशनबाट रेलमा चढ्ने गर्थँे । रेल्वे स्टेशन पुगेर अरू दस, पन्ध्र जना विद्यार्थी साथीहरू जम्मा भई सटल भनिने रेल्वेका कर्मचारी र कामदार लिएर जाने छोटो दुरीको छोटो रेलमा चढ्थ्यौँ । यसरी रेल्वे स्टेशन आउँदा—जाँदा दिनहुँ त्यहाँ रहेको किताब बेच्ने स्टलमा परैबाट देखिने गरी दराजमा सजाएर राखिएको एउटा पुस्तकमा मेरो दृष्टि पुग्ने गर्दथ्यो । त्यो पुस्तक थियो, आचार्य चतुरसेनले लेखेको– वैशाली की नगरवधू । झण्डै डेढ वर्ष चलेको रेल स्टेशनको यो नियमित ओहोर—दोहोरमा मैले धेरै पटक यो पुस्तक किनेर पढ्ने जमर्को गरेँ तर विभिन्न समयका मेरै आफ्ना विभिन्न बाध्यताहरूका कारणले किन्न र पढ्न सकिनँ । अहिले सम्झने प्रयास गर्दा यो पुस्तक प्रतिको मेरो आकर्षण मैले त्यसबेला नियमित जसो पढ्ने हिन्दीका धर्मयुग, सरिता, मुक्ता जस्ता प्रचलित पत्रिकाहरूमा कतै चतुरसेन र उनको यो कृतिबारे लेखिएका टिप्पणीहरूले उत्पन्न भएको थियो जस्तो लाग्दछ ।

समयका छालहरूसँग त्यो किताब पढ्ने रहर अरू धेरै अतृप्त रहरहरूको डङ्गुरमा कतै छोपियो । गुवाहाटी सहर छोडेर स्वदेश फर्केको झण्डै तीन दशक बितिसक्दा एक दिन पोखराको पालिखे चोक स्थित रिडर्स कर्नरमा नेपालीमा अनुदित आचार्य चतुरसेनको यो कृति भेट्टाएँ । यो मेरा लागि कम खुसीको कुरा थिएन । रोशन दाहालले नेपाली अनुवाद गर्दा कृतिको मौलिकतामाथि कति न्याय गरेका छन् भन्ने कुरा मुल कृति नपढी भन्न सम्भव छैन र यहाँ त्यो केलाउने आशय पनि मेरो होइन । यो विवेचनामा मैले झण्डै ६०० पृष्ठको यो पुस्तकको समीक्षा वा समालोचना गर्न पनि खोजेको छैन बरु यो अनुदित कृतिमा समष्टिमा मुल कृतिको मर्म समेटिएको छ भन्ने विश्वास लिँदै पाठकका हिसाबले कृतिमा लेखकले इङ्गित गरेको धेरै परिघटनाहरूमध्ये आम्रपाली भन्ने नारी पात्रलाई लिएर वैशालीमा स्त्रीप्रतिको विकृत परम्पराबारे त्यो काललाई नियाल्ने जमर्को मात्र गरेको छु ।

आचार्य चतुरसेनको जन्म सन् १८९१ मा हालको उत्तर प्रदेश अन्तरगत बुलन्दशहरमा भएको थियो र सन् १९६०मा उनको देहावसान भएको थियो । उनी अङ्ग्रेजी उपनिवेशको उत्तराद्र्धतिरका सिद्धहस्त हिन्दी साहित्यकार हुन् । उनका १८६ कृतिहरू प्रकाशित छन् । ऐतिहासिक उपन्यास लेखनमा उनले हिन्दी साहित्यमा गहकिलो योगदान पुर्‍याएका छन् । यही विधाले उनलाई चर्चित बनाएको हो । बुद्धकालीन पृष्ठभूमिमा लेखिएको ‘वैशाली की नगरवधू’ उनको चर्चित उपन्यास हो । यो उपन्यास सन् १९४८ मा पहिलो पटक प्रकाशित भएको थियो । त्यसबेला उनले घोषणा गरेका थिए– ‘मैँ ‘वैशाली की नगरवधू’ को छोडकर मेरी अन्य सभी कृतियोंको रद्द करता हूँ (म ‘वैशाली की नगर वधू’ बाहेक मेरा अन्य सबै कृतिहरूलाई रद्द गर्दछु)’ । 

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि आफ्नो मृत्युअघि सन् १९५९ मा आफ्नो चर्चित खण्डकाव्य मुना मदन बाहेक आफ्ना अरू कृतिहरू जलाइदिए हुने भन्ने यस्तै अभिव्यक्ति दिएका थिए । समकालका दुई भाषाका यी दुई साहित्यका हस्तीहरू आफ्ना अन्य धेरै कृतिहरूलाई महत्त्व नदिई कन एउटा कृतिलाई मात्र महत्त्व दिए भन्ने कुरा पनि सोचनीय हुनसक्छ ।

चतुरसेनले आफ्नो यो कृति ‘वैशाली की नगरवधू’मा पर्दाभित्र कसैले नजर नपुर्‍याएको आर्यहरूको धर्म, साहित्य र संस्कृतिको पराजयको उद्घाटनको दाबी गरेका छन् । वैभवशाली गणराज्य वैशालीको भोग विलासितामा डुबेर अस्तित्व रक्षाप्रतिको सचेतनता गुमाइसकेको कुलीनवर्गले यो सुन्दर गणतन्त्रको अस्तित्व बचाउन सक्ने सम्भावना थिएन र भयो पनि त्यस्तै । मगध, कोशल जस्ता शक्तिशाली राजतन्त्रबाट घेरिएको बज्जी सङ्घका निम्ति यो लापरबाही महँगो साबित भयो ।

यो उपन्यासको केन्द्रमा आम्रपाली छन् । आँपको वृक्षमुनि कसैले जन्माएर फलेकी नवजात कन्यालाई कुनै समयमा बज्जी सङ्घको राजदरबारको सेवामा रहिसकेका महानामन् नाम गरेका एक प्रौढ पुरुषले लगेर छोरीका रूपमा पालनपोषण गर्छन् । तिनै कन्या हुन् आम्रपाली – जो ११ वर्षको किशोरावस्थामा नै अतुलनीय सौन्दर्यले सम्पन्न छिन् । सबैभन्दा रूपमती युवतीलाई ऐश—आराम, धन—दौलत दिएर भव्य महलमा राख्ने र नगरकै भोग्या स्त्रीका रूपमा उपयोग गर्ने वैशालीको राजनियम थियो । ती युवतीलाई नगरकी वधू भनिए पनि वैभव खर्च गर्न सक्ने कुलीनहरू बाहेक अरूको ती युवतीसम्म पहुँच हुने कुरै थिएन । कडा सुरक्षाबीचको आम्रपालीको  भव्य महलमा नाच—गान र मदपान प्राय चलिरहन्थ्यो । साधारण मानिसहरूको भीड ती सुन्दरीलाई परैबाट भए पनि एक झल्को हेर्न परिसर बाहिर पर्खिरहेको हुन्थ्यो । आम्रपालीले नचाहेर पनि यही कानुनका कारण नगरवधू बन्नुपरेको थियो । उनलाई प्रकृतिले दिएको रूप नै उनका लागि अभिशाप बनेको थियो ।

आम्रपालीलाई १८ वर्षको उमेरमा सङ्घको परिषद्ले ठुलो सभामा नगरवधू घोषण गरेको थियो । आम्रपाली र उनका धर्म पिताका निम्ति यो एउटा बज्रपात जस्तै थियो । आम्रपालीले सभामा यो कानुनप्रति कटाक्ष समेत गरिन् । सभामा उपस्थित उन्मादले मस्त कुलीन जमातले खड्गहरू आकाशतिर उचाल्दै सङ्घको नियम मान्न दबाब दिएको थियो । जे जस्तो भए पनि सङ्घको  कानुनको अवज्ञा गर्न सम्भव थिएन ।     

मानवीय सामाजिक परिपाटी जस्तोसुकै भए पनि प्राकृतिक नियम अनुसार एक पुरुष र स्त्री विना मानवीय प्रारम्भिक सत्ता सम्भव हुँदैन भन्ने मान्यतालाई अनुसरण गर्ने हिन्दु दर्शनले स्त्रीलाई पनि उच्च सम्मान दिन कन्जुस्याइँ गरेको देखिँदैन । तर, संस्कृतिमा यस्ता कैयन् विकृत प्रचलन देखिँदै आएका छन् । वैशालीमा नगरवधूका नाममा विशेष वर्गको ऐश—आरामका लागि अपनाइएको यो प्रचलन पनि यस्तै एउटा सामाजिक वा राजनीतिक विकृति थियो । आम्रपाली यसै प्रचलनकी पीडित हुन् । उनलाई भोग्न गणराज्यभित्रका कुलीनहरू मात्र होइन, मगध सम्राट् बिम्बिसार र उनका छोरा अजातशत्रु लगायतकाहरूको सदैव लालसा रहन्थ्यो । आम्रपालीलाई लिएर आपसमा कैयौँ पटक विभिन्न कुलीन गुट र देशहरूबीच शत्रुतापूर्ण रणनीति र झडप भइरहन्थे । कृतिको प्रारम्भतिर नै उपन्यासकारले पाठकलाई यो तीतो यथार्थसँग सामना गराएका छन् ।

बज्जीसंघको नियमले आम्रपालीको स्त्रीत्वको निर्मम हत्या गरेको थियो । त्यसैले उनमा यो गणराज्यप्रति सुषुप्त शत्रुता कायम रह्यो । चतुरसेनले यी नारीको प्रतिशोधलाई वैशालीको अस्तित्वमाथि मडराइरहेको कालो बादलको रूपमा चित्रित गरेका छन् । वैशालीले आम्रपालीलाई धन—सम्पत्ति र सम्मान दिनमा कन्जुस्याइँ गरेन, तर उनले त्याग गर्नुपरेको कुराभन्दा पाएको यो सबै धेरै तुच्छ थियो । उनको रूपलाई मात्र वैशालीले देख्यो, तर उनीभित्रको स्त्री भावलाई उपेक्षा गरेको थियो । यो कथा आम्रपालीको मात्र होइन, वैशालीका उनको उचाइमा भन्दा तलका अरू सैकडौँ गणिकाहरूको पनि थियो । यसरी सांसारिकताबाट थकित आम्रपाली पछिल्लो समयमा बुद्धको शरणमा पुगिन् र शिष्य बनिन् ।

ऐतिहासिक पृष्ठभूमिको कृति भएका हुनाले यसमा खड्ग द्वन्दका हिंसक आवाज, कूटनीतिका दम्भहरू, विजय—पराजयका उन्माद र क्रन्दनहरू प्रशस्तै छन् । सम्पन्नता, बौद्धिकता, शौर्य, गणतन्त्र जस्ता विशेषताका बाबजुद वैशाली गणराज्यको अधोगति कसरी भयो ? भन्ने कुरा इतिहासहरूमा पनि उल्लेख गरिएको पाइन्छ । पूर्वीय राजनीतिमा आजभन्दा २६०० वर्ष पहिल्यै उच्चस्तरको सङ्घीय गणतन्त्रको अभ्यास गरिरहेको वैशाली गणराज्य चरम विलासिता, नारीमाथि थोपरिएका भेदभाव र राजनीतिक अदूरदर्शीताका कारण पतनको दिशातिर अग्रसर भएको थियो ।            

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ११ : ४२ बजे