साफ यू–१७ च्याम्पियनसिप आजदेखि

६७० मेगावाटको दुधकोशी आयोजनाको उत्पादन क्षमता बढ्ने, ८७० को बन्दै


काठमाडौँ । खोटाङ र ओखलढ्ंगाको सिमानामा बाँध बाँधेर निर्माण गर्न लागिएको दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा करिब २०० मेगावाट थप विद्युत् उत्पादन हुने भएको छ ।
मुलुककै सबैभन्दा सस्तो आयोजना मानिएको दुधकोशीमा ओखलढुंगापट्टि बन्न सक्ने करिब २०० मेगावाटको दुधकोशी पम्प स्टोरेज जलविद्युतको छुट्टै आयोजनालाई बनाउन सकिने भएकाले थप विद्युत् उत्पादन हुने भएको हो । यसअघिको नेतृत्वले निष्क्रिय बनाएको यो क्षमतालाई दुधकोशी जलाशययुक्त आयोजनामा विमल गुरुङ प्रमुख भएर आएपछि थप विद्युत् उत्पादन हुन सक्ने ठहर गरिएको हो ।
आयोजना प्रमुख गुरुङका अनुसार वर्षा याममा चार महिना चौबिसै घण्टा २०० मेगावाट उत्पादन गरिनेछ भने अरू महिनामा पम्प स्टोरेजको रूपमा पिक आवरमा पूर्ण क्षमतामा सञ्चालन गरिनेछ । योसहित ६७० मेगावाटको दुधकोशीको कुल क्षमता ८७० मेगावाट पुग्नेछ । आयोजनामा २०० मेगावाटको पम्प स्टोरेज जलविद्युत पहिलो चरणमा निर्माण गरिने ६७० मेगावाटको जलविद्युत् निर्माण सम्पन्न भएको ५ देखि १० वर्षपछि मात्र निर्माणकार्य सुरु गरिनेछ ।
आयोजना प्रमुख गुरुङले थप २०० मेगावाट विद्युत् उत्पादनको सम्पूर्ण खाका तयार गरिसकिएको बताउनुभयो । यो थप विद्युत् उत्पादनका लागि ६७० मेगावाटकै उही बाँध र जलाशय नै प्रयोग हुनेछ भने केही सय मिटरको मुख्य सुरुङ तथा नयाँ सर्ज स्याफ्ट, पेनस्टक, भूमिगत विद्युतगृह, रिरेग बाँध (रेगुलेटिङ ड्याम थप बनाइनेछ ।
अहिले विश्वभर पम्प स्टोरेज जलविद्युत आयोजनाहरूको रफ्तार बढ्दो क्रममा रहेको जानकारी दिँदै गुरुङले अहिलेसम्म विश्वभर करिब पौने दुई लाख मेगावाटको पम्प स्टोरेज निर्माण भइसकेको उल्लेख गर्नुभयो । यस्तो उत्पादन आगामी सन् २०३० सम्म २ लाख ७५ हजार अर्थात् पौने तीन लाख पुग्ने अनुमान गरिएको छ । छिमेकी चीनमा करिब ४५ हजार मेगावाट, भारतमा ३ हजार ३ सय मेगावाट र जापानमा करिब २८ हजार मेगावाट पम्प स्टोरेज निर्माण भइसकेको छ । त्यस्तै अमेरिकामा २२ हजार मेगावाट पम्प स्टोरेज जलविद्युत् निर्माण भइसकेको छ । भारतमा पम्प स्टोरेज जलविद्युतको सम्भाव्य क्षमता करिब १ लाख ५ हजार छ ।
२०४४ सालमा जाइकाले अध्ययन गरेको यो आयोजनाले प्रधानमन्त्री केपी ओली शर्मा सरकारको अघिल्लो कार्यकालमा निकै प्राथमिकता पाएको थियो । त्यसपछि बनेका सरकारले राजनीतिक पहुँचका आधारमा दुधकोशीलाई प्राथमिकता नदिएको गुनासो बढिरहेको छ । जसका कारण सरकारले बजेट छुट्याउन नसक्दा स्थानीय बासिन्दाले मुआब्जा पाउन सकेका छैनन् । आयोजनाले डुवान गर्ने जग्गा अधिग्रहण गर्न दुई वर्षअघिदेखि रोक्का राखिएको छ । रभुवा बजार नजिक करिब २०० मिटर अग्लो बाँध बाँधी पानीलाई १४ किमि लामो सुरुङमार्फत सुनकोशी किनारमा खसालेर दुधकोशी आयोजनाबाट ६३५ मेगावाट विद्युत् उत्पादन गरिँदै छ भने थप ३५ मेगावाट ओभरफ्लोको पानीबाट उत्पादन हुनेछ ।
उक्त बाँध निर्माणपछि खोटाङ र ओखलढ्ंगाको सिमाना दुधकोशीतर्फ १४ किमिभन्दा बढी र खोटाङको रावा खोलातर्फ ८ किमिभन्दा बढी र ओखलढुंगाको ठोट्ने खोलातर्फ ४ किमिभन्दा बढीको विशाल जलाशय बन्दै छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ३ : ५१ बजे