‘एउटै नाउरको सिकार गर्न २३ लाख’

ओली सरकारमा सिंहदरबारभित्र जमेका महिला

– अभिषेक अधिकारी

काठमाडौँ । केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएपछि महिलाहरूले उच्च पदमा धमाधम जिम्मेवारी पाइरहेका छन् ।
स्थायी सरकार मानिने प्रशासनिक क्षेत्रको विशिष्ट श्रेणीका ७० पदमध्ये अहिले महिलाले मुख्यसचिवदेखि प्रदेश सचिवसम्म आठ जना महिलाले नेतृत्व हाँकिरहनुभएको छ । यसरी ओली सरकारमा महिलाले उल्लेख्य जिम्मेवारी पाइरहे पनि संविधानले नै भनेको ३३ प्रतिशत सुनिश्चितता भने प्राप्त भई नसकेको देखिन्छ । यो भनेको १० प्रतिशत मात्र हो ।

यद्यपि आशालाग्दो कुरा के छ भने ७० वर्षे प्रशासनिक इतिहासमा महिलाले मुख्य सचिव हाँकिरहेको बेला अन्य सात उच्च पदस्थ महिलाले मन्त्रालय तथा विभाग नेतृत्व गरिरहेका सुखद सन्देश भने प्रवाहित भइरहेको छ । कुनै बेला उषा नेपाल प्रमुख जिल्ला अधिकारी बन्दा रेकर्ड बनेको प्रशासन वृत्तमा अहिले थुप्रै रेकर्डहरू बनिरहेका छन् । पछिल्लो समय निजामती प्रशासनमा महिला प्रवेशको संख्या केलाउने हो भने आगामी दशकसम्ममा उच्च पदस्थ कर्मचारीको संख्यामा महिला–पुरुष बराबर पुग्ने संकेत पाइन्छ ।

अहिले प्रशासनिक नेतृत्व उच्च पद मुख्य सचिवमा लीलादेवी गड्तौला कार्यरत हुनुहुन्छ । आगामी भदौ १५ गते सेवा निवृत्त हुने गड्तौलाले ओली प्रधानमन्त्री भएकै समयमा इतिहास रच्ने सुवर्ण अवसर प्राप्त गर्नुभयो । ओली सरकारमा आउनुअघि पुष्पकमल दाहाल प्रचण्ड सरकारले उहाँलाई निमित्त मुख्य सचिवको मात्र जिम्मेवारी दिएको थियो । ओली सत्तारोहणसँगै सरकारले गड्तौलालाई कामयमुकाम मुख्य सचिव हुँदै मुख्यसचिवमा नियुक्त गरेको हो ।

यसरी ओली सरकारमा महिलाले उल्लेख्य जिम्मेवारी पाइरहे पनि संविधानले नै भनेको ३३ प्रतिशत सुनिश्चितता भने प्राप्त भई नसकेको देखिन्छ । यो भनेको १० प्रतिशत मात्र हो

ओली सरकार गठन भएलगत्तै असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई निमित्त मुख्य सचिव बनाएको थियो र त्यसको १० दिनपछि साउन १० गते बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई मुख्य सचिव बनाएको थियो ।
गड्तौला यसअघि कानून आयोगमा सचिवमा रहनुभएको थियो । तत्कालीन मुख्य सचिव डा. वैकुण्ठ अर्याल भ्रष्टाचार अभियोगमा निलम्बन भएपछि ज्येष्ठताका आधारमा प्रचण्ड सरकारले उहाँलाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिएको थियो । गड्तौला नेपालकै इतिहासमा पहिलो महिला मुख्य सचिव बन्नुभएको छ ।

यस्तै परराष्ट्रसचिवमा सेवा लम्साल रहनुभएको छ । लम्साल मन्त्रालयको सहसचिवबाट सचिवमा बढुवा हुनुभएको थियो । उहाँ परराष्ट्र मन्त्रालयको प्रवक्तासमेत रहनुभएको थियो ।यस्तै जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व सरिता दवाडीले हाँकिरहनुभएको छ ।

यस्तै खानेपानी तथा सरसफाइ मन्त्रालयको सचिवका रूपमा प्रमिलादेवी बज्राचार्य रहनुभएको छ । उहाँले पहिल्यै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सचिवको भूमिका पनि निभाइसक्नुभएको हो । यसअघि बज्राचार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत हुनुहुन्थ्यो ।

यस्तै संचार तथा सूचना प्रविधि मन्त्रालय सचिव राधिका अर्यालले हाँकिरहनुभएको छ । यसअघि प्रचण्ड सरकारले अर्याललाई उपराष्ट्रपति कार्यालयमा थन्काएको थियो ।

यस्तै महालेखा परीक्षकको कार्यालयको रहेको विशिष्ट श्रेणीको उप–महालेखा परीक्षक पदमा विन्दु विष्ट कार्यरत रहनुभएको छ ।

सार्वजनिक निकायहरूको अन्तिम लेखापरीक्षण गरी प्रतिवेदन जारी गर्ने संवैधानिक अंग महालेखा परीक्षकको कार्यालयका पाँच सदस्यीय महालेखापरीक्षकमध्ये उहाँ एक्लो महिला हुनुहुन्छ ।

यस्तै गण्डकी प्रदेशको मुख्य सचिवमा महिलाले नेतृत्व गरिरहनुभएको छ । त्यहाँ खुला प्रतिस्पर्धाबाट सहसचिव हुनुभएकी लक्ष्मीकुमारी बस्नेतले विशिष्ट श्रेणीमा बढुवा भएपछि गण्डकी प्रदेशको प्रशासनिक नेतृत्व गरिरहनुभएको छ ।
यस्तै सहसचिव भए पनि राष्ट्रिय महिला आयोगको प्रशासनिक नेतृत्व पार्वती अर्यालले गरिरहनुभएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ३ : २४ बजे