परिचय दिउँ म किन ?
दर्जा दोस्रोसरि,
अस्तित्व फेरूँ किन ?
तिम्रै पेवासरि ।
फगत बेहोसीमा चेत गुमाएकाहरू,
होसियार !
देख्छौ कि उर्लिएको बेग,
तिमीले पोतिदिएको पाखण्ड पखाल्न,
प्रकृति विध्वंस मच्चाउँछे,
हो प्रकृति विध्वंस मच्चाउँछे,
अनि पालुवा पलाउँछे त्यहीँबाट ।
कति जले यहाँ सती,
कति बगाइए योगमायाहरू,
कति लुटिए निर्मलाहरू,
लावारिस छोडिए सीताहरू
कति कर्ण त्यागे कुन्तीहरूले,
अपसोच !
गल्तीहरूका पल्ला नाप्दै तिमी उभिइरह्यौँ ।
तर पनि,
उदाइरहे द्वारिकादेवी,
लेखिरहे पारिजात,
चम्किरहेछन् भृकुटी,
उचाइ चुमिरहेछन् पासाङ,
काल टेक्दै जुरमुराइरहे देवी,
बदलिँदो युगसरि रूप फेर्दै ।
तिमीले पहिराएको चुरा घन्काउँदै जुट्दै छन्,
होसियार !
उठ्दै छन् हातहरू, बज्दै छन् ताली,
थेग्न नसकी कम्पन,
फुट्दै छन् चुराहरू, उघारिँदै छन् दृष्टि ।
लक्ष्य विहीन निराधार सपना छैनन्,
दरिलो पाइला धर्ती मै टेकी,
जिम्मेवार नागरिकको दायित्व बोकी,
जुट्दै छन्,
सहअस्तित्व अँगाल्ने समतामूलक समाजका निम्ति ।
प्रकृति र समाजको अभिन्न अङ्ग म,
अब भन,
दर्जा दोस्रोसरि परिचय दिउँ म किन ?
प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार ९ : १६ बजे
प्रतिक्रिया