‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यसरी गर्न सकिन्छ युवालाई कृषिमा आकर्षित

समाजमा बालबालिका, युवा, प्रौढ र ज्येष्ठ नागरिक हुन्छन् । उमेरका आधारमा विभिन्न समूहमा विभक्त मानिसहरूको समष्टि नै समग्रमा मानव समुदाय हो । त्यसो त सबै समाजमा उत्तिकै मात्रामा यो सन्तुलन कायम नभएको पनि हुन सक्छ तर पनि आम रूपमा सबै उमेर समूहका मानिस नै जनसांख्यिक दृष्टिले समाजमा हुन्छन् । शारिरीक तथा मानसिक रूपमा बालबालिका र ज्येष्ठ नागरिक तुलनात्मक रूपमा अलि कमजोर भए पनि युवा र प्रौढ उमेर समूहका मानिस शारिरीक र बौद्धिक दुवै दृष्टिले बलिया हुन्छन् । त्यसमा पनि स्वस्थ्य युवाहरू शारिरीक रूपले बलवान्, ऊर्जाशील र जागरुक हुन्छन् । त्यसैले सभ्यताको सुरुवातदेखि नै जोडिएको पवित्र कृषि प्रणालीमा युवाको संलग्नता रहँदै आएको छ । कृषिमा युवाको संलग्नताका कारणले नै मानव सभ्यताले यहाँसम्म फड्को मार्न सकेको हो भन्दा अतिशयोक्ति हुँदैन ।

खेती गर्ने अभ्यासको विकास नभएसम्म जनावरको सिकार गर्नु र विभिन्न खानयोग्य गिट्ठा, भ्याकुर आदि चिजवस्तुहरू संकलन गरी खानुपर्ने मानिसको बाध्यता थियो । सिकार संकलनकर्ता समुदायहरू आज पनि संसारका विभिन्न भागमा छन् । सिकार गर्न कतिपय हिंस्रक जनावरसँग लड्नुपर्ने तथा घना जंगल र अप्ठ्यारा ठाउँहरूमा उपलब्ध खानयोग्य बोटविरुवा र कन्दमूल संकलन गर्नुपर्ने कामका लागि स्वाभाविक रूपमा युवाहरू नै संलग्न हुनुपर्ने हुन्थ्यो । समाजका अन्य उमेर समूहका मानिसले समेत विभिन्न किसिमका कार्यहरू गर्दथे तर मूल रूपमा सिकार गर्नु र खानेकुरा संकलन गर्नु दरिला युवाहरूकै जिम्मेवारीभित्र पर्दथ्यो भन्ने कुरा सजिलै अनुमान गर्न सकिन्छ ।

आजभन्दा लगभग १२ हजार वर्ष पहिले प्रारम्भिक खेती गर्ने अभ्यासहरू संसारका विभिन्न भागमा विकसित हुन थाल्यो । हिजोआज बहुसंख्यक मानिसहरू खेती र औद्योगिक विधिहरूद्वारा खाद्यान्नको जोहो गरिने समाजमा बस्छन् । यसरी विकसित हुँदै आएको कृषि प्रणालीमा आम रूपमा युवाहरूकै बहुलता रहँदै आएको छ ।

युवा भन्नासाथ महिला र पुरुष दुवै हुन् । कुन उमेर समूहका मानिस युवा हुन् भन्ने कुरा देश, काल र परिस्थिति अनुसार फरक दृष्टिकोण पाइन्छ । संयुक्त राष्ट्रसंघले १५ देखि २४ वर्ष उमेर समूहलाई युवा मानेको छ भने अफ्रिकन युवा चार्टरले १५ देखि ३५ वर्षकालाई युवा भनेको छ । नेपालमा १६ देखि ४० वर्ष उमेर समूहलाई युवाको परिभाषामा समेटिएको छ । समाजशास्त्रीय रूपमा आश्रित बाल्यकाल र स्वतन्त्र वयष्कता बीचको खाडललाई कम गर्न उद्यतहरू नै युवा हुन् । मनोवैज्ञानिक रूपमा बाल्यकालको लामो अवधि समाप्त गरिसकेकाहरू युवावर्गमा पर्दछन् । मानिसलाई अगाडि बढ्नका लागि समाजशास्त्रीय र मनोवैज्ञानिक ढंगले युवाको परिभाषा अलि फरक कोणबाट गर्न खोजे पनि यथार्थको धरातलमा उभिएर भन्नुपर्दा खास उमेर समूहका मानिस मात्रलाई नै युवा भन्नुपर्ने हुन्छ । किनकि उनीहरू तुलनात्मक रूपमा सबै हिसाबले बलशाली हुन्छन् ।
विज्ञान प्रविधिको उन्नयन, नवप्रवर्तन, आर्थिक विकास तथा सामाजिक अवस्थामा परिवर्तन भएकाले विकसित मुलुकका युवा किसानहरू अरू पेसातर्फ पलायन भइरहेका छन् । युवाहरू त्यसै पनि पढेलेखेका हुने भए, जोस जाँगर हुने भयो त्यही भएर उनीहरूलाई अन्य क्षेत्रमा बढी आर्थिक लाभ प्राप्त हुने नै भयो । यस्तो अवस्थामा ती मुलुकहरूले युवालाई सोही पेसामा टिकाउन सकिने गरी युवा किसान लक्षित सेवा सुविधा बढाइरहेका छन् ।

अर्थात् अब विश्वमा सहज रूपमा युवाहरू कृषि पेसामा आबद्ध नहुने अवस्था पैदा भइरहेको छ । यसबाट कृषिमा संकट आएर मानिसहरू अनिकाल र भोकमरीमा पर्ने प्रक्षेपण गरिँदै छ । त्यसैले युवा लक्षित कृषि विकासका नीति, रणनीति र कार्यक्रमहरू ल्याउन मुलुकहरू बाध्य भइरहेका छन् ।

नेपालमा राष्ट्रिय युवा नीति २०७२ ले बौद्धिक युवाहरूलाई विशेष छात्रवृत्तिसहित उनीहरूलाई आकर्षित गरी आधुनिक प्रविधिको विकासमा लगाउने लक्ष्य लिएको छ । साथै यहाँ उपलब्ध स्रोत–साधन जस्तो कि कृषि, पशुपालन, जडीबुटी आदिको उपयोग गर्ने उद्देश्य लिइएको छ । यसैगरी कृषि विकास रणनीति (सन् २०१५–२०३५) ले ‘समावेशी विकास’ को अवधारणामा युवालाई समेटेको छ । यस रणनीतिले युवालक्षित कृषि उद्यमशीलता प्रवद्र्धन गर्ने गरी कार्यक्रम अगाडि सारेको छ । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी नियमावली, २०८० को नियमले लक्षित कृषि विकास कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको छ । यसका लागि युवा स्वरोजगार तथा आय आर्जन सम्बन्धी कार्यक्रम लागू गर्नेछ ।

हाम्रो छिमेकी मुलुक भारतले ‘युवालाई कृषिमा आकर्षित र कायम राख्न’ सन् २०१५ मा नयाँ योजना अगाडि सारेको छ । यो परियोजना ग्रामीण युवाहरूलाई सशक्तीकरण गर्न र कृषिका विभिन्न क्षेत्रका उद्यमशील गतिविधिहरूमा संलग्न गराउन केन्द्रित छ । धेरै रोजगारी सिर्जना गर्ने, दिगो आम्दानी सुनिश्चित गर्ने र ग्रामीण क्षेत्रमा कृषि र सम्बद्ध गतिविधिको थप विकास गर्ने यसको उद्देश्य रहेको छ ।

हाम्रो अर्को छिमेकी देश चीनमा कृषि क्षेत्रमा युवालाई प्रोत्साहित गर्न र अरूलाई समेत उत्प्रेरित गर्नका लागि भएको प्रयासको बारेमा लु पान (बिकमिङ ए योङ फार्मर, सन् १९२४, पालग्रेभ माकमिलन) बताउँछन्, ‘सन् १९९६ देखि चीनको कृषि मन्त्रालयले देशभरका उत्कृष्ट युवा कृषकहरूलाई छनोट गरी पुरस्कृत गर्दै आएको छ । योग्य युवा किसान तीन वर्षभन्दा बढी समयदेखि कृषिमा कर्म गरिरहेका १८ देखि ३९ वर्षका व्यक्ति हुन् र तिनले उत्कृष्ट आर्थिक प्रदर्शन गर्दै अरू किसानलाई समेत नयाँ प्रविधिको प्रयोगसहित नयाँ तरिकाले खेती गर्न प्रभाव पार्दछन् ।’

कृषि प्रणालीलाई जीवित राखेर मानव सभ्यतालाई प्रतिष्ठित रूपमा चिरस्थायी तुल्याउन युवालाई कृषि पेसामा आबद्ध नगराई सुखै छैन । वैवाहिक जीवन सुरुवात गर्ने, सन्तान उत्पादन गरी तिनलाई उचित शिक्षादीक्षा दिने मुख्य दायित्व युवाकै हो । युवा उमेरका आफ्ना माता पिताको दैनिक कृषि कर्म देखेर नै बालबालिकाहरूले खेती प्रणालीका विभिन्न आयामहरूका बारेमा जानकारी लिइरहेका हुन्छन् । रहरले भनौँ वा देखासिकी गरेर समेत बालबालिकाले अभिभावकलाई सघाउँछन् र कृषिका बारेमा बाल्यावस्थादेखि नै ज्ञान सीप आर्जन गर्न सक्षम हुन्छन् । तिनै बालबालिकाले युवा उमेरमा प्रवेश गरेपछि मातापिताको बिँडो धान्दछन् र यस्तो क्रम निरन्तर भइरहेको हुन्छ । यसरी समाजमा कृषि कर्मको प्रक्रिया अनवरत चलिरहन्छ ।

स्वाभाविकै हो कि अहिलेका युवा चेतना, ज्ञान तथा सीप र जागरणका दृष्टिले विगतमा भन्दा अब्बल छन् । त्यसैले अन्तर्राष्ट्रिय जगतमा आधुनिक कृषिका बारेमा के भइरहेको छ, त्यसको बारेमा युवाले जानकारी राखेका हुन्छन् । अहिले त धेरै नेपाली युवाहरूले विकसित देशमा गएर कृषि तथा खाद्य उत्पादनका विभिन्न क्षेत्रमा काम गरेर आधुनिक प्रविधि अपनाएर उत्पादन र उत्पादकत्व बढाएको देखिसकेका छन् र यस्ता अनुभवहरू स्वदेशमै समेत अवलम्बन गरिरहेका छन् । यस महत्त्वपूर्ण पक्षलाई आत्मसात् गरेर राज्यले युवाहरूको कृषि सम्बन्धी ज्ञानलाई यहाँको सेवामा लगाउन कुनै कसर बाँकी राख्नु हुँदैन ।
युवालाई कृषि पेसा अँगाल्न प्रेरित र प्रोत्साहित गर्ने महत्त्वपूर्ण आधार भनेको कृषि प्रणाली सम्मानित गर्नु हो र यसमा आबद्ध जनशक्ति प्रतिष्ठित हो भन्ने पार्नैपर्दछ । कृषिको उच्च शिक्षालाई सस्तो र सर्वसुलभ बनाएर विद्यार्थीलाई आकर्षण गरी अध्ययन अध्यापन गराएर प्राज्ञिक जनशक्ति उत्पादनमा जोड दिनुपर्दछ । कृषि उपजले उचित मूल्य प्राप्त गर्न सक्ने वातावरण बनाउनुपर्दछ । एकातिर यसबाट युवाका आर्थिक आवश्यकता पुरा हुन्छ भने अर्कोतिर समाजमा अन्य पेसा अपनाउने व्यक्तिसरह नै आफू पनि प्रतिष्ठित हो भन्ने कुरा युवाले महसुस गर्दछन् ।

नीति तथा योजना निर्माण एवं यसको प्रभावकारी कार्यान्वयनमा युवालाई सहभागी गराउन, कृषिसम्बन्धी तालिम तथा उत्प्रेरणा कार्यक्रम चलाउन, खेतीयोग्य जमिन उपलब्ध गराउन, सस्तो ब्याजदरमा यथोचित पुँजी उपलब्ध गराउन, वैज्ञानिक ज्ञान सीप प्रदान गर्न, आधुनिक कृषि औजार दिलाउन सफल हुने हो भने युवालाई कृषि पेसामा आकर्षित गर्न र यसैमा टिकाउन समेत सकिन्छ । यसका लागि विगतका युवालक्षित कृषि नीति तथा योजनाको मिहिन ढंगले समीक्षा गरीकन नयाँ रूपमा प्रस्तुत भई त्यसको कार्यान्वयन गर्नुपर्ने खाँचो रहेको छ । यस्तो कार्यबाट नै युवालाई कृषिमा आकर्षित गर्न सकिन्छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  १ : ०० बजे