साफ यू–१७ च्याम्पियनसिप आजदेखि

स्थानीय पाठ्यक्रम निर्माण गर्दै दाङका स्थानीय सरकार

दाङ । दाङका स्थानीय सरकार स्थानीय पाठ्यक्रम निर्माणमा जुटेका छन् । राजपुर गाउँपालिकाले पछिल्लो समय पाठ्यक्रम निर्माण सुरु गरेको  छ । 

स्थानीय पाठ्यक्रम निर्माण समिति, पाठ्यक्रम विकास केन्द्रका विज्ञको सहजीकरण र अग्रसरतामा पाठ्यक्रम निर्माण गर्न थालिएको हो । आउँदो शैक्षिक सत्रबाट राजपुर गाउँपालिकाका सबै विद्यालयमा पाठ्यक्रमअनुसार पठनपाठन गराउने तयारी छ । 

विद्यार्थीले अहिलेसम्म केन्द्र स्तरमा बनाइएको पाठ्यक्रमका आधारमा तयार पारिएको पाठ्यपुस्तक पढ्दै आएका छन् । अब आफ्नै वरिपरिका विषयवस्तुबारे तयार पारिएको किताब पनि पढ्न पाउनेछन् ।

स्थानीय पाठ्यपुस्तकको तयारीमा जुटेका स्थानीय तह र सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकलाई एकै ठाउँ भेला गरेर स्थानीय पाठ्यक्रम निर्माण प्रक्रिया सुरु गरिएको हो । 

दाङमा स्थानीय पाठ्यक्रम निर्माणमा स्थानीय तह अग्रसर भएका छन् । स्थानीय साधन स्रोतको प्रयोग गर्दै पाठ्यक्रम निर्माणमा स्थानीय तह जुटेका हुन् । 

विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई वरपरको धार्मिक, सांस्कृतिक, सामाजिक अवस्थाबारे पठनपाठन गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण थालिएको हो । 

दाङका १० वटा स्थानीय तहमध्ये अहिलेसम्म घोराही उपमहानगरले स्थानीय थारु भाषाको पाठ्यक्रम निर्माण गरिसकेको छ भने बाँकी केही पालिका पाठ्यक्रम निर्माणमा जुटेका छन् ।

राप्ती गाउँपालिकाले पनि पालिका स्तरीय सरोकारवाला निकायसँग छलफल गरिसकेको छ । स्थानीय पाठ्यक्रम बनाउन तयारी गरेको शिक्षा संयोजक विश्वास विकले जानकारी दिनुभयो । स्थानीय भाषा, संस्कृति, धर्म, परम्परा, भूगोल, वन, वातावरण, पर्यटकीय सम्पदा, मठमन्दिर लगायतका बारे जानकारी दिने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण थालिएको हो । 

व्यावहारिक रूपमा बालबालिकालाई सिकाइ हस्तान्तरण गर्न स्थानीय पाठ्यक्रम निर्माण आवश्यक रहेको शिक्षा विकास तथा समन्वय इकाई दाङका सूचना अधिकारी देवमणि चौधरीले जानकारी दिनुभयो ।

कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरेर स्थानीय पाठ्यक्रम निर्माण गरिन लागेको हो । 

स्थानीय स्तरमा पाइने वनस्पति तथा पशुपक्षी, स्थानीय नदी, नाला, तालतलैया, झरना, प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन, प्रचलित चाडपर्व र रीतिरिवाजलगायत विषयवस्तु समेटेर पाठ्यक्रम तयार हुने छन् । 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ७ : २१ बजे