काँग्रेसलाई लोकतान्त्रिक मूल्य मान्यतामा हिँडाउने प्रयास गर्नु एमालेको कर्तव्य हो : अध्यक्ष ओली 

​​​​​​​काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको प्रमुख पार्टी भएको नाताले नेपाली काग्रेंसलाई पनि लोकतन्त्रको बाटोमा हिँडाउने अभिभारा एमालेकै भएको बताउनुभएको छ । 

आज काठमाडौंमा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको  नवनिर्वाचित केन्द्रीय कमिटीलाई बधाई कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओलीले नेपालमा मुलत दुई पार्टी मात्र रहेको  र एमाले प्रमुख पार्टी भएको कारण  काँग्रेसलाई सही बाटोमा ल्याउनु एमालेको दायित्व बताउनुभयो । ओलीले आफू काँग्रेस महाधिवेशनमा शुभकामना दिन जान लागेको बताउँदै  उसलाई सही बाटोमा हिँड्न सम्झाउने समेत बताउनुभयो । ओलीले भन्नुभयो , ‘काँग्रेस पुरानो पार्टी हो । त्यसलाई लोकतान्त्रिक मूल्य मान्यतामा हिँडाउने कोसिस गर्नु हाम्रो कर्तव्य हो । नत्र एमाले एक्लै हुन्छ । अरू त राजनीतिक पार्टी नै होइनन्,पृथ्वीका वरिपरि घेरै स्याटलाइट हुन्छन् तर ती स्टार होइनन् ।’ 

ओलीले अन्य पार्टीहरू त पानीका फोका जस्तै भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पानीका फोकाहरू आउँदै जान्छन् फुट्दै जान्छन् । बन्दै जान्छन् हराउँदै जान्छन् ।’ 

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  २ : ५७ बजे