साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सहिद स्मारक लिगकाे तेस्राे चरण : पहिलो ह्याट्रिकदेखि ५३औँ सेकेन्डमै गाेल

काठमाडौं ।विदेशी खेलाडी अजयी मार्टिनको ह्याट्रिक गोल र विश्वास श्रेष्ठले खेल सुरू भएकाे सबैभन्दा कम समयमै गोल गर्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगको तेस्रो चरण समाप्त भएकाे छ ।

दशरथ रंगशालामा जारी शीर्ष डिभिजन लिगको तेस्रो चरण सकिँदा नवप्रवेशी सातदोबाटो युथ क्लब शीर्षस्थानमा छ । पहिलो पटक ए डिभिजन लिग खेलिरहेको सातदोबाटोले आक्रामक खेल खेल्दै आफूलाई शीर्षस्थानमा अहिलेसम्म कायम राखिरहेकाे छ ।   

शुक्रबार, शनिबार, आईतबार र सोमबार गरि सातामा चार दिन हुने लिगकाे खेल दिउँसो १ बजे र साँझ पौने ५ बजे हुँदै आएका छन् । तेस्रो चरण समाप्तिमा भने केही रोचक खेल र तथ्यहरू बने । सातदोबाटोका लागि नाइजेरियन अट्याकर मार्टिनले ह्याट्रिक गरे । जारी लिगमा मार्टिन ह्याट्रिक गर्ने पहिलो खेलाडी बने । 

गत लिगमा थ्रिस्टारका संजोक राई र पुलिसका जुमानु राईले ह्याट्रिक गरेका थिए । त्यसअघि भएको बिना रेलिगेसनको लिग (२०७५) मा भने ह्याट्रिक गोल नै भएन । जारी लिगमा दुई टोली रेलिगेसन प्रावधान र सातौँ चरणमै शीर्षस्थानमा हुनेले एएफसी कपमा सहभागिता जनाउन पाउने भएपछि  ह्याट्रिक बढ्न सक्ने अनुमान गर्न सकिन्छ । 

मार्टिनले विभागीय सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लबविरुद्ध ह्याट्रिक प्रहार गरेका थिए । पहिलो हाफमा दुई गोल गरेका मार्टिनले दोस्रो हाफमा एक गोल गर्दै आफ्नो नाम जारी लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्षस्थानमा लेखाएका हुन् । एपीएफविरुद्ध मार्टिनले खेलको ४१, ४५ मिनेटपछिको इन्जुरी टाइम र ५८ मिनेटमा गोल गरेका थिए । 

यता, लिगमा सर्वाधिक चाडो गोल गर्ने नाम हिमालयन शेर्पा क्लबका फरवार्ड विश्वास श्रेष्ठको नाममा रह्यो । बुधबार ५३औँ सेकेन्डमा विश्वास श्रेष्ठले गरेको गोलसँगै शेर्पाले अग्रता लिएको थियो । खेल सुरू भएको एक मिनेट नबित्दै पेनाल्टि एरिया बाहिरबाट शेर्पाका कप्तान विश्वासले गरेको प्रहार पुलिसका गोलकिपर सत्रुघन चौधरीले सम्हाल्न नसक्दा गोल हुन पुगेको थियो । जुन गोल जारी लिगमा भएको सबैभन्दा कम समयको हो । 

तेस्रो चरणमा भने दोस्रो चरणको औसतमा गोलसंख्या समेत बढेको छ । यस चरणमा १६ गोल भए । मनाङ मर्स्याङ्दी क्लब संकटा क्लबसँग रोकिनु, च्यासल र एनआरटीले बराबरी खेल्नुबाहेक तेस्रो चरणमा अप्रत्यासित कुनै पनि नतिजा आउन सकेन ।

खराब प्रदर्शनलाई निरन्तरता दिएका एपीएफ फुटबल क्लब र जावलाखेल युथ क्लब यस चरणमा समेत आफुलाई जोगाउन सकेनन् । यसपटक भने ब्रिगेड ब्वाइजविरुद्ध पाएको १-० अन्तरको जितसँगै त्रिभुवन आर्मी फुटबल क्लबले राहत पाएको छ र उपाधि दावेदारीमै रहने संकेत देखाएको छ । 

तेस्रो चरण समाप्तिमा सातदोबाटो, मच्छिन्द्र र मनाङको समान ७ अंक रहे पनि गोलअन्तरका आधारमा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका छन् । समान पाँच अंक बनाएका संकटा, नेपाल पुलिस, र आर्मी क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् ।

समान ४ अंक रहेका थ्रिस्टार, ब्रिगेड र च्यासल युथ क्रमशः सातौँ, आठौँ र नवाैँ स्थानमा रहँदा समान २ अंकका फ्रेण्ड्स, एनआरटी र हिमालयन शेर्पा क्लब १०औँ, ११औँ र १२औँ स्थानमा छन् । विना कुनै अंकको जावलाखेल युथ र एपीएफ क्लब क्रमशः १३औँ र १४औँ स्थानमा रहँदै रेलिगेसन जोनमा छन् । चौथो चरणका खेल भोलि (शुक्रबार)बाट सुरू हुने छन् । 

तेस्रो चरणका खेल र नतिजा
१. फ्रेण्ड्स क्लब १-१ थ्रीस्टार 
२. सातदोबाटो युथ क्लब ४-१ एपीएफ फुटबल क्लब 
३. संकटा क्लब १-१ मनाङ मर्स्याङ्दी क्लब 
४. च्यासल युथ क्लब १-१ न्युरोड टिम एनआरटी
५. ब्रिगेड ब्वाईज क्लब ०-१ त्रिभुवन आर्मी फुटबल क्लब 
६. हिमालयन शेर्पा क्लब १-१ नेपाल पुलिस क्लब
७. जावलाखेल युथ क्लब ०-२ मछिन्द्र फुटबल क्लब 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  १ : ३८ बजे