काँग्रेस महाधिवेशन: संस्थापन इतरलाई सभापतिको उम्मेदवार छान्नै सकस

काठमाडौँ । नेपाली काँग्रेसको संस्थापनइतर पक्षलाई आसन्न १४ औँ महाधिवेशनमा साझा उम्मेदवार चयन गर्न हम्मे हम्मे परेको छ ।

संस्थापनइतरबाट सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र शशाङ्क कोइराला आकाङ्क्षी हुनुहुन्छ ।

यद्यपि, सहमतिमा जाने हो भने आफू पद छाड्न तयार रहेको शशाङ्कले यसअघि नै बताउनुभएको थियो । तर, साझा उम्मेदवार छान्न चार दिनको प्रयासले सार्थकता पाउन सकेको छैन । 

नेता गुरु घिमिरेका अनुसार नेताहरुबीच आज बानेश्वरमा छलफल हुनेछ ।

यसअघि सभापतिका आकांक्षीहरुबीच छलफल हुँदै आएको थियो । तर आज सभापतिका आकाङ्क्षी बाहेकका केन्द्रीय सदस्यबीच छलफल हुनेछ । “उम्मेदवार बन्ने विषयमा निर्णय गरेर सुझाव दिन्छौँ,” उहाँले भन्नुभयो, “उहाँहरू बाहेकको छलफल गरेर विकल्प सहितको धारणा पेस गरेपछि मिल्ला ।”

उहाँका अनुसार वरिष्ठ नेता पौडेल सहमतिका लागि त्याग गर्न तयार भए पनि सिंह र शेखरबीच सहमति हुन नसकेको हो । 

काँग्रेसले १४औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरिसकेको छ ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमार्फत चार हजार तीन सय १९ जना महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ    ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ८ : ०७ बजे