पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले नयाँ सरकार गठनका लागि कांग्रेस–माओवादी–जसपा गठबन्धनलाई साथ नदिने पक्कापककी भएको छ ।
वैशाख २६ गते पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि त्यसै दिन प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार गठनका लागि दलहरुलाई ३ दिनको दिएको समय बुधबार ४ बजे सकिदैछ ।
नेपाली काग्रेंसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठनको प्रयासमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेका थिए । कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ जना सांसद छन् ।
बहुमतका लागि राष्ट्रिय जनमोर्चाको तीन प्रदेशसभा सदस्यको पनि हस्ताक्षर चाहिन्छ । ६० सदस्यीय प्रदेश सभामा थापाले हस्ताक्षर नगर्दा विपक्षीलाई सरकार बनाउन सांसद संख्या पुग्दैन ।
यदि प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि दिएको समय सीमा भित्र दलहरुले बहुमतसहित दाबी गर्न सकेनन् भने अल्पमतको सरकार बन्नेछ । यसो भएमा प्रदेशसभाको सबभन्दा ठूला दल एमालेको संसदीय दलको नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री बन्नेछन् ।
प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार ३ : २५ बजे
प्रतिक्रिया