साफ यू–१७ च्याम्पियनसिप आजदेखि

मुलधारका मिडियाले राष्ट्रिय पार्टीलाई भुत्ल्याएर नाङ्गेझार बनाउन खोज्नु राम्रो होइन : भट्टराई

 

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले मुलधारका मिडिया एमालेको बिरुद्धमा भएको बताउनुभएको छ । मंगलबार पार्टीको १० औं महाधिवेशनको समीक्षा बैठकमा सचिब भट्टराईले आम सर्वधारणदेखि सोसल मिडियामा महाधिवेशनबारे सकारात्मक प्रतिक्रिया आए पनि मूलधारका मिडिया निरन्तर एमालेप्रति नकारात्मक रहेको उल्लेख गर्नुभयो । ‘एमालेप्रति क्रिटिकल हुनुस्, म स्वागत गर्दछु,’ उहाँले भन्नुभयो, ‘तर कुखुरा–परेवा भुत्ल्याएजस्तो नांगेधार बनाउने काम भएको छ, एमालेजस्तो लोकतान्त्रिक पार्टीविरुद्ध नियोजितरुपमा लागेर सडकबाट कुन पार्टी ल्याउने हो बुझ्न सकेको छैन ।’

सचिव भट्टराईले तत्कालिन विद्रोही माओवादीलाई एमालेको पहलमा नै शान्तिप्रक्रियामा ल्याएको स्मरण गर्दै त्यसो नभएको भए आजसम्म नेपाल आन्तरिक द्वन्द्वमा नै रहने थियो भन्नुभयो । उहाँले एमालेले पनि केही करेक्सन गर्नुपर्छ भने गर्न तयार रहनेसमेत उल्लेख गर्नुभयो । उहाँले एमाले मात्रै अडान लिने पार्टी भएको बताउनुहुँदै एमालेले बनाएको रेकर्ड एमालेले मात्रै तोडन सक्ने बताउनुभयो ।

कार्यक्रममा एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले मूलधारका मिडिया नियोजितरुपमा नकारात्मक रहेकाले उनीहरुको उपचार नै नभएको दाबी गर्नुभयो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य विष्णु रिजाल, केन्द्रीय प्रचार कमिटीका सचिव गगन विष्टलगायतले धारणा राख्नुभएको थियो । कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले स्रोतसाधनको उपलब्धता बढाएर आगामी दिन प्रचार क्षेत्रको काम थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभयो । 

एमालेले महाधिवेशनका लागि केन्द्रमा केन्द्रीय प्रचार कमिटी र त्यस अन्तर्गत उपसमितिहरु गठन गरेको थियो भने चितवनमा प्रचार सहयोग कमिटी बनाएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  १ : ४८ बजे