नेपालको प्रजातान्त्रिक सङ्घर्ष तात्कालिक र विशिष्ट अर्थमा राजतन्त्र विरोधी सङ्घर्ष हो । यसमा सुरुदेखि नै सुधारवादी सम्झौतावादी र आमूल परिवर्तनवादी दुई कार्यदिशाहरू रहेका छन् । एउटाले राजतन्त्रलाई राष्ट्रियताको प्रतीक, राष्ट्रिय स्वतन्त्रताको संरक्षक ठान्छ र त्यसको रक्षा गर्दै राजासँग प्रजातान्त्रिक अधिकारहरूको माग गर्छ भने अर्काले राजतन्त्रलाई उन्मूलन गरेर जनताको जनवाद कायम गर्न चाहन्छ । पहिलो कार्यदिशाको नेता नेपाली काङ्ग्रेस हो भने दोस्रोको नेता नेपाल कम्युनिस्ट पार्टी हो । आज कुन कार्यदिशा लिने हो ? त्यसैले आन्दोलनको भाग्य र भविष्यको फैसला गर्छ ।
नेपाली काङ्ग्रेसको सुधारवादी सम्झौतावादी कार्यदिशा त्यसका निम्न कामहरूबाट प्रष्ट हुन्छ : २००७ सालको सङ्घर्षको प्रमुख नेताको हैसियतले राजतन्त्र र राणा शाहीसँग समेत सम्झौता गर्नु, दिल्ली सम्झौता विरोधी आन्दोलन दबाउन भारतीय फौज देशभित्र हुल्न दिनु, नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउनु, राजाले राज्यको सर्वाधिकार आफ्नो हातमा केन्द्रित गर्दै जाँदा मौन सहमति दिनु, संविधानसभाको निर्वाचन गर्ने अधिकार खोसेर राजाले दिएको संविधानअनुसार संसद्को निर्वाचन गर्ने राजाको निर्णयलाई समर्थन गर्नु, कम्युनिस्ट पार्टीसँग मिलेर संयुक्त रूपमा प्रजातान्त्रिक सङ्घर्षलाई अघि बढाउन अस्वीकार गर्नु र प्रमुख रूपमा कम्युनिस्ट पार्टीको विरोध गर्नु, धम्की दिने र सम्झौतामा पुग्ने कार्यनीति अनुरूप २०१८ सालमा सङ्घर्ष र २०२५ सालमा सहयोग समर्थन २०२८—२०३१ मा सङ्घर्ष र ०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिनु, जनमत सङ्ग्रहमा बहुदलका विरुद्ध राजाका षड्यन्त्रहरूलाई प्रत्यक्ष वा परोक्ष रूपमा बल पुर्याउनु, कम्युनिस्ट पार्टी र क्रान्तिकारी जनवादी शक्तिलाई मुख्य शत्रुका रूपमा विरोध गरेर राजालाई खुसी पार्ने र सम्झौतामा पुग्ने कार्यनीति अपनाउनुजस्ता कुराहरू नेपाली काङ्ग्रेसको कार्यदिशाका प्रतिनिधि अभिव्यक्तिहरू हुन् । यो कार्यदिशाले आन्दोलनलाई सुधारवाद, सम्झौतावाद र आत्मसमर्पणवादको बाटोमा लगिरहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी जन्म कालमा राणातन्त्र तथा सामन्तवाद—साम्राज्यवादको उन्मूलन गरी जनवाद स्थापना गर्ने क्रान्तिकारी कार्यदिशा लिएको थियो । तर सुरुमै शाही राजतन्त्र र नेपाली काङ्ग्रेसको बारेमा अपेक्षित मात्रामा सही दृष्टिकोण लिन नसक्नु र सुधारवाद र अवसरवाद विरोधी विचारधारात्मक सङ्घर्षलाई आवश्यकताअनुरूप सञ्चालन गर्न नसक्नुले गर्दा कम्युनिस्ट पार्टी पनि सधैँभरि क्रान्तिकारी कार्यदिशामा अडिइरहन सकेन ।
प्रतिगामी दिल्ली सम्झौता, राजाको बढ्दो निरङ्कुशता, किसानहरूमाथिको सामन्ती शोषण र राष्ट्रमाथि वैदेशिक हस्तक्षेपका अघि मोर्चाको नाममा संयुक्त मोर्चा बनाएर प्रजातान्त्रिक आन्दोलनलाई अघि बढाउने महत्त्वपूर्ण प्रयास गरेको भए पनि पहिलो पार्टी महाधिवेशनले दक्षिणपन्थी, सुधारवादी, वैधानिक राजतन्त्रवादी कार्यदिशा स्वीकार गर्यो, राजतन्त्रको अन्त्य गर्ने, सामन्ती भूस्वामित्व समाप्त पार्ने र जनवादी गणतन्त्र स्थापना गर्ने नारा र कार्यदिशा छाड्यो । संविधानसभाको चुनाव गराउने कार्यनीतिक मार्गलाई समेत छोड्यो । संविधानसभाको चुनाव गराउने कार्यनीतिका मार्गलाई समेत छोडेर स्वस्थ प्रजातन्त्र संसद्लाई सर्वशक्तिमान् बनाउँदै जाने प्रतिनिधि परिषद्को निर्वाचन गर्ने जस्ता कुराहरू अघि सार्दै पार्टीलाई राजावादी भासमा फसाइयो । यस दक्षिणपन्थी सुधारवादी कार्यदिशाबाट तत्कालीन पार्टी महासचिव केशरजङ्ग रायमाझीको नेतृत्वमा दोस्रो केन्द्रीय कमिटीको बहुमत आत्मसमर्पणवादमा पतित भयो ।
तर पार्टी नेतृत्वमा दक्षिणपन्थी हाबी भए पनि कार्यकर्ताहरूको बहुमत हमेसा क्रान्तिकारी कार्यदिशाको पक्षमा उभिएको थियो । दक्षिणपन्थी नीति र नेतृत्वका विरुद्ध कतिपय स्थानीय पार्टी कमिटीहरूले विद्रोहसमेत गरेका थिए । यसरी पार्टीको नेतृत्वमा दक्षिणपन्थ हाबी भएको, पार्टी महासचिवको राजासँग गुप्त साँठगाँठसमेत रहेको र प्रजातान्त्रिक आन्दोलन शिथिल हुँदै गएको समेत मौका छोपेर २०१७ सालमा राजाद्वारा चालिएको प्रतिगामी कदम सफल हुन सक्यो । यसरी निरङ्कुश राजतन्त्रलाई बलियो बनाउने काममा नेपाली काँग्रेसको सुधारवाद सम्झौतावादले मात्र होइन, स्वयं कम्युनिस्ट पार्टीको नेतृत्व गुटमा रहेको दक्षिणपन्थी अवसरवाद र आत्मसमर्पणवादले पनि सहयोग पुर्याएको छ । तेस्रो पार्टी महाधिवेशनले पनि पार्टीलाई त्यो गल्तीबाट आधारभूत रूपमा मुक्त पार्न सकेन । त्यसले आत्मसमर्पणवादको निन्दा गरे पनि दक्षिणपन्थलाई जारी नै एकतासमेत भङ्ग गर्यो र कम्युनिस्ट आन्दोलन छिन्नभिन्न भयो ।
२०२५ सालमा पुष्पलालद्वारा पुनः गठित समूहले राजतन्त्रको अन्त्य गर्ने र नयाँ जनवाद स्थापित गर्ने क्रान्तिकारी कार्यदिशाको पुनः स्थापना गर्ने महत्त्वपूर्ण प्रयत्न गरेको भए पनि त्यो समूहका सङ्गठन, सङ्घर्ष र संयुक्त मोर्चासम्बन्धी गलत कार्यनीतिहरू र त्यही समूह भित्रको दक्षिणपन्थी अवसरवादले गर्दा सफल हुन सकेन ।
अर्कोतिर ठिक त्यहीबेला राजतन्त्रको ठाउँमा नेपाली काङ्ग्रेस । भारतीय विस्तारवाद राजतन्त्र नेपाली काङ्ग्रेस र भारतीय विस्तारवाद सबै समान रूपमा मुख्य शत्रु हुन् भन्ने मोहनविक्रम सिंहद्वारा नेतृत्व गरेको पूर्वकोशी समूह र राजतन्त्र नेपाली काङ्ग्रेस र भारतीय विस्तारवाद सबै समान रूपमा मुख्य शत्रु हुन्न भन्ने मोहनविक्रम सिंहद्वारा नेतृत्व गरिएको समूहका विचार र क्रियाकलापहरूले पनि प्रजातान्त्रिक आन्दोलनको विकास र क्रान्तिकारी कार्यदिशाको पुनः स्थापनामा बाधा पुर्यायो । हाम्रो पार्टी नेकपा (माले) को स्थापना भएपछि कतिपय सवालमा पार्टीभित्र उग्रवामपन्थी सङ्कीर्णतावाद रहनुका बाबजुद आधारभूत रूपमा क्रान्तिकारी कार्यदिशा पुनः स्थापना हुँदै गएको छ ।
हाम्रो पार्टीभित्र पनि यो कार्यदिशा आफैँ र सहज ढङ्गले होइन, उग्रवामपन्थी र दक्षिणपन्थी विचार प्रवृत्तिहरूका विरुद्ध तथा गलत कार्यदिशाका विरुद्ध विचारधारात्मक सङ्घर्ष र निरङ्कुश राजतन्त्र विरोधी जनवादी सङ्घर्षकै क्रममा स्थापित र विकसित हुँदै गएको छ । यद्यपि अहिले पनि देशको सिङ्गो कम्यु्निस्ट आन्दोलनभित्र भारतीय विस्तारवाद नै आजको प्रमुख शत्रु हो भन्ने शम्भुराम प्रवृत्ति र त्यस्तै विचारलाई सहयोग पुर्याउने अन्य कतिपय समूहहरूका क्रियाकलाप समेत पनि वर्तमान स्थितिमा सही कार्यदिशा स्थापित हुन बाधा दिइरहेकै छन् ।
आज क्रान्तिकारी शक्ति र कार्यदिशाका विरुद्ध यथास्थितिवादीहरूको हिंसा र षड्यन्त्र तीव्र भएको छ । सुधारवादी, दक्षिणपन्थी अवसरवादी तथा आत्मसमर्पणवादी तत्त्वहरूद्वारा त्यसका विरुद्ध जनतामा भ्रम र अन्योल सिर्जना गर्ने प्रयत्न लगातार बढिरहेको छ । यस्तो बेलामा क्रान्तिकारी शक्तिले क्रान्तिकारी कार्यदिशाको महत्त्वलाई बुझ्नु र त्यसको रक्षा तथा विकास गर्न प्रभावकारी र दृढ भूमिका खेल्न नसक्ने हो भने हाम्रो आन्दोलनले फेरि दिसाविहीन हुन सक्नेछ ।
निरङ्कुश राजतन्त्रले कायम गरेको श्वेत आतङ्क र हिंसात्मक दमनका बाबजुद कम्युनिष्ट पार्टी र अरू क्रान्तिकारी जनसङ्गठनहरू क्रान्तिकारी कार्यदिशाको आधारमा सङ्गठित भएका हुनाले नै आज गुप्त वा खुला ढङ्गले आफ्ना गतिविधिलाई बढाउँदै विकसित हुदैछन् । अर्कोतिर दक्षिणपन्थी, सुधारवादी कार्यदिशा लिनेहरू जनताबाट अलग्गिँदै छन् र आत्मसमर्पण, विसर्जन तथा बिलोपनको खतरा झेल्दै छन् । यसले पनि कस्तो कार्यदिशा लिँदा प्रजातान्त्रिक आन्दोलनलाई ठिक बाटोमा अघि बढाउन सकिन्छ भन्ने कुर बुझ्नु मद्दत गर्दछ ।
दुई कार्यदिशाको विषयजस्तै क्रान्तिमा नेतृत्वको विषय पनि त्यत्तिकै गम्भीर सवाल हो । तर नेपालको कम्युनिष्ट आन्दोलनमा यसबारे अपेक्षित गम्भीरताका साथ ध्यान दिएको पाइँदैन । निरङ्कुश राजतन्त्र विरोधी वर्तमान जनवादी क्रान्तिमा सर्वहारा वर्गको राजनीतिक पार्टीले नेतृत्वको क्षेत्रमा कोसँग प्रतिस्पर्धा गर्नुपर्छ र कसलाई पराजित गर्नुपर्छ ? ध्यान दिनुपर्ने प्रश्न यही हो । राणातन्त्र विरोधी आन्दोलनमा नेतृत्व गरेको, पहिलो आमनिर्वाचनमा ठुलो बहुमत ल्याएर जितेका र अहिलेसम्म पनि यथास्थितिवाद विरोधी राजनीतिक शक्तिहरूमा एउटा खास हैसियत राखिरहेको हुनाले प्रजातान्त्रिक आन्दोलन नेतृत्वका निम्ति कम्युनिष्ट पार्टीसँग प्रतिद्वन्द्विता गर्ने राजनीतिक शक्ति नेपाली काङ्ग्रेस नै हो । तर यसलाई कम्युनिष्ट आन्दोलनमा ठिक ढङ्गले ग्रहण गरिएको छैन । केही कम्युनिष्टहरू नेपाली काङ्ग्रेसलाई वर्गीय र राजनीतिक दुवै हिसाबले शत्रु शक्ति हो भन्ने सैद्धान्तिक घोषण गरेर ढुक्क पर्छन् र नेतृत्वको निम्ति कम्युनिष्ट पार्टीको कुनै प्रतिद्वन्द्वी नभएको ठान्छन् । यस्तो दृष्टिकोणले मुख्य शत्रुविरुद्ध यथासम्भव बढी राजनीतिक मित्रहरू खोज्ने लेनिनवादी कार्यनीतिमा बाधा पुर्याएको छ । अर्कोतिर केही कम्युनिष्टहरू त्यसलाई वर्गीय र राजनीतिक दुवै हिसाबले मित्र शक्ति हो भन्ने घोषणा गर्छन् र त्यसको सङ्ख्या, शक्ति र प्रभावको समेत अति मूल्याङ्कन गरेर काङ्ग्रेसलाई नेतृत्व सुम्पिन तयार हुन्छन् ।
यस्ता दृष्टिकोणहरू जनवादी क्रान्तिमा सर्वहारा वर्गको नेतृत्वको विषयमा बेवास्ता र उपेक्षा भावका परिणाम हुन् । कम्युनिष्ट आन्दोलनभित्र रहेको यो कमजोरी अहिले पनि जनताको एउटा महत्त्वपूर्ण भागलाई नेपाली काङ्ग्रेसले नै वास्तविक प्रजातन्त्र ल्याउने आन्दोलनमा नेतृत्व गरिरहेको छ र गर्न सक्छ भन्ने भ्रम पालिराख्न मद्दत पुर्याएको छ ।
कुनै पनि राजनीतिक शक्तिले जनताको वास्तविक हित गर्छ कि गर्दैन, त्यसले क्रान्तिको नेतृत्व गर्न सक्छ कि सक्दैन ? भन्ने कुरा त्यसले लिएका नीतिहरू र उसले गरेका व्यवहारहरूले उत्पादक शक्तिको विकास गर्न मद्दत गर्छन् कि गर्दैनन् ? कति मद्दत गर्छन् वा झन् बाधा पुर्याउँछन् ? अथवा पूर्ण रूपमा मुक्त नै पो बनाउँछन् कि ? भन्ने कुरा नै त्यसको निक्र्याेल गर्ने निर्णायक तत्त्व हो ।
नेपाली काङ्ग्रेसले लिएका कार्यक्रम, कार्यदिशा, नीतिहरू र आज सम्मका व्यवहारबाट त्यसले उत्पादक शक्तिलाई मुक्त पार्दैन र क्रान्तिको नेतृत्व गर्न सक्दैन भन्ने कुरा सैद्धान्तिक तथा व्यवहारिक दुवै पक्षबाट प्रकट भइसकेको छ र त्यसरी नै कम्युनिष्ट पार्टीले मात्र नेतृत्व गर्न सक्छ भन्ने कुरा पनि घटनाक्रमले पुष्टि गर्दै ल्याएको छ । सर्वहारा वर्गको नेतृत्वविना जनवादी क्रान्ति विजयी हुन सक्दैन भन्ने कुराले नेतृत्वको सवाललाई क्रान्तिको विजय वा पराजयको सवालसँग प्रत्यक्ष रूपमा गाँसेको छ भन्ने कुरा प्रष्ट हुन्छ ।
निरङ्कुश राजतन्त्रले जनताको सबै मौलिक राजनीतिक अधिकारहरू खोसेको छ र जनतालाई कुनै पनि आधारभूत अधिकार दिने पक्षमा छैन । अर्कोतिर त्यसले साम्राज्यवादसँग गठबन्धन गरी राष्ट्रलाई अर्धपराधीन बनाएको छ र त्यसले समेत समर्थन सहयोग लिइए आफ्नो स्वेच्छाचारी शासन टिकाएको छ ।
यस्तो स्थितिलाई समाप्त पार्न र जनता र राष्ट्रलाई मुक्त बनाउन एक्लै हाम्रो क्रान्तिकारी शक्ति कमजोर छ । यसले हामीलाई आन्दोलनको पक्षमा सम्भव भएसम्म अधिकतम रूपमा बढी मित्रहरू खोज्नु अनिवार्य बनाएको छ । ……
(मदन भण्डारी सङ्कलित रचनाहरू, भाग—२)
प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार १० : ०३ बजे
प्रतिक्रिया