चितवन । गैंडा गणना होस् वा बाघ सर्वेक्षणमा । कौशिला मोक्तान अग्रसर भएर लाग्ने गर्नुहुन्छ । उहाँ चितवन राष्ट्रिय निकुञ्जजस्तो घना जंगलभित्र वन्यजन्तुको गणनामा खटिँदै आउनुभएको छ ।
वन्यजन्तुको बासस्थानमा पुगेर तिनको गणना गर्नु आफैंमा जोखिमपूर्ण काम हो । तर यस्तो जोखिमपूर्ण कामबाट उहाँ कहिल्यै पछि हट्नुहुन्न । गत चैतमा गैँडा गणना गर्नुभएकी मोक्तान सोमबारदेखि बाघ सर्वेक्षणमा खटिँदै हुनुहुन्छ ।
राष्ट्रिय बाघ सर्वेक्षण–२०२२ आइतबारदेखि सुरु भएको हो । आइतबार वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले औपचारिक रुपमा बाघ सर्वेक्षणको उद्घाटन गर्नुभयो । निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर गर्ने बाघ सर्वेक्षणका लागि तीन वटा कम्प्लेक्स बनाइएको छ ।
नेपालमा चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटामा लोपोन्मूख सूचीमा सूचीकृत पाटेबाघ पाइन्छ । चितवन–पर्सा कम्प्लेक्स, बाँके बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा–लालझाडी क्षेत्र गरी तीन वटा कम्प्लेक्स छन् ।
चितवन–पर्सा कम्प्लेक्समा आइतबारदेखि बाघ सर्वेक्षण सुरु भएपनि मोक्तान सोमबारबाट फिल्डमा जाँदै हुनुहुन्छ । चितवन राष्ट्रिय निकुञ्जको गेम स्काउटमा कार्यरत मोक्तान निकुञ्जको आन्तरिक क्रियाकलापका रुपमा पनि बाघको अवस्थाको बारेमा सर्वेक्षण भइरहने बताउँनुहुन्छ ।
सन् २०१८ मा भएको बाघ सर्वेक्षणमा पनि उहाँले ‘पार्ट टाइम’ सर्वेक्षण गर्नुभएको थियो । अहिले उहाँ पूरै दिन बाघ सर्वेक्षण गर्दै हुनुहुन्छ । पूरै दिन अर्थात् एउटा क्याम्पमा २० दिन बसेर उहाँले बाघको सर्वेक्षण गर्दै हुनुहुन्छ । तीन वटा क्याम्पमा बसेर सर्वेक्षण गर्नुपर्ने उहाँको जिम्मेवारी छ ।
चितवन–पर्सा कम्प्लेक्सलाई तीन वटा, बाँके बर्दियालाई चार वटा र शुक्लाफाँटा–लालझाडीलाई एक वटा ब्लकका विभाजन गरिएको छ । ब्लकलाई पनि दुई किमी लम्बाई र दुई किमी चौडाई भएका ग्रीडमा विभाजन गरिएको छ । तीन कम्प्लेक्समा क्रमश ८९५, ८१४ र २६० वटा ग्रीड रहेका छन् ।
चितवन–पर्सा कम्प्लेक्सको पहिलो, दोस्रो र तेस्रो ब्लकमा क्रमश २८७, ३१०, २९८ वटा ग्रीड रहेका छन् । प्रत्येक ग्रीड भित्रमा बाघले प्रयोग गर्ने बाटो र क्षेत्र हेरेर एक जोडी स्वचालित क्यामरा जडान गरिने छ । चितवन–पर्सा कम्प्लेक्समा १०६ जना प्राविधिक खटिएका छन् ।
कौशिला चितवन निकुञ्जमा नौ वर्षदेखि कार्यरत हुनुहुन्छ । उहाँको पहिलो क्याम्प नवलपरासीअन्तर्गत पर्ने थुन्सिमा परेको छ । क्याम्पमा उहाँसहित सात जना रहनेछन् ।
“हाम्रो मुख्य भूमिका क्यामरा ट्रयापिङ हो । हिँडेरै ठाउँठाउँमा पुगेर क्यामरा जडान गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ, “क्यामराको अनुगमनमा जाँदा दिनमै ४० किलोमिटर पनि हिँड्न पर्ने हुन सक्छ ।”
एउटा क्याम्पले २६ जोडी क्यामराको नियमित अनुगमन गर्नुपर्ने उहाँ बताउनुहुन्छ । जिपिएसका माध्यमबाट सर्वेक्षकले क्यामरा जडान गरेका हुन्छन् । क्यामराको व्याट्री र मेमोरि कार्डको अवस्था हेर्न जाँदा सर्वेक्षकले जिपिएसकै माध्यमबाट क्यामरा राखेको स्थानको पहिचान गर्नुपर्छ ।
एउटा ग्रीडमा कम्तिमा १५ दिनसम्म क्यामरा राख्नुपर्छ । त्यसपछि सर्वेक्षक अर्को क्याम्पमा जानेछन् । कौशिलाको दोस्रो क्याम्प अमुवा पोष्ट नजिक छ । तेस्रो क्याम्प पर्साको भाटामा परेको उहाँले बताउनुभयो ।
“एउटा क्याम्पबाट क्यामरा संकलन गरेर उठ्न २० दिन जति लाग्छ । यस हिसाबले तीन वटा क्याम्पमा हामीले ६० दिन बिताउँछौँ,” उहाँले भन्नुभयो । सर्वेक्षण गर्दा ठाउँ अनुसार निकुञ्जको कोर इलाकादेखि सामुदायिक वनका क्षेत्रसम्ममा क्याम्प बनाएर बस्नुपर्ने उहाँले बताउनुभयो ।
“हाम्रो घर समुदाय भनेजस्तै जनावरको पनि जंगल घर नै हो । त्यो उनीहरुको बस्ती हो,” उहाँ भन्नुहुन्छ, “वन्यजन्तुको घरमा जाँदा चुनौति त भइहाल्छ । तर पनि यो ठूलो अवसर हो ।” सन् २०१८ मा गरिएको सर्वेक्षण अनुसार नेपालमा २३५ वटा पाटेबाघ छन् । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ९३ वटा छन् ।
चितवन निकुञ्जका खेल स्काउट कृष्ण पौडेलले पहिलो पटक बाघ सर्वेक्षण गर्दैछन् । निकुञ्जमा उहाँले जागिर गर्न थालेको चार वर्ष मात्रै भएको छ । “पहिलो अनुभव हो, एकदम उत्सुकता लागेको छ,” उहाँले भन्नुभयो ।
उहाँले पहिलो पटक तीन वटा क्याम्पमा बसेर बाघको सर्वेक्षण गर्ने छन् । बाघ प्राय गरी रातको समयमा एक ठाउँबाट अर्को ठाउँमा ओहोरदोहोर गर्ने गर्छ । पहिलो क्याम्प टाइगर टप्समा रहेको छ । त्यहाँ उनको टिमले कम्तिमा १५ दिन बिताउने छ ।
ठाउँ–ठाउँमा जडान गरिएका क्यामरा संकलन गरी क्याम्प सार्न थप पाँच दिन लाग्छ सक्छ । त्यसपछि उहाँको अर्को क्याम्प बोटे सिमरामा पर्छ । तेस्रो क्याम्प अमलेखगन्जमा परेको छ ।
क्याम्पमा बस्ने सात तीमध्ये एक जनाले खाना पकाउने काम गर्छन् भने बाँकी सर्वेक्षकले क्यामरा जडान र त्यसको नियमित अनुगमन गर्नुपर्छ ।
‘क्यामरा जडान गरिसकेपछि कम्तिमा १५ रात राख्नुपर्छ । त्यसपछि त्यसलाई सार्ने हो । “त्यसो हुनाले एउटा क्याम्पसमा हामीले २० दिनसम्म बिताउन सक्छौँ,” कौशिलाले थप्नुभयो । खानेकुराको बन्दोबस्त निकुञ्जले नै व्यवस्था गरिदिएको छ ।
एउटा क्याम्पमा बस्दा खानुपर्ने खानेकुरा र भाँडाकुडाको व्यवस्था निकुञ्जले गरिदिन्छ । अर्को क्याम्पमा सर्दा थप खानेकुरा लिएर जानुपर्ने उहाँले भन्नुभयो । बिहान ८ देखि ९ बजेसम्म खाना खाइसकेर क्यामरा जडान गर्नुपर्ने स्थानमा जाने उहाँले बताउनुभयो ।
“हामीलाई जीपीएस प्वाइन्ट दिइएको हुन्छ । त्यो प्वाइन्टमा पुगेर क्यामरा राख्नुपर्छ । बाघको मुभमेन्ट भएको स्थानमा राख्ने हो । त्यसका लागि हामी दिनमा २० देखि २५ किमी हिँड्नुपर्छ,” उहाँले भन्नुभयो ।
क्यामरा चार वर्ग किमीको फरकमा राखिन्छ । बाघको दुईतर्फकै पाटाको फोटो खिच्नुपर्ने भएकाले एक ठाउँमा जोडी क्यामरा राखिन्छ ।
सर्वेक्षक क्याम्पमा रातिको समयमा धुनी बालेर बस्छन् । पालो लगाएर कोही सुत्ने र कोहि जागा बस्ने गर्नुपर्छ । सर्वेक्षणमा जानुअघि सर्वेक्षकलाई तीन दिनको व्यवहारिक अभ्यास सिकाइएको थियो ।
बाघ हिँड्ने बाटोबाट तीनदेखि चार मिटर पर दायाँबायाँ बुट्यानमा क्यामरा जडान गरिने छ । स्वचालित क्यामराले बाघ हिँडेको आवाज वा दृश्य परिवर्तनको आधारमा फोटो खिच्छ । एउटै बाघ धेरै पटकसम्म पनि क्यामरामा कैद हुन सक्छन् ।
बाघको पाटा पहिचान गरेर बाघको संख्या यकिन गरिने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य बताउँछन् ।
‘बाघमा फरक(फरक किसिमका पाटा हुन्छन् । बाघलाई चिन्ने उपयुक्त माध्यम नै उसको पाटा हो,ु उनले भने । बाघको शरीरमा पाटा हुने भएकाले त्यसलाई पाटे बाघ पनि भन्ने गरिन्छ ।
प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार ९ : २० बजे
प्रतिक्रिया