बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले हेफर इन्टरनेशनलसँगको सहकार्यमा कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सुरु गरेको छ । गाउँपालिकाका आठवटै वडाका कृषकको हितलाई ध्यानमा राखेर रु तीन करोड ७३ लाख ३३ हजारको लागतमा उक्त परियोजना सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले बताउनुभयो ।
“कृषकको चाहनामा आधारित उद्यम सञ्चालनका लागि हामीले कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सञ्चालन गर्न लागेका हौँ”, उहाँले भन्नुभयो, “कृषकलाई कृषि र पशुपालनका क्षेत्रमा सङ्गठित गर्दै उत्पादन बढाउनका लागि यो परियोजना धेरै उपयोगी हुने अपेक्षा गरेका छौँ ।”कृषकले कृषि र पशुपालनका क्षेत्रमा आफूले चाहेको व्यवसाय गर्न पाउने गरी सञ्चालन हुन लागेको तीनवर्षे यो परियोजनाका लागि गाउँपालिकाका अध्यक्ष थापा र हेफरका सहनिर्देशक दुर्गा केसीले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।
यो परियोजनाको व्यवस्थापन भीमापोखरा युवा क्लब ९विवाइसी०ले गर्ने भएको छ परियोजनाका लागि वडास्तरमा कृषि समूह गठन गरी उद्यमीको प्रवद्र्धन, उद्यमीले उत्पादन गरेका उत्पादनको बजारीकरण गरिने विवाइसीका कार्यक्रम संयोजक चुडामणि उपाध्यायले जानकारी दिनुभयो ।
परियोजनाका लागि गाउँपालिकाले पहिलो वर्ष रु ८० लाख, दोस्रो र तेस्रो वर्ष रु एक÷एक करोड लगानी गर्ने र त्यसको २५ प्रतिशत रकम हेफरले लगानी गर्ने अध्यक्ष थापाले बताउनुभयो । परियोजनाका लागि प्रशासनिक र तालिमका कार्यक्रम सबै हेफरले गर्ने भएको छ ।परियोजनामार्फत उद्यमशीलताको विकास गरी कृषकलाई सहकारीमा आबद्ध गराउँदै उनीहरुद्वारा उत्पादित सामान सङ्कलन र बजारीकरण गर्ने परियोजनाको लक्ष्य छ । हेफरले यसअघि विवाइसीसँगको साझेदारीमा गाउँपालिका– ४ तङ्ग्राममा पशुबस्तुको मूल्य शृङ्खलामा आधारित साना किसानको संस्था सवलीकरण परियोजना परियोजना सञ्चालन गरेको थियो ।
उक्त परियोजनामार्फत सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी संस्था र वसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थाले बाख्रा उत्पादन गर्दै आएका छन् । करिब आठ वर्षदेखि सञ्चालनमा रहेको परियोजनामार्फत दुई सहकारीले बाख्रा बेचेर वार्षिक रु तीन करोडभन्दा बढी आयआर्जन गरेका छन् । कृषकलाई उत्पादनमा केन्द्रित गराउने र उनीहरुबाट उत्पादित वस्तुको सङ्कलन र बजारीकरणका लागि सहकारीलाई परिचालन गरिँदै आइएको छ ।
प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार ३ : ०६ बजे
प्रतिक्रिया