साफ यू–१७ च्याम्पियनसिप आजदेखि

साफ च्याम्पियनसिप : राष्ट्रिय ६ खेलाडी समेटेर यु-१९ महिला फुटबल टोली घोषणा

काठमाडौं । अलिख नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा आयोजना हुने यु–१९ साफ च्याम्पियनसिपको लागि २३ सदस्यीय राष्ट्रिय महिला फुटबल टोलीको घोषणा गरेको छ । 

मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलाउँदै २३ सदस्यीय टोली घोषणा गरेका हुन् । यद्यपि एन्फाले यो नामावली सार्वजनिक गरेको छैन ।

घोषित टोलीमा ६ राष्ट्रिय टोलीका खेलाडी समावेश गरिएको छ । गोलरक्षक अन्जना राना मगर, डिफेण्डरहरु विमला विक, सविता राना मगर, रश्मी कुमारी घिसिङ, प्रीति राई, रजनी थोकर राष्ट्रिय टोलीका सदस्य हुन् । 

६ खेलाडीले गत साउनमा भएको बंगलोदशविरुद्धको खेल र एएफसी महिला एसियन छनोटमा  राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । 

यस्तै डिफेण्डर रोजिना श्रेष्ठ, सुस्मा तामाङ, सलोनी राना मगर, मेनुका आले मगर, सरस्वती हमाल, अमिशा कार्कीले यस अघिको यू–१८साफ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । 

ढाका हुने सिंगल राउन्ड रोविन साफ प्रतियोगिता २५ मंसिरबाट ६ पुससम्म  हुनेछ ।

प्रतियोगिता नेपालसहित आयोजक बंगलादेश, भुटान, श्रीलंका र भारतले सहभागिता जनाउने छन् ।  नेपालले आफ्नो पहिलो खेलमा २५ मंसिरमा आयोजक बंगलादेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ९ : ३२ बजे