समाज रूपान्तरणको चालक शक्तिको रूपमा प्रविधि र डिजिटल साक्षरता 

महामारीले हाम्रो जीवनका विविध आयाममा नयाँ सामान्य (न्यु नर्मल) अवस्था सिर्जना भएको छ । शिक्षण सिकाइ सहजीकरणमा अनलाइन र डिजिटल माध्यमको प्रयोग बढ्दो छ । कोभिड—१९ महामारीले सिर्जना गरेको लकडाउन, निषेधाज्ञाका कारणले गर्दा शिक्षण सिकाइको वैकल्पिक माध्यमका रूपमा अनलाइन तथा भर्चुअल माध्यमबाट शिक्षण सिकाइ सहजीकरण बाध्यात्मक भएको थियो । अल्पकालीन उपायका रूपमा अवलम्बन गरिएको यस्तो शिक्षण पद्धतिलाई अब बिस्तारै आत्मसात् गर्नुपर्ने अवस्था बन्दैछ ।

सूचना, सञ्चार तथा विज्ञान प्रविधिको विकास र विस्तारसँगै हाम्रो जीवनपद्धतिमा बदलाव आएको छ । त्यसैले वर्तमान युगलाई सूचना र प्रविधिको युग भनिन्छ । साक्षरता सम्बन्धी परम्परागत परिभाषा पनि बदलिएको छ । सामान्य लेखपढ र हर—हिसाब गर्न जान्नु नै साक्षर हुनु हो भन्ने परम्परागत मान्यता फेरिएको छ । डिजिटल साक्षरताको महत्त्व बढेर गएको छ । 

आधुनिक डिजिटल प्रविधिको प्रयोगले सामाजिक जनजीवनमा व्यापक परिवर्तन ल्याएको छ । तर, गत दुई वर्षमा गरिएका अभ्यास र गरिएका अनुभव सुखद र सहज रहेनन् । हाम्रो जस्तो सामाजिक, सांस्कृतिक, भौगोलिक र आर्थिक परिवेश भएका विश्वका धेरै देशमा थुप्रै बालबालिका शिक्षाबाट वञ्चित हुनुपर्‍यो । सार्वजनिक शिक्षाको दुरावस्था भएको कुरा विभिन्न सञ्चार माध्यम र अध्ययन—अनुसन्धानले उजागर गरेका छन् ।

शिक्षा प्रणालीमा यति धेरै चुनौती यसअघि विश्व समुदायले कहिल्यै भोग्नु परेको थिएन । सन् २०२० मा युनेस्कोले सार्वजनिक गरेको प्रतिवेदनअनुसार शिक्षण संस्थाहरू बन्द हुँदा विश्वभरिबाट करिब १.५ अर्ब विद्यार्थी र युवाहरू प्रत्यक्ष—अप्रत्यक्ष रूपमा प्रभावित भए । वैकल्पिक माध्यमबाट हुने सिकाइ सहजीकरणबाट दुरदराजका विपन्न वर्गका विद्यार्थी अझ धेरै समस्यामा परे । यसै पनि हाम्रो शिक्षाको पहुँच असमान थियो । दुई खालको शिक्षा व्यवस्था थियो । कोभिड—१९ ले गर्दा यस्तो असमानता झन् फराकिलो भएको छ ।

संविधान प्रदत्त अधिकार हनन हुन पुगेको छ । भाइरसका नयाँ—नयाँ भेरियण्ट देखापर्दैछन् । महामारी तत्काल साम्य हुने अवस्था देखिन्न । फेरि पनि लकडाउन र निषेधाज्ञाका शृङ्खला विश्वभर देखिँदै छन् । भारतसँग खुल्ला सिमाना भएको हाम्रो देश पनि महामारीको अर्को लहरको उच्च जोखिममा पर्छ ।

भर्खरै मात्र विद्यालयहरू खुलेका छन् र निकट भविष्यमा आउन सक्ने विषम परिस्थितिको आँकलन गरेर त्यसको सामना गर्ने तयारी सरोकारवाला कसैमा पनि देखिन्न । हामी यथास्थितिमा नै रहन खोज्छौँ, त्यसैले परिवर्तनलाई आत्मसात् गर्ने कुरामा हामी सधैँ अनिच्छुक देखिएका छौँ । 

प्रविधि, डिजिटल सीप र ज्ञान जान्न र सिक्नै पर्ने बाध्यता भएको छ यतिबेला । यद्यपि कोभिड—१९ आउनुभन्दा अघि नै २१औँ शताब्दी सूचना, सञ्चार र प्रविधिको संसार हुने अड्कल गरिएको थियो । नेपालमा पनि सूचना र सञ्चारको क्षेत्रमा उल्लेख्य प्रगति त भएको छ, तर यी दुईलाई चलाउने प्रविधि विकास, पहुँच र सर्वसुलभ भने अझै हुन सकेको छैन । 

के हो डिजिटल साक्षरता ?
इन्टरनेट र कम्प्युटरको आधारभूत प्रयोग गर्न जान्नु मात्रै डिजिटल साक्षरता होइन । आवश्यकताका आधारमा चाहिने सूचना प्राप्त गरी ती सूचनाहरूलाई व्यक्ति र समाजको हितमा प्रयोग गर्न सक्ने सीप नै डिजिटल साक्षरता हो । डिजिटल साक्षरता जीवनलाई सहज बनाउन प्रविधिबारे जान्ने, बुझ्ने र यसको प्रयोग गर्न सक्ने क्षमता हो ।

यसभित्र सूचना तथा सञ्चार प्रविधिसम्बन्धी प्राविधिक ज्ञान र सीप दुवै पर्छन् । सूचना प्रविधिको प्रयोग गर्ने, यसका सीमा, जोखिम आदि बुझ्ने  र सावधानीसाथ प्रयोग गर्ने क्षमतालाई डिजिटल साक्षरता भनिन्छ । विभिन्न डिजिटल प्लेटफर्मलाई ठिक तरिकाले प्रयोग गर्न डिजिटल साक्षरता आवश्यक हुन्छ ।

यसलाई आजभोलि जीवनोपयोगी सीपको रूपमा लिने गरिन्छ र पाठ्यक्रममा समेत डिजिटल साक्षरता पाठ समावेश गरिएको छ । डिजिटल साक्षरताभित्र खास गरेर तीन पक्ष पर्दछन् –

पहिलो हो— डिजिटल सामाग्री प्राप्त गरेर उपयोग गर्ने । 
दोस्रो हो– डिजिटल सामाग्री सिर्जना गर्ने र तेस्रो हो –डिजिटल सामाग्री सञ्चार वा वितरण गर्ने ।

अबका दिनमा प्रविधि परिवर्तन सबै खाले उद्योग र समाज रूपान्तरणको चालक शक्ति हुनेछ भन्ने प्रक्षेपण गरेका छन् । विश्व आर्थिक मञ्चका संस्थापक एवम् कार्यकारी अध्यक्ष क्लाउस चबले यस्तो प्रक्षेपण गरेका हुन् । चौथो औद्योगिक क्रान्तिको अवधारणा सार्वजनिक गर्दै उनी भन्छन्, ‘२१ औँ शताब्दीको औद्योगिक क्रान्ति प्रविधिले गर्नेछ ।’ जसरी पहिलो औद्योगिक क्रान्ति वाष्प इञ्जिन, रेलमार्गको विस्तारले भयो । दोस्रो–बृहत् उत्पादन र विद्युतीकरणबाट भयो । तेस्रो विद्युतीय सूचना प्रविधिको प्रयोग र कम्प्युटर, इन्टरनेटको आविष्कारबाट भयो । अब चौथो औद्योगिक क्रान्ति, जुन निकट भविष्यमा हामी अनुभव गर्दै छौँ, यसले हाम्रो जीवनमा कहिल्यै अनुभव नगरिएको गति, मात्रा र बलमा परिवर्तन हुनेछ भन्ने चबको प्रक्षेपण छ । यसले हाम्रो मानव अनुभवको सारलाई प्रभावित गर्नेछ । सूक्ष्म एवं उन्नत कम्प्युटरको विनिर्माणमा प्रयोग हुने सूक्ष्म प्रौद्योगिकी (न्यानो टेक्नोलोजी), ब्रेन रिसर्च, थ्री डी पेण्टिङ्ग, मोबाइल नेटवर्क र कम्प्युटिङ्गले अलि भिन्नै खाले वास्तविकता सिर्जना गर्नेछ, जुन पहिले हाम्रो कल्पना बाहिरका कुरा थिए । 

हाम्रो जीवन र व्यवहारलाई पहुँचयोग्य, सुलभ र अनुकूल प्रविधिले परिवर्तन गर्दै गइरहेको हामी देखिरहेका छौँ, अनुभव गरिरहेका छौँ । विकसित भइरहेका नयाँ—नयाँ प्रविधिले वर्तमान÷समकालीन समयमा मानव विकास प्रभावित भइरहेको छ । सामाजिक मान्यता, राष्ट्रिय राजनीतिक धारणादेखि आर्थिक विकास र अन्तर्राष्ट्रिय सम्बन्धको विकास क्रममा प्रविधिले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । विश्वव्यापी रूपमा विस्तार भइरहेको समकालीन ‘प्रविधि संस्कृति’लाई ‘सामाजिक–प्राविधिक परिकल्पना’को रूपमा लिन सकिन्छ । क्लाउस चबले आप्mनो पुस्तक –‘दि फोर्थ ईण्ड्रष्ट्रियल रिभोलुसन’मा आर्थिक इतिहास र राजनीतिक परिवर्तनसँग जोडेर हेर्दा, खास गरी सूचना, सञ्चार र प्रविधि (आइसिटी)ले बजार, सूचना प्रवाह, रोजगार टे«ण्ड, वातावरणीय प्रभाव पर्नेछ र विश्व शक्ति सन्तुलनमा नै बदलाव आउनेछ भन्ने दाबी गरेका छन् । 

डिजिटल साक्षरता र अनलाइन पठन—पाठन
विश्वविद्यालय तहमा पढाउने एक जना प्राध्यापक साथीले अनौपचारिक गफगाफको बेलामा एक दिन जुम मिटिङमा भन्दै हुनुहुन्थ्यो— अनलाइन भर्चुअल माध्यमबाट (माइक्रोसफ्ट टिम्स) मार्फत विद्यार्थीलाई शिक्षण सिकाइमा सहजीकरण गर्दा एक जना पाका प्राध्यापकले विद्यार्थीहरूलाई नोट लेखाइरहनु भएको थियो । अर्का प्राध्यापकले मोबाइलले किताबको फोटो खिचेर त्यसैलाई स्लाइडमा देखाएर पढाएको पनि भेटियो । भर्चुअल अनलाइन कक्षामा पनि कक्षा कोठाको नियमित पठन—पाठनमा जस्तै शिक्षकले भट्याउने अनि विद्यार्थीहरूले  चुपचाप सुनेर नोट लेख्ने गरेको पाइयो । वर्षौँको शिक्षण अनुभव सँगालेका यस्ता थुप्रै शिक्षाकर्मीहरू अहिले अप्ठ्यारोमा पर्नुभएको छ । कतिपयमा कम्प्युटर, ल्यापटपमा सामान्य टाइप गर्ने सीप समेत छैन । अझ विशुद्ध नेपाली माध्यममा पढाउनेहरूले निकै असजिलो अनुभव गरेको कुरा सुनाउनुभएको थियो । धेरैले पावर प्वाइन्ट स्लाइड बनाउने, इन्टरनेटबाट सामाग्री खोज्ने र आकर्षक तरिकाले डिजिटल यन्त्रको प्रयोग गरेर पठन—पाठनलाई रोचक बनाउन सकिरहनुभएको छैन । यसरी डिजिटल साक्षरतामा बौद्धिक वर्ग समेत पछाडि देखिनु विडम्बना हो । 

पक्कै पनि परम्परागत रूपमा चक÷डस्टर वा मार्कर÷बोर्ड प्रयोग गरेर लेक्चर विधिबाट शिक्षण गरिरहेका धेरैलाई अहिले अनलाइन शिक्षण फलामको च्यूरा भएको छ । डिजिटल साक्षरता सीप नहुँदा शिक्षण सिकाइ सहजीकरण बोझिलो हुन पुगेको छ । सहरका धेरैजसो निजी शिक्षण संस्थाका शिक्षक÷प्राध्यापकहरू त जसोतसो प्रविधिमा अभ्यस्त हुन सिक्दै छन्, तर दुरदराजका ग्रामीण इलाकामा बस्ने विद्यार्थी र शिक्षकहरूसम्म प्रविधिको पहुँच पुग्न सकिरहेको छैन । पुगेका ठाउँमा पनि सुलभ छैन । सामाजिक र संवेगात्मक रूपमा अनलाइन सामाग्री विकास गर्दै पठन—पाठनलाई प्रभावकारी बनाउने कार्य अझैँ चुनौतीपूर्ण छ । 

डिजिटल साक्षरताभित्र खास गरेर निम्न सीपहरू पर्छन्–
१ कुनै दृश्यको प्रयोगबाट वा देखाइएको कुनै दृश्यबाट पढ्न र सूचना प्राप्त गर्न सक्ने क्षमता (यसलाई फोटो भिजुअल साक्षरता भनिन्छ ।)

२ पुनः उत्पादन साक्षरता– डिजिटल प्रविधिको प्रयोग गरी आप्mनो लागी नयाँ कामको सिर्जना गर्नु वा  दुई वा दुईभन्दा बढी डिजिटल कार्यहरू जोडेर नयाँ मोडेल तयार गर्ने कार्य अर्थात् प्रविधिको प्रयोग गरी नयाँ एप्स तयार गर्नु ।

३ सूचना साक्षरता– विभिन्न वेबसाइटबाट आवश्यक सूचना खोज्नु, सूचनाको मूल्याङ्कन गर्नेजस्ता क्षमता विकास गर्नु ।

४.सामाजिक र संवेगात्मक रूपमा अनलाइन सामाग्री विकास गर्नु ।

भनिन्छ, आवश्यकता नै आविष्कारको जननी हो । चुनौती सँगसँगै अवसरहरूले पनि पछ्याइरहेका हुन्छन् । डिजिटल साक्षरता सम्बन्धी उपर्युक्त सीपहरू सिकौँ, बुझौँ र डिजिटल्ली साक्षर बनौँ । समयको पदचाप पछ्याउन सक्ने मात्र प्रतिस्पर्धामा खरो उत्रिन सक्दछन् ।

(लेखक लुम्बिनी वाणिज्य क्याम्पस, बुटवलमा अध्यापनरत हुनुहुन्छ । )

 

 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ८ : ५९ बजे