यो गजानन्दको कथा हो । गजानन्दको परिवार गाउँभरकै सबैभन्दा ठुलो थियो । गजानन्द आफू पनि खाइलाग्दा थिए । परिवार र खेतीपातीले धनी गजानन्द नगद नारायणका हिसाबले गरिब नै थिए भन्नुपर्छ । ऐँचो पैँचो र वस्तु नै साटासाट गरेर काम चलाइन्थ्यो, नगद कहाँबाट आओस् त ! जमाना पुरानै थियो ।
यही नगद नारायण आर्जन गर्न गजानन्द लाहुरे हुन भारत प्रवासतिर गएका थिए । गजानन्दलाई जीवनयापनभन्दा नगद नारायणको महत्त्व थियो । उनी भारत तिरै जागिर गर्थे । देशमा पञ्चायती व्यवस्था थियो ! गजानन्द अलि टाठै थिए । उनीमा राजनीतिक चेत खुलिसकेको थियो । उनी लाहुर छ । उनी लाहुर छँदै राजनीतिमा घुसिसकेका थिए । भित्रभित्रै नेताहरूसँग सम्पर्क बढाएर नेकपा मालेमा संलग्न भइसकेका थिए । यसैको निर्देशनमा देशको पञ्चायत व्यवस्थाको विरुद्ध आन्दोलनको आगो सल्काउँदै थिए । उनी अरूभन्दा सक्रिय थिए । गजानन्दमा प्रगतिशील विचार र दृष्टिकोण विकास भइरहेको थियो । समय मिलाएर बीच–बीचमा स्वदेश छुट्टी आउँथे । उनी परिवारका अन्य सदस्यभन्दा भिन्न थिए ।
परिवार सगोलको थियो । उनी आफ्नी श्रीमतीलाई ‘तिमी’ भन्न चाहन्थे । तर पत्नीलाई ‘तँ’ नै भन्ने सामाजिक प्रचलन थियो । यस प्रचलनले गर्दा उनी आफ्नी श्रीमतीलाई ‘तिमी’ भन्ने साहस उनमा थिएन । त्यो समयमा श्रीमान्ले श्रीमतीलाई, सासू—ससुरा र अमाजुहरूले बुहारीलाई ‘तँ’ नै भन्ने प्रचलन थियो । समाजमा महिलाहरू जसरी अधिकार सम्पन्न हुनुपर्ने हो र आत्मसम्मान पाउनुपर्ने हो नपाएको अवस्था थियो । सिङ्गो समाज जस्तो थियो, गजानन्दको परिवार पनि उस्तै हुनु स्वाभाविक थियो ।
गजानन्द केही समयपछि आफ्नो अंश—वंश लिएर, झिम्टी—झाम्टी बोकेर तराईतिर झरे । आफ्नो प्रारम्भिक बसोबास हतार हतारमा मिलाएर छुट्टी सकिएकाले भारततिर हान्निए । प्रवासमा उनी पार्टीको काममा ज्यादै व्यस्त रहन्थे । घरमा के के पठाइदिउँला भनेर गएका हुन्थे, तर धेरै पटक भुसुक्कै भुलेका हुन्थे । घरबाट एक दिन पत्नीको रजिस्ट्री चिठ्ठी पुग्दा झसङ्गै भए । पैसा पठाउनु थियो तर, कुनै मान्छे भेटिएन । त्यस समयमा पैसा पठाउने अरू माध्यम थिएन । गजानन्दले उच्छार नपाएपछि उनी आफै रेल चढेर घरतिर हान्निए । २४ घण्टाभित्र घर पुगे । घरमा खुसीयाली छायो । त्यतिखेरसम्म पनि गजानन्द पत्नीलाई ‘तँ’ नै भन्थे । ‘तिमी’ भन्ने अभ्यास पनि थिएन । तिमी भन्न कता–कता असहज महसुस गर्थे । तर, ‘तँ’ भनिरहँदा गजानन्दभित्र अपमान गरेको र सम्मान नगरेको महसुस भइरहेको हुन्थ्यो ।
एक दिन उनले हिम्मत गरे । श्रीमती साना छोराछोरी बाहिर पिँढीमा बसेका थिए । बिहानको खाना खाने समय भइसकेको थियो । गजानन्दले पत्नीलाई सोधे ‘आज हाटबजार जानु छ, तिमीलाई केही किन्न छ भने मसँगै हाटबजार हिँड ।’ गजानन्दकी पत्नी आफूलाई श्रीमान्ले ‘तिमी’ भनेको सुनेर मुसुक्क मुस्कुराइन् र लाज मानेर भुतुक्क हुँदै ‘हुन्छ’ भनिन् । गजानन्दका छोराछोरीहरूले आफ्नो आमालाई बाबाले ‘तिमी’ भनेको कहिल्यै सुनेका थिएनन् । उनीहरू पनि एक—अर्काका मुखमा हेर्दै खितित्त हाँसे । तोते बोलीमा भने, ‘बुबाले आमालाई माया गलेल आज त तिमी भन्नभयो ।’ गजानन्दलाई पनि त्यति सहज लागेको थिएन । उनले पनि तिमी भनेर लाजले अन्तै अन्तै हेर्दै थिए ।
तर, छोराछोरीको तोते बोलीले भित्र लुकेका लाजशर्मका कुरा पानीले भरिएको घैँटो माथिबाट खसेर घजाम—घुजुम फुटे जस्तै भयो । हाँसो पूराका पुरै फुट्यो । गजानन्द र उनकी श्रीमती, छोराछोरी छाती दुखिन्जेल अलिबेर हाँसे । अन्तमा निर्धक्कसँग गजानन्दले पत्नीसँग भनी छाडे ‘म अब तिमिलाई तिमी नै भन्ने छु ।’ पत्नी साह्रै खुसी भइन् ।
२०४६ सालमा पञ्चायती व्यवस्था विरुद्ध जनसङ्घर्ष भयो । बहुदल आयो । महिला सङ्गठनहरू सक्रिय भए । उमेरले ६० – ७० पुगेका आमाहरू पनि महिला भेला, जुलुस भन्दै हिँडेको हिँड्यै गर्न थाले । महिला नेतृहरूको भाषण निक्कै मन पर्न थाल्यो ।
महिलाहरूले वास्तवमा सम्मान र अपमान के हो भनी बुझ्न थाले । अधिकारका कुरा बुझाइयो । गजानन्द की श्रीमती पनि महिला सङ्गठनमा अनेक पदमा रही सक्रिय हुँदै गइन् । पुरुषहरूको बोली वचनमा पनि परिवर्तन हुन थाल्यो । २०६२–०६३ को आन्दोलनले महिला अधिकारलाई झनै बलियो पार्यो । २०७२ सालको संविधानले महिला अधिकारको दायरा झनै फराकिलो पार्दै धेरै अधिकारको ग्यारेन्टी गरेको छ । २०४३ तिर पत्नीलाई तिमी भन्न सुरु गरेका गजानन्द तपाई भन्न नसकेकोमा दुःखी छन् । अबको पर्खाइ श्रीमतीलाई तपाईँ भन्ने……!!
(लेखक सामाजिक अभियन्ता हुनुहुन्छ ।)
प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार ११ : ४० बजे
प्रतिक्रिया