साफ यू–१७ च्याम्पियनसिप आजदेखि

थप उपलब्धिका लागि अघि बढौँ !

अहिले संसारभरि अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको कार्यक्रम निकै नै भव्य तथा सभ्य तौरतरिकाबाट मनाइँदै छ । यस अभियानले सम्पूर्ण महिलाहरूमा अधिकार प्राप्तिको सङ्घर्षमा सार्थक सफलता प्राप्त हुने अपेक्षा गर्न सकिन्छ । 

यस अभियानको सफलताले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि ठोस जागरण आउन सक्ने विश्वास बढ्ने छ । महिला आमा हुन्, जसले यो सुन्दर संसार देखाइन्, नारी देवी हुन्, एक अलक जीवन साथी हुन्, जसले निस्वार्थ आफ्नो सन्तान, भक्त, पुरुषलाई सहयोग गरिरहेका हुन्छन् । भनिन्छ, जहाँ नारीको सम्मान गरिन्छ त्यहाँ मात्र भगवानको बास हुन्छ । तर हामी कहाँ औपचारिक कार्यस्थलमा समेत महिलाको सम्मान गर्ने संस्कृति विकसित भइसकेको छैन । अनेकौँ धार्मिक स्थलहरू, तीर्थहरू, धामहरू भएर पनि असल संस्कृति र असल चरित्र विकसित हुन नसक्नुको सम्भावित कारण महिलाको उचित सम्मान नहुनु हो । 

एउटा असल महिलाले संसार बदल्न सक्छिन्, तर उनको त्यस क्षमतालाई अझै पनि विश्वका विभिन्न देशमा प्रतिबन्ध लगाइएको छ ।  जसलाई तोड्ने काम यस पटकको अभियानले गर्न सक्नुपर्दछ । विश्वका हरेक आन्दोलन, क्रान्ति, परिवर्तन असहज परिस्थितिमा महिलाहरूले मुख्य भूमिका निर्वाह गरेका दृष्टान्त अनेक छन् । आजको विश्व सम्भव भएको कुरालाई बेवास्ता नगरी समानान्तर आकाश तथा अवसरको नारालाई व्यवहारमा उतार्नु यो अभियानको मुख्य कार्यदिशा हुनुपर्दछ । दिवसलाई दिवसका रूपमा मात्र होइन, नयाँ योजना बनाउने, कार्यान्वयन गर्ने—गराउने अवसरका रूपमा प्रयोग गर्न विश्वभरका नारीहरूले विशेष ध्यान दिन आवश्यक छ । 

नेपाली महिलाको वर्तमान अवस्था :
​​​​​​​नेपाली समाज आज पनि परम्परागत सोच, प्रणाली, कार्यक्रम तथा विधि प्रक्रियाबाट सञ्चालित भएकै कारणले नेपाली महिलाहरू युग सुहाउँदो अवस्थामा आफ्नो उपस्थिति देखाउन नसेकेको कुरामा आज महिला अधिकारका क्षेत्रमा क्रियाशील सामाजिक सङ्घ संस्थाहरूले निकालेका प्रतिवेदनहरूले बताएका छन् । 

यसै बीचमा नेपाली महिलाको अवस्था सार्क राष्ट्रका महिलाहरूको तुलनामा निकै सुधारात्मक अवस्था तथा व्यवहारिक रूपमा उत्कृष्ट रहेको कुरामा द्विविधा छैन । अहिले चलिरहेको साग गेममा महिला खेलाडीले गरेको प्रदर्शनलाई उदाहरणका रूपमा लिन सकिन्छ ।  

नेपालको हरेक राजनैतिक, सामाजिक, आर्थिक, आन्दोलनमा आ–आफ्नो क्षेत्रबाट सक्रियताका साथ सहभागिता रहने गरेको छ ।  महिलाहरू आन्दोलन तथा अन्य क्षेत्रमा सहयोग, सहकार्य र सङ्घर्ष गरेका छन्, तर त्यो कुरालाई नेपालको प्रशासनिक, राजनैतिक, आर्थिक क्षेत्रका व्यक्ति तथा सङ्घ—संस्थाहरूबाट उचित ध्यान दिन सकेको देखिँदैन । नेपालको जनगणना २०६८ अनुसार नेपाली महिलाको जनंसख्या  ५१.५ प्रतिशत रहेको छ, उनीहरूको साक्षरता प्रतिशत ५६.४ प्रतिशत छ । सम्पत्तिको स्वामित्वका क्षेत्रमा महिलाको नाममा जग्गा—जमिन तथा अन्यमा १९.७१ प्रतिशत रहेको बताइएको छ ।

त्यसैगरी, २५.७३ प्रतिशत महिलाहरू घर—परिवारको मुलीको रूपमा रहेको बताइएको छ । पन्ध्रौँ पञ्चवर्षीय योजनाको  आधार पत्रका अनुसार मातृ मृत्युदर २३८ प्रतिलाख रहेको बताइएको छ, जसले नेपाली महिलाको स्वास्थ्य क्षेत्रमा सुधार हुँदै गएको पुष्टि भएको छ । यो अवस्था आ.व. २०८०÷८१ मा ९९ प्रतिलाखमा झार्ने लक्ष्य राखिएको छ । 

वर्तमान समयमा पनि नेपाली महिलाहरूले २० वर्षभन्दा कमको उमेरमै बच्चा जन्माउनुपर्ने, प्रसव पीडामा अस्पताल पुग्न नपाई मृत्युवरण गर्नुपर्ने, बोक्सीको आरोपमा समाजबाट अपहेलित हुनुपर्ने, छाउपडी जस्तो कुप्रथाबाट मुक्त हुन सकेका छैनन् । प्रेमको बहानामा एसिड प्रहार गरी गरेका उदाहरण हाम्रो समाजमा आज पनि छन् । यस्तो अवस्था महिला सशक्तीकरणका दृष्टिले सकारात्मक मान्न सकिँदैन ।

नेपालको भौगोलिक अवस्थाका आधारमा व्याख्या गर्दा पहाडी क्षेत्रमा महिलाको जनसङ्ख्या बढी देखिन्छ । देशका प्रमुख औद्योगिक, प्रशासनिक, व्यापारिक क्षेत्रका महिलाहरूको बारेमा अध्ययन—अनुसन्धान गर्दा उनीहरूको सामाजिक, आर्थिक, राजनैतिक, मनोवैज्ञानिक, धार्मिक अवस्था सकारात्मक भए तापनि देशका दुर्गम स्थानका महिलाहरूको अवस्था कारुणिक रहेको छ । 

नेपालको विकासमा महिलाहरूलाई सम्मानजनक, न्यायपूर्ण सहभागिता गराएको खण्डमा आर्थिक, सामाजिक, प्रशासनिक, शैक्षिक, व्यावसायिक, व्यापारिक अवस्थामा गुणात्मक परिवर्तन आउनेछ, जसको कारणले नेपाली समुदायले आफूलाई विकसित राष्ट्रका रूपमा परिभाषित गराउन सफल हुनेछ । 

नेपाली समाजमा रहेका महिलाका चुनौतीहरूलाई मध्यनजर गरेर यस क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ—संस्थाहरू तथा नेपाल सरकारको प्रतिवेदनमा उल्लेखित गरिएका प्रमुख चुनौतीहरूलाई निम्नानुसार उल्लेख गरिन्छ : 

१. राजनीतिक कारण:
विद्यमान परिवर्तित सन्दर्भमा नेपाली महिलाहरूलाई विकासको मूल प्रवाह समाहित गर्न दह्रो राजनैतिक इच्छाशक्तिको आवश्यकता पर्दछ । यसले ग्रामीण क्षेत्रमा सबै प्रकारका राजनैतिकमा तहमा ५० प्रतिशत महिला सहभागिता अनिवार्य गर्नु नसक्नु, स्थानीय तहमा हुने हरेक क्रियाकलापमा महिलालाई सहभागी गराउन नसक्नु, राज्यका हरेक क्षेत्रमा महिलालाई जनसङ्ख्याका आधारमा प्रतिनिधित्व नगराइनु, महिलाहरूको अधिकारका क्षेत्रमा पर्याप्त मात्रामा उचित ध्यान नदिइनु आदि महिला सहभागिता तथा सशक्तीकरणका दृष्टिले कमजोर पक्ष हुन् । यसको प्रतिफल पछिल्लो प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचनमा प्रत्यक्ष निर्वाचित महिला सदस्यहरूको सङ्ख्यालाई लिन सकिन्छ ।

२.आर्थिक कारण :
जबसम्म मानिस परनिर्भरतामा जीवन बिताउन बाध्य रहन्छ, तबसम्म त्यसलाई जति धेरै अधिकार प्रदान गरिए तापनि त्यसले त्यो अधिकारलाई स्वतन्त्रतापूर्वक प्रयोग गर्न सक्दैन । नेपालमा जतिसुकै लोकतन्त्र, गणतन्त्र, महिला अधिकारका कुरा गरिए तापनि आर्थिक रूपले श्रीमान्, पिता या छोराको भर पर्नुपर्ने अवस्था छ । आर्थिक तथा राजनीतिक स्वतन्त्रताको अभावमा अन्य समानता र सहभागिताले खासै अर्थ राख्दैन । 

३. सामाजिक कारण:
नेपाली ग्रामीण समाज २१औँ शताब्दीको वैज्ञानिक युगमा समेत अत्यन्तै सङ्कीर्ण, अवैज्ञानिक र पुरातनवादी सोच र विचारबाट ग्रस्त छ । थोरै विश्वविद्यालय र केही सहरी क्षेत्रमा देखिएका सुधारलाई मात्र हेरेर निष्कर्ष निकाल्ने दृष्टिकोणमा परिवर्तन गर्नु आवश्यक छ । हाम्रो सांस्कृतिक परम्पराले महिलाहरूलाई देवीका रूपमा पुज्ने तर व्यवहारिक रूपमा अति नै कठोर व्यवहार गर्ने यथार्थ हामीले भोगिरहेका छौँ । यसले हाम्रो आर्थिक विकासमा प्रत्यक्ष तथा परोक्ष दुवै तरिकाले सिधा असर पारेको छ । नेपालका अधिकांश बस्तीहरूमा आज पनि शिशुको जन्म हुँदा छोरा जन्मिएमा खुसी हुने र छोरी जन्मिएमा आमा र शिशुलाई समेत दुर्व्यवहार गर्ने अवस्था छ । यस्तो निर्दयी व्यवहार दण्डनीय हुन आवश्यक छ । 

४. शैक्षिक कारण: 
सिप र ज्ञान यस्ता पक्षहरू हुन् जसले व्यवहारिक रूपले मानिसलाई सक्षम दरिलो बनाउँछ अर्थात् सशक्तीकरण गर्दछ । माथि उल्लेख समस्या तथा चुनौतीहरूका पछाडि तिनीहरूको चेतनाको स्तर न्यून रहनु हो । वि.स. २०६८ को जनगणना अनुसार ५६.४ प्रतिशत महिलाहरू मात्र साक्षर रहेको अवस्था छ । महिलाहरू पछाडि पर्नुको एउटा मुख्य कारण यो हो । आमाहरूमा रहेको अशिक्षा कारणले सन्तानमा असर पुगेको हुन्छ । जबसम्म महिलालाई उचित व्यवहारिक, व्यावसायिक शिक्षा दिन सकिन्न तबसम्म उनीहरूलाई सबल बन्न सक्दैनन् । महिला सशक्तीकरणका लागि शिक्षामा प्राथमिकताका साथ अगाडि बढाउन आवश्यक छ । 

५. महिला विरुद्धका हिंसा:
विश्वको तथ्याङ्कलाई अध्ययन गर्ने हो भने नेपाल महिला विरुद्ध हुने हिंसाको सन्दर्भमा निकै अगाडि देखिन्छ । त्यसमा पनि ग्रामीण महिलाको सन्दर्भमा यो झन् बढी रहेको पाइन्छ  । राजनैतिक कार्यक्रम, चुनावी घोषणापत्र, सभा, सेमिनारमा महिला हिंसाका बारेमा निकै चर्का छलफल हुने गरेको भए तापनि कतिपय तिनै व्यक्तिबाट श्रीमती, आमा, छोरी, बुहारी  पीडित हुन परेको अवस्था छ । 

नेपाली महिलाहरूको सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक आदिको अवस्थामा सुधार ल्याउन निकै धेरै गर्न बाँकी छ । यद्यपि, पछिल्लो समय नेपाली महिलाहरूको सामाजिक, आर्थिक, शैक्षिक अवस्थामा निकै ठुलो परिवर्तन आएको छ । 

नेपालको संविधान २०७२ जारी भएपछि देशका महत्पूर्ण तीन संवैधानिक निकायको प्रमुख पदमा महिला उपस्थिति रह्यो, वर्तमान सङ्घीय संसद्मा महिलाको उपस्थिति सम्मानजनक छ  । स्थानीय तहको निर्वाचन २०७४ ले नेपाली महिलाहरूको सशक्तीकरणमा एक नयाँ मोडल नै विकास गरेको छ । स्थानीय तहमा ४१ प्रतिशत, प्रदेशमा ३४.५ प्रतिशत तथा संंघीय संसद्मा ३३.५ प्रतिशत महिला सहभागिता हुन रहेको छ । यी उपलब्धि नेपाली महिलाहरूका लागि खुसीको विषय हो । यी उपलब्धि सङ्घर्षद्वारा प्राप्त भएका हुन् । यिनै उपलब्धिको जगमा टेकेर थप उपलब्धिका लागि महिला स्वयं अघि बढ्न आवश्यक छ । 

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ९ : ४२ बजे