जिउँदै छु म अझै, मरेझैँ किन गरूँ ?

गुन्जिन्छ ध्वनि पिल्सिएका शब्दावली बोल्छन्,

चिरेको मनमा तातो सियो रोप्छन्, 

न कर्म न धर्मले न्याय पायो, 

अग्नि साक्षी थियो, न तिम्रो तोडिएको कसमले प्रलय ल्यायो ।

ननिभाइएको दियोले डढेलो निम्त्याउँदा,

जलेर खरानी सपनाहरू भए, 

न अन्त्येष्टिको तिनको खबर आयो, 

न तिम्रा गह भरिएछन्, 

को आफ्नो ? को पराइ ?

सबैका यादले रुझायो । 

 

मेरो शिर उठ्दा उठ्ने तिम्रा ती हात, 

मेरो मौन डामले तिम्रो प्रतिष्ठा जोगायो, नफाले इज्जत ! 

माइतीको स्वर सुन्छु अझै, 

त्यही स्वर मेरो बरबादीको मन्त्र बनायौ, 

यी ओठ थाके बाङ्गिँदा, बङ्ग्याउँदा, 

अब मुस्काउन पनि थकाई लाग्छ,

आँसु त बरु सहजै थिए आजकल,

हर्षमा मन आत्तिन थाल्छ, 

भनूँ ? कसलाई भनूँ ? 

सक्दिनँ नभन् छोरीको जात सहन सिक्नुपर्छ, 

म किन सहूँ ? 

म कसका लागि सहूँ ? 

चेली न त घरकी, न त माइतकी रै‘छ, 

तिमीहरूका खोक्रा प्रतिष्ठाका लागि म आफू किन जलूँ ? 

राख् तेरो इज्जत, राख् तेरा सम्मान, 

जिउँदै छु म अझै मरेझैँ किन गरूँ ? जिउँदै छु म अझै मरेझैँ किन गरूँ ? 

 

 

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ८ : ११ बजे