सुनको मूल्यमा नयाँ कीर्तिमान

आठौँ तनहुँ महोत्सव पुस २९ देखि

दमौली । तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस २९ गतेदेखि आठौँ तनहुँ महोत्सव हुने भएको छ ।

कोरोनाले दुई वर्षदेखि स्थगित भएको महोत्सव यस पटक हुन लागेको हो । 

व्यास नगरपालिका–३ स्थित बिपी वनबाटिकामा माघ १० गतेसम्म महोत्सव सञ्चालन हुनेछ । 

सङ्घले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवबारे जानकारी दिएको छ । आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रवर्द्धन गर्ने उद्देश्यसहित महोत्सव गर्न लागिएको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले बताउनुभयो । 

पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा करिब रु छ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान छ । महोत्सवमा कूल आम्दानी रु ८० लाख र नाफा रु १५ लाख ३५ हजार हुने अनुमान छ । 

महोत्सवमा मादीसेती नदीमा जलविहारको व्यवस्था मिलाइने भएको छ । सेती र मादीको सङ्गम स्थल दमौलीमा जलविहारको प्रचुर सम्भावना भए पनि जल विहारले व्यापकता पाउन नसकेको भन्दै महोत्सव अवधिभर यो सञ्चालन गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

ग्रामीण पर्यटनको प्रचुर सम्भावना रहेको जिल्लाका ऐतिहासिक र सांस्कृतिक रूपले सम्पन्न ग्रामीण बस्तीको प्रवर्द्धनका लागि दर्शकलाई सांस्कृतिक नमुना ग्राम भ्रमण गराउने योजना छ ।

महोत्सव अवलोकनका लागि दर्शकलाई मानुङकोट, कुमालटारी, बोटेगाउँ, दरैगाउँलगायतका गाउँ भ्रमणको व्यवस्था मिलाइएको छ ।रासस 

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ७ : १५ बजे