हिन्दू सनातन संस्कृतिमा नारीलाई मातृशक्तिका रूपमा सम्मान गरिने अनेकौँ पर्वहरू प्रचलित छन् । यहाँ पर्वका दिन गणना गर्ने हो भने नारीमहिना दिन चल्ने स्वस्थानी व्रत, नौ दिन मनाइने नवरात्र, सरस्वती पूजा, लक्ष्मी पूजा, सोह्र श्राद्धका बीचको मातृनवमी(यस दिनलाई भारतको केही क्षेत्रमा सौभाग्यवती श्राद्ध पनि भनिन्छ) र आजको यो पवित्र पर्व — मातातीर्थ अमावस्या, जसलाई आमा औँसी, आमाको मुख हेर्ने औँसी आदि भनेर चिनिन्छ । यसका अतिरिक्त अन्य पर्वहरू पनि मातृशक्तिको सम्मानमा मनाइने पर्वहरू छन् । परम्परादेखि मनाइँदै आएको यो मातातीर्थ औँसीका दिन आमा जीवित भएका सन्तानले आमाको सम्मान÷पूजा गर्ने, सुख र स्वास्थ्यको कामना गर्ने, आमाको सुखसुविधा तथा आवश्यकताको सम्मान गर्ने दिन हो । आमा जीवित नहुनेहरूले आमाका योगदानहरूको श्रद्धापूर्वक स्मरण गर्ने, दिवंगत आमाप्रति कृतज्ञता व्यक्त गर्ने, आफ्ना सन्तानलाई आमाको सत्कर्म र मानिसको जीवनमा आमाको महत्वको परिचर्चा गर्ने हो । आमाको सम्मान र सम्झनामा संसारका आमाहरूको सम्मानप्रति प्रतिबद्ध हुँदै ज्येष्ठ, अशक्त, अभावमा रहेका, अस्वस्थ मातृशक्तिलाई सक्दो सहयोग तथा अभिनन्दन सम्मान गर्ने अवसर हो । हाम्रो संस्कृतिमा आमालाई यस्ता अनकौँ सम्मानका पर्वहरूको प्रावधान रहेको छ ।
माता, जननी, शब्द नाता वाचक शब्द हो । विभिन्न भाषामा आमाका लागि प्रयोग हुने शब्द फरक—फरक छन् । जे जे शब्दमा सम्वोधन गरिए पनि आमा जन्मदातृ हुन् । मानिसका नाता अनकौँ छन्, तर अरु नाता सम्बन्धभन्दा आमा नितान्त भिन्न हो । आमाले पाउनुपर्ने मायाँ र सम्मानको भाग अरु कसैको भन्दा बढी हुन्छ र हुनुपर्दछ ।
आमा जन्मदातृ त हुन् नै, स्वयं आफैलाई जन्म दिएका बाहेक पनि आमा मान्नु, सम्मान गर्नुपर्नेहरूको संख्या पनि ठूलो छ । शास्त्रमा आमाको महिमा विस्तार गरिएको छ र सम्मानका दृष्टिले नारी सम्बन्धी धेरै नातालाई आमाको श्रेणीमा राखिएको छ ।
‘स्तनदात्री गर्भधातृ भक्ष्यदातृ गुरूप्रिया । अभीष्टदेवपत्नी च पितुःपत्नी च कन्यका ।।
सगर्भजा च भगिनी पुत्रपत्नी प्रियाप्रसूः । मातुर्माता पितुर्माता सोदरस्य प्रिया तथा ।।
मातुःपितुश्च भगिनी मातुलानी तथैव च । जनानां वेदविहिता मातरः षोडशः स्मृताः ।।
अर्थात्, स्तनपान गराउने, गर्भमा राख्ने, खाना खुवाउने, गुरूकी पत्नी, इष्टदेउताकी पत्नी, सौतेनी आमा, सौतेनी दिदी—बहिनी, सहोदर दिदी—बहिनी, छोराकी पत्नी, पत्नीकी आमा, आमाकी आमा, बाबुकी आमा, भाउजु÷भाइ बुहारी, सानिमा, फुपू र माइजू यी सोह्र वेदविहित आमाहरू हुन्’ भनिएको छ । र, यिनीहरूलाई बोलाउँदा सम्मानजनक सम्बोधन गरेर बोलाउनू भनिएको छ । यसरी धेरैथरि नाता सम्बन्धका नारीहरूलाई अति उच्च सम्मानको श्रेणीमा राखिएको त छ नै प्रायः सबै शुभकार्यमा षोडशमातृकाको पूजा हुन्छ । हाम्रो आफ्नो मौलिक पारम्परिक संस्कृतिका यी पक्षहरूलाई आत्मसात गर्न आवश्यक छ । हाम्रो सनातन संस्कृतिमा आमालाई सबैभन्दा पहिलो स्थानमा राखिँदैआएको छ । आमालाई अतुल्य नाताको रूपमा स्वीकार र सम्मान गरिएको छ । यदि कहीं कसैसँग तुलना भएको छ भने त्यो पृथिवी हो । पृथिवी र आमालाई प्रायः समान श्रेणीमा राखिएको छ । आमा बन्ने सामथ्र्य राख्ने भएको हुनाले सिंगो नारीजातिलाई मातृशक्तिको रूपमा स्वीकार र सम्मान गरिएको छ ।
हाम्रा शास्त्र र संस्कृति नारीमैत्री छन्, तर यसको तुलनामा समाज नारीमैत्री भएको देखिँदैन । कतिपय मानिसहरू समाज नारीमैत्री नभई नारीद्वेषी हुनुलाई हाम्रा प्राचीन प्रवन्धहरू र संस्कृतिको दोष ठान्दछन् । संस्कृति निर्माण र विकासको आधार मूलतः परम्परा हो । परम्पराका स्रोत वेद, शास्त्र मात्र नभई प्राकृतिक घटना, मानवीय चेतनाको विकास, यस क्रममा भएका संघर्ष र तिनका परिणाम पनि हुन्छन् । वर्तमान समाजमा रहेको मातृशक्ति प्रतिको विभेद र हेलाहोँचो वेद, शास्त्रको निर्देशन होइन । यसो हुनु कुनै खास कालखण्डको संघर्ष र तिनको परिणामको अवशेषको निरन्तरता हो । नारी प्रतिको पूजा, महत्व र सम्मान पनि कुनै कालखण्डको सकारात्मक परिणतिको निरन्तरता हो । मातृशक्तिको महिमाको विषयमा श्रीमद्देवीभागवत महापुराण नै छ । नारीप्रतिको सम्मानको परम्परालाई थप विस्तार गर्दै पुस्तान्तरण गर्न आवश्यक छ । यी विषयहरू ओझेल पर्दै जाँदा बाहिरका घटना तथा चर्चा सुनेर असल र नारी सम्मानको मौलिक र समृद्ध संस्कृति हराउँदै जान सक्दछ ।
परापूर्व कालदेखिको इतिहासका ठूला संघर्षका क्रममा पारीवारिक तथा सामाजिक शक्ति सन्तुलनमा नारीको स्थान कहिले उच्च, उच्चतम, सामान्य, हेय र निन्दनीय रहेको बुझ्न र अनुमान गर्न सकिन्छ । संघर्ष, संघर्ष नै हो । संघर्ष भनेको शक्ति विन्यास, शक्तिको प्रयोग र शक्तिको पुनरोत्पादन को माध्यम हो । जो जससँग जस्तोसुकै संघर्ष भए पनि संघर्षको केन्द्रीय विषय शक्ति नै हो । जित्नेहरूको बीचमा पनि शक्तिको अभ्यास हुन्छ र हार्नेहरूका बीचमा पनि यस्तो हुन्छ । जित्नेका बथानमा सबै उत्तिकै बलशाली र हार्नेको बथानमा सबै निर्धै निर्धा मात्र हुन्छन् भन्ने हुँदैन । यस्तै विषय र घटनाक्रमको प्रभाव सामाजिक शक्ति सन्तुलनमा देखिन्छ । समाजको आधार इकाई परिवार भएको हुनाले यसको प्रयोगको पहिलो स्थान यही हो । अहिले यतिबेला देखिने महिला हिंसा आदि विषयमा तिनै कारणहरू रहेको स्पष्ट हुन्छ । तर, हामीमध्ये कतिपयले कुनै संहिता, शास्त्रको, कुनै प्रसंगको एउटा सूत्र टपक्क टिपेर सिंगो संस्कृतिलाई दोषि करार गरिदिन्छौँ । यसो गर्नु आफैमा अन्याय हो । कुनै विषय, इतिहास, व्यक्तित्वप्रति अन्याय गरेर स्थापित हुने ‘न्याय’ दिगो र अनुसरणीय हुन सक्दैन । कुनै पनि विषयको आधार तथा परिवेश दुवै नबुझी निकालिएको निष्कर्ष समाधान हुन सक्दैन र सकिरहेको छैन । यो हुन नसक्नुको प्रभाव सिंगो समाजले वहन गरिरहनु परेको छ ।
हामीले कहिल्यै सोचेका छौँ, हामीले जसलाई महिला, नारी, स्त्री, आइमाई आदि भनेर उनीहरूका अधिकारबारे वहस गरिरहेका छौँ तीमध्ये कुनै हाम्री आमा हुन् । अधिकारका हिसाबले नसोच्दा नारीका बारेमा सोच्दा हामीले यसतर्फ ध्यान दिएका छौँ ? अधिकारमुखी धारणाबाट होइन, कर्तव्यमुखी कोणबाट कहिल्यै सोचेका छौँ ? प्राकृतिक हिसाबले नारी र पुरुष बीचमा रहेको भेद विशेषता हो । तर, हामीले प्राकृतिक विशेषताका आधारमा गरिनुपर्ने सम्मानको ठाउँमा कमजोर, असक्षम, आरक्षणमा मात्र उभिन सक्ने बनाइदिएका छौँ । महिलाप्रतिको विभेद देख्दा जति नमीठो आश्चर्य लाग्दछ, उति नै आश्चर्य प्राचीन प्रवन्ध तथा संस्कृतिलाई दोष लगाइएको देख्दा झनै उदेक लाग्छ । नारीहरूले घरको काम गर्ने र पुरुषले बाहिरको काम गर्ने गरी गरिएको कार्यविभाजन साहै्र राम्रो विषय थियो । त्यतिबेला महिलाहरूको दुःख देखेर सहमतिमा गरिएको त्यो कार्यविभाजनबाट नै एकनिष्ठ विवाह प्रथाको विकास भएको हो । मानव समाज विकासको दृष्टिले यो आफैमा एउटा महत्वपूर्ण विषय हो ।
समाजको विकासको अध्ययन गर्दा कुनै समय आमाहरूको सत्ता सञ्चालनमा मुख्य भूमिका रहेको पाइन्छ । इतिहासको त्यस कालखण्डमा मानिसहरू झुण्डमा बस्दथे । यस्तो झुण्ड वा समूहलाई कबिला भन्ने गरिएको पाइन्छ । कबिलाहरू समूहमा बस्ने र सामूहिक रूपमा जीविकोपार्जन गर्दथे । मानिसहरूका बीचमा खासै लडाइँ—झगडा हुँदैनथ्यो । प्राकृतिक विपत्ति आइलाग्दा सबै मिलेर समूहको रक्षा गर्दथे ।
महिलाहरू सुत्केरी हुने, सुत्केरी हुँदा कमजोर हुने हुँदा महिलाहरू प्रायः बासस्थानमा रहेर समूह व्यवस्थापनको काम गर्दथे । पुरुषहरु सिकार गर्ने, कन्दमुल र फलफूलको खोजी गर्ने, दाउरा—मुढाको व्यवस्था गर्ने गर्दथे । समूहको बसोवासोको सम्पूर्ण हेरचाह गर्ने हुँदा त्यतिबेला महिलाकै नेतृत्वमा सबै समूहहरु चल्ने गर्दथे । निजी परिवारको संरचना र विवाह पद्धतिको विकास भइ नसकेको कारण आमाकै नामबाट सन्तानको परिचय बन्दथ्यो । यसैले आमाकै नाममा वंश चल्दथ्यो र गोत्र निर्धारण हुन्थ्यो । वंश र गोत्रका प्रमुख हुने भएकोले समूहमा महिला सम्मानित हुन्थे । त्यसैले यस्तो व्यवस्था भएको समाजलाई समाजशास्त्रीहरूले मातृसत्तात्मक समाज भनेका छन् ।
यस्तो समय निकै लामो रह्यो । खासमा महिलाहरू समेत सिकार, कन्दमुल, फलपूmल, दाउरा—मुढा खोज्न हिँड्ने अवस्था महिलाहरूको हितमा नरहेको अवस्था थियो । विवाह संस्था÷पद्धतिको विकास नभइसकेको हुँदा शारीरिक÷यौन आवश्यकताको पूर्ति स्वैच्छिक थियो । खुला यौन सम्बन्धका कारण बाबुको ठेगान हुँदैनथ्यो । यसले सन्तानको सुरक्षा तथा पालन—पोषणको जिम्मेवारी पुरुषमा रहँदैथ्यो । कार्यविभाजनको अभावमा जुनसुकै—जस्तोसुकै अवस्थामा पनि आफै खोजेर खानुपर्ने र आफ्नो सन्तानको सुरक्षा तथा पालन—पोषणमा आमाको जिम्मेवारी प्राकृतिक जस्तै बन्यो । लामो समयको अन्तरालमा यसले आमाको स्वास्थ्य, सुत्केरी अवस्थाको हेरचाह, सन्तानको लालन—पालन, पोषण र सुरक्षामा नकारात्मक असर रहेको चेतनाको ढोका खुल्यो । यही पृष्ठभूमिले विवाह संस्थाको उदय भयो, एकनिष्ट विवाह पद्धति प्रारम्भ भयो ।
यस पद्धतिको विकासले आमा(महिला)को अवस्थामा सुधार ल्याएको थियो । मातृशिशुको बाहिरी आक्रमणबाट सुरक्षा र पालनपोषणको जिम्मेवारी पुरुषमा स¥यो । आमाले शिशुको प्रत्यक्ष स्याहार र बासस्थानमा व्यवस्थापन गर्ने र बाबु(पुरुष)ले आहार व्यवस्था गर्ने गरी परिवार व्यवस्थापनको, पारिवारिक संरचनाको जग बसेको देखिन्छ । विवाह संस्थाको विकास र पारिवारिक दायित्वमा नारी—पुरुष बीचको कार्यविभाजन यति सहज र प्राकृतिक देखिन्छ ।
मानवजाति यत्तिकै सभ्य भएको होइन । असभ्य लडाइँ झगडाकै माध्यमबाट मानिस सभ्य बनेको हो । सुरुमा मानवेतर पशु प्राणीजस्तै एक्लै हिंड्यो होला । प्रकृति र पशुसँग एक्लै संघर्ष ग¥यो होला । जति बाँच्यो, बाँच्यो । जहाँ, जसरी म¥यो, सकियो । यिनै दुःखकष्टबाट मेलमिलापको चेतना विकास भयो होला । मायाँ, सद्भाव र सहयोगको सोच विकास विकास भयोे होला । खासगरी मातृत्वको गुणकै कारण, जस्तै ः गर्भवती हुने र त्यस्तो अवस्थाको शारीरिक अवस्थामा शिकार गर्न, कन्दमूल खनीखोस्री गर्न, अन्य शक्तिशाली प्राणीहरूबाट सुरक्षा आदि तथा सुत्केरी अवस्थामा सालनाल, रक्तश्राव, शारीरिक कमजोरी, बच्चाको रेखदेख, स्याहार—सम्भार, सुरक्षा आदिसँगै जीविकाको व्यवस्था गर्न कठिनाइ हुनु स्वाभाविकै हो । त्यतिबेलाको चेतनाले यत्ति विषय ठम्याएर उनीहरूप्रति करुणा उत्पन्न हुनु पनि ठूलो कुरा हो । यही अवस्था, चेतना र करुणाकै कारण मातृशक्ति ‘संरक्षितवर्ग’मा पर्न गएको बुझिन्छ । बल, बहादुरीको काम गर्न नसक्ने अवस्थाप्रतिको सहानुभूति, बालबच्चाको स्याहार—सुसार, पुरुषबाट शिकार तथा संकलन गरेर ल्याइएका आहार वस्तुहरूको व्यवस्थापन, राखनधरन आदिको स्वाभाविकर अघोषित जिम्मेवारीमा सीमित हुन पुगे । यहींबाट नारीहरूमाथि कमजोर, संरक्षित, आरक्षित, अबलाका उपाधि टाँसिँदै आएको स्पष्ट देखिन्छ । यही कुरा, जित्ने—हार्ने सबै समूहका नारीहरूमा लागू हुँदै आयो । यसलाई वैदिक वा शास्त्रीय परिप्रेक्षबाट नभई मानव समाजको विकासका क्रममा भएका संघर्षको दृष्टिले हेरिनु उपयुक्त हुनेछ ।
यसरी हेर्दा नारीप्रतिको विभेदको प्रारम्भ नकारात्मक कोणबाट नभई सहुलियत दिने हिसाबले नै भएको अनुमान गरिन्छ । यसका केही व्यवहारिक कारणहरू छन् । विवाह प्रथाको विकास हुनुपूर्वको यो प्रथा विवाह प्रथापछि क्रमशः सहुलियतको विषय स्वामित्व र शासनको रूपमा बदलियो । ती कारणहरूमध्ये महिलाहरू गर्भवती र सुत्केरी हुँदाको अवस्थामा उनीहरूलाई सहुलियत दिएर आफै सिकार र कन्दमूलको व्यवस्था गर्न नपर्ने व्यवस्था भयो, जो जायज र व्यवहारिक थियो । तर, यही विशेष अवस्थाका कारण पुरुष योद्धाको प्रभाव र युद्धबाट जितेको भूगोल, पशुधन, अन्य वस्तु र मानवमा समेत पुरुषको प्रभाव रहनुबाट सुरु भएको देखिन्छ । यसबाट अन्यत्रबाट जितेर प्राप्त भएका मानिसहरू दास, दासी बनाइए, तल्लो दर्जामा झारियो ।
यो वेदले स्थापित गरेको व्यवस्था होइन । वैदिक कालमा विकसित भई प्रचलनमा रहेको विवाहमा नारीलाई दासीको रूपमा नभई उनीहरूलाई ‘आधान’ (स्थापित, व्यवस्थित) गर्ने विषयको रूपमा देखिन्छ । यस सम्बन्धमा ऋग्वेदमा पढ्न पाइन्छ । त्यतिबेला ‘कन्यादान’ नभई ‘कन्याआधान’को व्यवस्था देखिन्छ । कालान्तरमा कन्यादानलाई एकनिष्ठ, सबल, अपचलनमुक्त विवाह संस्थाको विकासको सुनिश्चितताको लागि निरन्तरता दिइएको देखिन्छ । जे होस्, यी विषय त्यतिबेलाको लागि उपयुक्त ठानिएका विषय हुन् । पतिव्रता र एक पत्नी निष्ठता त्यसै प्रावधानको संस्कृति हो । विवाहका अन्य तरिकाहरू पनि प्रचलनमा थिए र ती पनि स्वीकार्य नै थिए भन्ने देखिन्छ । शास्त्रमा आठ प्रकारको विवाहको प्रसंग रहेको देखिन्छ । यहाँ स्मरणीय छ, कि पति शब्द र पत्नी शब्दको व्यूत्पत्तिक अर्थ एउटै हो । पति—पत्नी दुवै शब्दको अर्थ ‘पतन हुनबाट जोगाउने’ भन्ने लाग्दछ । पतन हुनबाट जोगाउने भन्ने विषय सन्दर्भ र वस्तुस्थिति अनुसार अनुमान र व्यवहार गर्न सकिने विषय हो । विभेद त शक्ति संघर्षले निर्धारित गरिँदैआएको विषय हो र यसलाई यही अर्थमा बुझ्दा मात्र सही बुझाइ ठहर्छ । ऋग्वेदमा भनिएको छ, माता पृथिवी महीयम् अर्थात् विशाल पृथिवी हाम्री आमा हुन् । वेदमा आमालाई पृथ्वी र पृथ्वीलाई आमा स्वीकार गरिएको छ । यसको आसय अथर्ववेदको यस मन्त्रले थप स्पष्ट पार्दछ, ‘माता भूमिः पुत्रो अहं पृथिव्या अर्थात्, धर्ती आमा हुन्, म धर्तीको छोरो हुँ ।’ यो भनेको धर्तीप्रतिको श्रद्धा मात्र होइन, आमाप्रतिको सम्मान हो । यसरी धर्ती आमा र आमा धर्ती हुन् भन्ने गरी मन्त्रहरू बनाइएका छन् ।
ुराणमा मातृशक्तिलाई कमजोर र दासीको रूपमा प्रस्तुत गरिएको छैन । पत्नीलाई सम्वोधन गर्दा दासी नभनिएको मात्र होइन, बरु ‘स्वामिनी’ शब्द प्रयोग गरिएको पाइन्छ । यति मात्र होइन यस कालमा महिलालाई मातृशक्ति मानिएको र निर्णायक शक्तिका रूपमा स्वीकार गरिएको छ । यहाँ एउटा देवीको लागि प्रचलित मन्त्रबारे चर्चा सान्दर्भिक होला । प्रायः दसैँमा टीका लगाइदिँदा यो मन्त्र भन्ने गरिन्छ :
‘जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोद्रस्तुते अर्थात्, जयंती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा धात्री, स्वाहा र स्वधा– यी नाम गरेका देवीहरूलाई नमस्कार छ ।’
यहाँ प्रयोग गरिएका शब्दहरूले आमाहरू सन्तानको सुख, सुविधा र सुरक्षाका लागि अनेक भूमिकामा देखा पर्दछिन् भन्ने संकेत गरेको देखिन्छ । योद्धा, उत्प्रेरक, शुभचिन्तक, लडाइँ गर्न र लडाईमा ‘काल’(मृत्यु)सँग पनि नडराउने अर्थात् मर्न—मार्न तयार रहने, सन्तानलाई स्वतन्त्र जीवन बाँच्न योग्य बनाउने, आफ्ना सन्तानका लागि सुख एवं मङ्गल स्वीकार गर्ने, कपालिनी हातमा खड्ग र कपाल(खप्पर) तथा घाँटिमा मुण्डमाला लगाएर सत्रलाई भयभीत पार्ने, सन्तानको हित—रक्षाको लागि जस्तोसुकै दुःख सहन सक्ने, अरुको गल्तीलाई क्षमा गरिदिने क्षमाशील गुण भएकी, सबैको कल्याण चाहने, जुनसुकै प्रकारका प्रपञ्च जोखिम वहन गर्न सक्ने, सृष्टिका सबै विषय वा पक्ष सामान्यतया प्रत्यक्ष नदेखिनेहरू(देवता)लाई समेत भोजनको प्रवन्ध गर्ने, आफ्नै भाग र माध्यमबाट पितृहरू, पुर्खाहरूलाई तृप्त पार्ने गुण प्रायः हरेक आमामा देखिने गुण हुन् । यस मन्त्रको माध्यमबाट आमाहरूमा रहेका स्वरूप, सामथ्र्य र भूमिका छर्लङ्ग देख्न र अनुभूत गर्न सकिन्छ । आमाहरूप्रति सम्मान गरिरहँदा सिंगो मातृशक्तिको सम्मान गर्ने संस्कृति पुनःजागरण गरौँ । मातातीर्थ औँसीको यस अवसरमा संसारका सबै आमाहरूप्रति नमन् ।
प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार ८ : १० बजे
प्रतिक्रिया