एजेन्सी । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमिक्रोन भाइरस)का संक्रमितहरु अमेरिकाको न्युयोर्क सहरमा एकैदिनमा पाँच जनामा देखा परेको अमेरिकाको न्युयोर्क सहरका गभर्नर क्याथी होचुलले जानकारी दिनुभएको छ।
अमेरिकाका स्वास्थ्य अधिकारीहरुले यो भेरियन्ट बुधबार अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको पाइएको बताएका थिए । बिहीबार मात्र यो भेरियन्ट न्युयोर्कमा पनि पाइएको समाचार विभिन्न विदेशी सञ्चारमाध्यमहरुले दिएका छन् ।
नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक जना व्यक्तिमा सो भेरियन्ट देखिएको जानकारी क्यालिफोर्नियाको स्वास्थ्य विभागका अधिकारीहरुले बुधबार जानकारी दिएका थिए । उनको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि युनिभर्सीटी अफ क्यालिफोर्नियामा थप परीक्षण गरिएको थियो ।
त्यसैगरी बुधबार नै अमेरिकाको अर्को शहर मिनेसोटामा पनि ओमिक्रोन पत्ता लागेको बताइएको थियो । अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले क्यालिफोर्निया, मिनेसोटा राज्य र न्युयोर्क सहरमा ओमिक्रोनको संक्रमण भएको पुष्टि गरेको पनि समाचारमा जनाइएको छ । यो भाइरस हप्ता दिनमात्र अघि दक्षिण अफ्रिमा पत्ता लागेको बताइएको थियो । अहिले यो विश्वका करिब ३० देशमा भेटिइसकेको छ ।
प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार ९ : ३२ बजे
प्रतिक्रिया