दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

चितवनमा आजदेखि मतदाता नामावली सङ्कलन

चितवन । जिल्लामा आजदेखि मतदाता नामावली सङ्कलन कार्यलाई विशेष कार्यक्रमका साथ सञ्चालन गरिने भएको छ । 

जिल्ला निर्वाचन कार्यालय चितवनले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाका सात पालिकामा नामावली सङ्कलन सुरु गर्न लागिएको जनाएको हो ।

कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार जिल्लाका तीन पालिकामा पहिलो चरणमा र अन्य तीन पालिकामा दोस्रो चरणमा नामावली सङ्कलन गर्ने जानकारी दिनुभयो । 

उहाँका अनुसार पहिलो चरणमा मङ्सिर १७ देखि पुस २ गतेसम्म माडी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा नामावली सङ्कलन गरिने छ । 

यस्तै दोस्रो चरणमा रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पुस ४ देखि १८ गतेसम्म सञ्चालन हुने छ । 

भरतपुर महानगरपालिकाका लागि भने निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट नामावली सङ्कलन गरिने उहाँले जानकारी दिनुभयो । यसका लागि कार्यालयले २१ जना कर्मचारी परिचालन गर्न लागेको छ ।

पालिकाहरूले वडा स्तरमा केन्द्र तय गरी नामावली सङ्कलनको काम गर्ने तयारी गरिरहेका छन् । कार्कीका अनुसार नागरिकता जारी भएको जिल्ला वा स्थायी बसोबास अन्य पालिकाको भए जिल्ला निर्वाचन कार्यालयबाट नामावली सङ्कलन गर्न सकिने छ ।

नागरिकता जारी भएको मितिमा नै नामावली दर्ता गराउन सकिने भए पनि मतदानका लागि भने १८ वर्ष पूरा भएको हुनुपर्ने हुन्छ । फोटोसहितको मतदाता नामावली सङ्कलन सरकारले विसं २०६६ चैतबाट लागू गरेको हो ।

नामावली दर्ता गराउन आउँदा नागरिकताको सक्कल, बसाइसराइ भए बसाइसराइ कागजपत्र, विवाह दर्तालगायतका कागज अनिवार्य ल्याउनुपर्ने हुन्छ । अन्य समयमा जिल्लामा जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयबाट मात्रै नामावली सङ्कलन गरिएको थियो । जिल्लामा हाल १८ वर्ष पूरा भएका तीन लाख ६८ हजार ३८२ मतदाता रहेका छन् । 

अहिले यस कार्यालयबाट तीन लाख ७८ हजार ७२१ ले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । उमेर पुगेपछि मात्रै उनीहरूको नाम मतदाता नामावलीमा दर्ता हुन्छ ।

कार्यालयले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिकामा एक लाख ८० हजार ४३४ जनाले नामावली दर्ता गराएका छन् । उनीहरूमध्ये एक लाख ७६ हजार ५६ जना १८ वर्ष पूरा गरेका छन् ।

यस्तै, रत्ननगर नगरपालिकामा ५० हजार ९२४ जनाले नाम दर्ता गराएको भए पनि ४९ हजार ४९० जना १८ वर्षमाथिका छन् ।

खैरहनी नगरपालिकामा ४१ हजार २५३ मध्ये ४० हजार ४४ जना १८ वर्ष माथिका, राप्तीमा ३७ हजार १७१ ले नामावली दर्ता गराएको भए पनि १८ वर्षमाथिका ३५ हजार ८२१ जना छन् । कालिका नगरपालिकामा २८ हजार ७२१ मध्ये २७ हजार ८६३ जना १८ वर्षमाथिका छन् । 

यस्तै माडी नगरपालिकामा २५ हजार ८१४ को नामावली दर्ता गराएको भए पनि २५ हजार १४७ जना र इच्छाकामना गाउँपालिकामा १४ हजार ४०० नाम दर्ता भएकामा १३ हजार ९६१ जना १८ वर्षमाथिका रहेका छन् । 

विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा तीन लाख ५४ हजार ३४ जना मतदाता रहेका थिए ।  

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ७ : ४५ बजे