नेकपा एमाले: दशौं महाधिवेशन, लोकतन्त्र र यसको व्याख्या

लोकतन्त्र सिकाउने र बुझाउनेहरू भन्दैछन्, समझदारी र सहमतिले लोकतन्त्र कमजोर हुन्छ। उनीहरू भन्छन्, लोकतन्त्रमा खुला प्रतिस्पर्धा र निर्वाचन हुनै पर्छ। नेकपा एमालेको दशौं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको उच्चस्तरको समझदारी र सहमतिको प्रयासलाई अलोकतान्त्रिक भयो भनेर बुर्जुवा मिडिया, पत्रकार र विश्लेषकहरू आरोप लगाउँदै छन् । तर तिनका आरोपहरू आग्रहपूर्ण छन् र तथ्यसँगत छैनन् । किनभने लोकतन्त्रको मतलब निर्वाचन, प्रतिस्पर्धा र मतदान मात्र होइन । यसको विशिष्ट रूप उच्चस्तरको समझदारी र सहमति हो । समझदारी र सहमति नभएको खण्डमा मात्रै निर्वाचनलाई अर्को विकल्पका रूपमा लिएको हो । यहाँ लोकतन्त्रको व्याख्या र बुझाइमा नै समस्या देखिन्छ।

लोकतन्त्रलाई एउटा वर्गले प्रतिस्पर्धा मात्र हो भनेर बुझेको छ भने अर्को वर्गले उच्चस्तरको समझदारी र सहमतिसहितको स्वास्थ्य प्रतिस्पर्धा हो भनेर बुझ्छ । लोकतन्त्रमा सबैको जीत सुनिश्चित हुनुपर्छ । जसमा जीत हार भन्दा पनि जित्नेलाई हार्नेले सहर्ष स्विकारेर सहयोग गर्ने र जित्नेले पनि हार्नेसँग सहयोग लिने र सहकार्य गर्ने गर्छ । यो नै साँचो अर्थमा लोकतन्त्र हो । यसलाई अर्को शब्दमा प्रगतिशील लोकतन्त्र पनि भनिन्छ । तर पुँजीवादी राजनीतिमा विश्वास गर्ने पक्षहरूले भने प्रतिस्पर्धालाई मात्र लोकतन्त्र भनेर व्याख्या गर्न खोजेका छन् । जुन लोकतन्त्रको परिभाषा होइन ।

नेकपा एमालेको महाधिवेशनमा हार्न पाउने अधिकार र स्वतन्त्रतालाई लोकतन्त्र हो भनेर घनश्याम भुसालले लोकतन्त्रको अपव्याख्या मात्र गरेनन् जनताको बहुदलीय जनवादलाई कमजोर बनाउन पनि खोजे । भीमबहादुर रावलले समझदारी र सहमतिमा नेतृत्व चयन गर्न नमान्दा महाधिवेशन अनावश्यक रूपमा लम्बियो । यसलाई मूलधारका मिडियाहरूले बजारीकरण गरेर महाधिवेशनमा हुन खोजेको उच्चस्तरको समझदारी र सहमतिलाई आंशिक रूपमा असफल बनाए । तर यसले नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूलाई लोकतन्त्र बुझ्ने र त्यसलाई व्यावहारिक रूपमा कार्यान्वयनमा लैजाने सामर्थ्य विकास गर्न सहयोग भने गरिदियो । दशौं महाधिवेशन ढिलै गरी भएता पनि सफल रूपमा सम्पन्न भयो ।

नेकपा एमालेको महाधिवेशन सम्पन्न भएपछि यसको बलियो पक्षलाई भन्दा केही कमजोरी पक्षलाई लिएर मूलधार भनेर चिनिएका मिडियाहरूले नकारात्मक टिप्पणी र विश्लेषणलाई प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् । लोकतन्त्रको भ्रमपूर्ण परिभाषा गर्दै एमालेका विरुद्ध जनमन भ्रमित बनाउने दुष्प्रयास गर्दैछन् । समझदारी र सहमतिको प्रयासलाई अलोकतान्त्रिक प्रक्रिया भनेर केही विश्लेषक तथा पत्रकारहरू लेख्दैछन् र बोल्दै छन् । अब फेरि तिनले नेकपा एमालेका विरुद्धमा अभियान नै चलाउने छन् । त्यो अभियानको मूल तारो अध्यक्ष केपी ओली नै हुनेछन् । भिमबहादुर रावल र घनश्याम भुसालहरूलाई प्रयोग गरेर नेकपा एमालेमा अर्को विभाजन ल्याउने प्रयास गर्नेछन् ।

नेकपा एमालेलाई कमजोर बनाएर विभाजित बनाउन चाहनेहरूको स्वार्थमा भिमबहादुर रावल र घनश्याम भुसालहरूले लोकतन्त्रको विशिष्ट रूप उच्चस्तरको समझदारी र सहमति गरेर महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न चाहेनन् । रावलले बोलेर त भुसालले वैचारिक तर्क गर्दै मौन बसेर सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न दिएनन् । लोकतन्त्रको अपव्याख्या गरेर महाधिवेशन प्रतिनिधिहरूको मन जित्न सकेनन् । परिणामस्वरूप रावल र भुसालले पदाधिकारी बन्ने अवसर गुमाए । घनश्याम भुसाल भन्छन्,‘लोकतन्त्रमा हार्न पाउने स्वतन्त्रता हुन्छ, त्यो नै लोकतन्त्रको सुन्दरता हो।’ मैले बुझेको कुरा लोकतन्त्र भनेको एकले हार्ने र अर्कोले जित्ने प्रणाली मात्र होइन, बरु लोकतन्त्रले सबैको जीत सुनिश्चित गरेको हुनुपर्छ।

राजनीति शास्त्रमा कुनै मुद्दामा भएको सहमति वा असहमतिलाई निष्कर्षमा पुर्‍याउन समूहमा बसेर सर्वसम्मत वा बहुमतबाट गरिने निर्णयलाई लोकतन्त्र भनेर बुझिन्छ। जसलाई अभिलेखमा राखेर कार्यान्वयनमा लगिन्छ । तर नेकपा एमालेको दशौं महाधिवेशनमा त्यही प्रक्रियालाई अवलम्बन गर्न खोज्दा अलोकतान्त्रिक भयो भनेर अनावश्यक रूपमा विरोध गरियो । त्यो विरोध अझ कायम नै छ । यसबाट एमाले इतरका राजनीतिक दलका नेताहरू उत्साहित भएर अभिव्यक्ति दिइरहेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  १२ : २५ बजे