बौद्ध परम्परामा काल गणनाको महत्तम एकाइ महाकल्प हो । बुद्धहरूको उत्पत्तिका आधारमा कल्प दुई प्र्रकारका छन्— शून्य र अशून्य । बुद्धको प्रादुर्भाव नहुने कल्प शून्यकल्प हो । बुद्धहरु उत्पन्न हुने कल्प अशून्य कल्प हो । अशून्य कल्प पनि पाँच प्रकारको हुन्छ । एउटा बुद्ध उत्पन्न हुने कल्पलाई सार कल्प भनिन्छ । दुई बुद्धहरू हुने ‘मण्डकल्प’ हो । तीन बुद्धहरु उत्पन्न भएको कल्पलाई ‘वरकल्प ’ भनिन्छ । चार बुद्धहरु उत्पन्न भएको समयावधि ‘सारमण्ड’ कल्प हो । पाँच बुद्धहरुको महिमाले शोभित कल्पलाई भद्रकल्प भनिन्छ । अहिले चलिरहेको कल्प नै ‘भद्रकल्प’ हो । यही कल्पमा क्रमशः क्रकुच्छन्द, कनकमुनि, काश्यप र गौतम समेत चार बुद्धहरुको जन्म भइसकेको छ । पाँचौँ बुद्धका रुपमा मैत्रेय बुद्धको उत्पत्ति हुनेछ ।
समयको सुदूर गर्भमा तपस्वी सुमेध
बौद्ध परम्परा अनुसार कुरा चार असङ्ख्य एक लाख कल्प पहिलाको हो । अमरावती नगरमा सुमेध ब्राह्मण बस्थे । उनी तीन वेदमा पारङ्गत थिए । शरीर, संसार र सम्पत्ति सबै अनित्य छन् भन्ने कुराको बोधले उनलाई मुक्तिको खोजीमा लाग्न उत्प्रेरित गर्यो । अर्बाैँ सम्पत्ति दान गरेर उनले हिमालमा तपस्या गरे, सिद्धि प्राप्त गरे । कुनै दिन आकाशमार्गबाट जाँदै गर्दा उनले दीपावती नगरका मानिसहरुले प्रसन्नताका साथ बाटो सजाउँदै गरिरहेका देखे । उनले थाहा पाए कि दीपङ्कर बुद्धले आज आफ्नो गृहनगरमा चार लाख शिष्यहरुका साथ भिक्षाटन गर्नुहुनेछ । म पनि दीपङ्कर बुद्धका लागि मार्ग सफा गर्न चाहन्छु – उनले नगरबासीहरुसँग अनुरोध गरे । उनले जिम्मा लिएको बाटो सफा गरी नसक्दै दीपङ्कर बुद्ध आइपुग्नुभयो । आफ्नो जटा, कपडा र आसनलाई हिलोमा फैलाएर सुमेध ब्राह्मण स्वयं हिलोमा घोप्टो परे । उनको पिठ्यूँमा टेकेर हिलो पार गर्नै लाग्दा दीपङ्कर बुद्धले घोषणा गर्नुभयो – चार असङ्ख्य कल्प बितेपछि यी तपस्वी बुद्ध बन्नेछन् । सुमेधले दीपङ्कर बुद्धबाट शिक्षा लिई मध्यम मार्गको अभ्यास गर्न थाले । बोधिसत्वका रुपमा धेरै जन्म पारमिताको अभ्यासद्वारा ज्ञान र पुण्यको सञ्चय गरे । आफूभन्दा अघिका बुद्धहरुबाट शिक्षा लिदैँ अभ्यास गर्दै रहे । ती सबै बुद्धहरुले यिनी अवश्य बुद्ध बन्ने घोषणा गरे । यसरी सुमेधले बुद्धत्वको अविच्छिन्न परम्परामा साधना गरे, बुद्ध बने । ती सुमेध अरु कोही नभएर नेपाली भूमिका शान, विश्वशान्तिका पहिचान शाक्यमुनि गौतम बुद्ध नै हुनुहुन्छ ।
पाँच महाविलोकन:
पारमिताको पूर्ण अभ्यास भइसकेको थियो । भावी बुद्ध सिद्धार्थ गौतम तुषित लोकमा हुनुहुन्थ्यो, श्वेतकेतु बोधिसत्वको रुपमा । अब ज्ञानको खडेरीले ग्रस्त संसारमा बुद्धत्वको वर्षा गराउनु थियो । अतः अन्तिम जन्म लिनका लागि उहाँले यी पाँच कुराहरुको अवलोकन गर्नुभयो –
१. उपयुक्त समय : मानिसको औसत आयु न त अत्यन्त धेरै थियो, न त अत्यन्त कम नै । मानिससँग मध्यम आयु थियो, संसारको अस्थिरता बुझ्नका लागि । र, त्यो अवधि जीवनको चपलता, बौद्ध शिक्षाको औचित्य र त्यसमा आस्था जगाउनका लागि पर्याप्त थियो ।
२. द्वीपः बोधिसत्वले निश्चित गर्नुभयो– जम्बुद्वीप नै बुद्धोत्पादका लागि योग्य छ ।
३. देश र प्रदेशः विशाल जम्बुद्वीपमा मध्यदेश नै बुद्ध्त्वका लागि उपयु्क्त हु्न्छ । यस समय कपिलवस्तु सबै पक्षबाट कलङ्करहित थियो । यसैले बोधिसत्व यहीँ जन्मने सुनिश्चित भयो ।
४. कुलः कपिलवस्तुको शाक्य कुल सम्मानित थियो । शुद्धोदन एक कुशल राजा थिए । यसैले यो कुल भावी बुद्धका लागि सर्वथा योग्य थियो ।
५. माताः कपिलवस्तुकी महारानी मायादेवीको आचरण शुद्ध थियो । मन चञ्चल थिएन । उनको आयु दश महिना ७ दिन मात्र बाँकी थियो । यसैले भावी बुद्धका लागि उनको गर्भ सर्वथा अनुकूल थियो ।
मायादेवीको स्वप्न : ई.पू. ५६४
सन्तानको प्रतीक्षामा लामो समय बितिसकेको थियो । शाक्य राजा शुद्धोदनका दुबै रानीहरु, मायादेवी र प्रजावतीका कुनै सन्तान भएका थिएनन् । समृद्ध कपिलवस्तुमा आषाढ पूर्णिमालाई भव्यतापूर्वक मनाउने चलन थियो । पूर्णिमाको बिहानै रानी मायादेवीले नुहाइन्, व्रत बसिन्, दानपुण्य गरिन् । खोपीमा आराम गर्न जाँदा पनि उनको मन आध्यात्मिक भावले पुलकित थियो । मध्यरातमा चार देवताहरुले पलङ् सहित हिमालयतर्फ लगी अग्लो सालको वृक्षमुनि एक आसनमा उनलाई राखेर गए । त्यत्तिकैमा देवकन्याहरुको समूह आयो । उनलाई अनोतप्त दहमा लगेर दिव्य स्नान गराए उनीहरुले । नजिकै चाँदीको पर्वतमा सुनको विमान थियो । त्यसभित्र पूर्वतिर सिरान पारेर देवकन्याहरुले मायादेवीलाई सुताइदिए । सुनको अर्को पर्वतबाट एउटा सेतो हात्ती ओर्लियो, एकछिन यताउता टहलियो र त्यही चाँदीको पर्वतमा उक्लियो । हात्तीको चाँदी जस्तो सफेद सुँडमा सेतो कमल थियो । हात्ती मायादेवी रहेको विमानमा प्रवेश गर्यो, पलङ्लाई तीन पटक प्रदक्षिणा गरी दाहिने काखीबाट पेटमा प्रवेश गर्यो । ब्यूँझेपछि रानीले थाहा पाइन्, यो सबै उनले देखेको सपना थियो । भोलिपल्ट ६४ जना ब्राह्मणहरुले सपनाको विश्लेषण गरे– अवश्य कुनै महापुरुषको जन्म हुनेछ । उनीहरूले भने– यस्तो महापुरुषको जन्म हुनेछ, जो चक्रवर्ती सम्राट या बुद्ध बन्नेछन् ।
सपनाबाट ब्यूँझेपछि सिद्धार्थलाई लाग्यो आज बुद्धत्व प्राप्त हुनेछ । गाउँमा भिक्षा माग्न जाने तयारी गरी उहाँ वरको रुखमुनि बस्नुभयो । उहाँको मुखमण्डल पूर्वतिर फर्किएको थियो ।
बोधिसत्वको जन्म : ई.पू ५६३
दस महिना बितेको पत्तै भएन । रानीले माइती गाउँ देवदह जाने इच्छा प्रकट गरिन् । कपिलवस्तुदेखि देवदहसम्मको बाटो सजाइयो । वैशाख पूर्णिमाको दिन सुनको पालकीसहित रानीको सवारी चल्यो । पथ्र्यो लुम्बिनी बाटोमा उद्यान । विश्रामका लागि रानी ओर्लिन् । त्यही समयमा उनलाई प्रसवको सङ्केत मिल्यो । उनले नजिकै रहेको शाक्य–पुष्करिणी (पोखरी)मा स्नान गरिन् । त्यसपछि पच्चीस पाइला उत्तरतर्फ गई मङ्गलसालको हाँगा समाइन् । त्यही समयमा पुत्रलाभ भयो । महाब्रह्माले उनलाई सुनको जालोमा लिए । बोधिसत्वको स्नानका लागि शीतोष्ण जलधाराको वर्षा भयो । त्यसपछि देवताहरुले मृगचर्ममा राखेको नवजात बालकलाई मानिसहरुले कपडामा लिए । मानिसहरुको हातबाट मुक्त भई बोधिसत्वले दश दिशाको निरीक्षण गर्नुभयो । उहाँले आफू समान कोही पाउनु भएन । त्यसपछि उत्तरतर्फ सात पाइला हिँडेर घोषणा गर्नुभयो– अग्गोहमस्मि लोकस्स । अर्थात्, संसारको अग्र पुरुष म नै हुँ ।
नामकरण : ई. पू ५६३
कपिलवस्तु अपार हर्षले विभोर थियो । यस अघि नै कालदेवल ऋषिले बालकको दर्शन गरेर गइसकेका थिए । यी बालक अवश्य बुद्ध बन्नेछन्– उनको यस्तो घोषणा थियो । पाँचौ दिनमा नामकरण गरियो । १०८ विद्वान्हरु नामकरण संस्कारमा सहभागी भए । मातापिता र राज्यको सबै कामना पूर्ण भएको हुनाले बालकको नाम सिद्धार्थ राखियो । यही नाम संसारका सबै मानिसको धर्मको प्यास मेटाइदिने हुनाले अझ सार्थक हुनेवाला थियो । ज्योतिषहरुले भविष्यवाणी गरे । विकल्प दुईव टा मात्र थिए– चक्रवर्ती सम्राट् या सम्यक् सम्बुद्ध । छोरो पाएको सातौँ दिनमा माता मायादेवी दिवङ्गत भइन् । सिद्धार्थको पालनपोषणको जिम्मा प्रजावतीले लिइन् ।
वप्रमङ्गल (रोपाइँ) उत्सव र सिद्धार्थको ध्यानः ई.पू. ५५८
कपिलवस्तु राज्यमा रोपाइँलाई चाडका रूपमा मनाइन्थ्यो । हरेक साल आषाढमा सुनको हलोले खेत जोतेर राजाबाट रोपाइँको उद्घाटन हुन्थ्यो । मन्त्रीदेखि सर्वसाधारण सबै उत्सवमा सहभागी हुन्थे । त्यो दिन जब शुद्धोदनले जोताइ सुरु गरे, सिद्धार्थका सुसारेहरुले मा थाम्न सकेनन् । सिद्धार्थलाई छोडेर उनीहरु खेततिर हानिए । सिद्धार्थ उठे, पलेँटी कसेर बसे । उनमा स्वतस्फूर्त ध्यान घटित भयो । सुसारेसँगै राजा आएर हेरे । जामुनको रुखमुनि सिद्धार्थ गहिरो ध्यानमा हुनुहुन्थ्यो । दिनको गर्मीमा जामुनको छायाँ नसरिकन उनलाई शितलता दिइरहेको थियो ।
सिद्धार्थको सुविधा, शिल्पकला र विवाह : ई.पू. ५४८
सिद्धार्थले लिपि सिक्नुभयो । पहाँ वेद, वेदाङ्ग र शिल्पशास्त्रमा पारङ्गत हुनुभयो । रुचि नै नभए पनि युद्धकौशलमा अद्वितीय बन्नुभयो । असित ऋषि तथा अन्य ज्योतिषको भविष्यवाणीले शुद्धोदनको मन बेलाबेलामा चिसो हुन्थ्यो । उनले सिद्धार्थलाई यथासम्भव सुविधाको व्यवस्था गरे । रम्य, सुरम्य र शुभ नाम राखिएका दरबारहरु बनाइए । यी क्रमशः ९, ७ र ५ तले थिए । राजकुमार सिद्धार्थलाई विलासिताको आरोप लाग्यो । शुद्धोदनलाई आश्वस्त पार्न सिद्धार्थले विशाल समुदायमाझ अद्वितीय शिल्प प्रदर्शन गरी सबैलाई चकित पार्नुभयो ।
सिद्धार्थ १६ वर्षको हुनुहुन्थ्यो । वहाँको निष्कपट व्यक्तित्वले यशोधराको मन चोरिसकेको थियो । देवदहकी राजकुमारी यशोधरा सिद्धार्थकी फूपूकी छोरी थिइन् । उनको वैवाहिक समारोहमा युद्धकौशल प्रदर्शनीको आयोजना गरिएको थियो । आफ्नो शिल्पकला र युद्धकौशलले सिद्धार्थलाई निर्विवाद विजेता बनायो । वहाँको यशोधरासँग विवाह भयो । सिद्धार्थले उनलाई प्यारो गरी गोपा भनी बोलाउनु हुन्थ्यो ।
दरबारमा मनोरञ्जन थियो, जसमा सिद्धार्थलाई रुचि थिएन । शाक्य राज्यमा राजनीतिक खिचातानी पनि थियो, जसलाई सिद्धार्थको स्वभावले कहिल्यै स्वीकारेन । उहाँमा जीवन र जगतबारे अनगिन्ती प्रश्नहरु थिए । र, ती प्रश्नको उत्तर ध्यानबाट नै पाउन सकिन्छ भन्ने कुरामा उहाँ दृढ हुनुहुन्थ्यो । अतः समय मिलाएर एकान्तमा जानु, ध्यानमा लीन हुनु, प्रकृतिको रहस्यमाथि चिन्तन गर्नु सिद्धार्थका रूचिका कुरा थिए ।
वैराग्यको उदय र महाभिनिष्क्रमण :ई. पू. ५३४
सिद्धार्थ २९ वर्ष पुगिसक्नुभएको थियो । एक दिन पिताको आज्ञा लिएर नगर निरीक्षणका लागि निस्कनु भयो । बाटोमा वृद्ध, रोगी, मृतक र सन्यासी देखिए । जीवनको यो उतारचढावले यस अगाडि यति गहिरोसँग छोएको थिएन । यसले विचलित बनायो । फर्किँदै गर्दा दरबारबाट पुत्रजन्मको खबर आयो । जीवनको नश्वरताबाट विचलित बनेका सिद्धार्थको मुखबाट निस्कियो– अहो राहु उत्पन्न भएछ । अन्ततः छोराको नाम राहुल राखियो ।
सिद्धार्थले सौन्दर्यभित्रको कुरुपतालाई देख्नुभएको थियो । आकर्षणमा छिपेको रागको बन्धनलाई बुझ्नुभएको थियो । आफूलाई खुसी दिन रातभर नाचेर थाक्ने सुन्दरीहरुको विदु्रपतालाई अपरिचित थिएन । वहाँलाई दरबार चिहान जस्तो लाग्यो । र, अवश्यम्भावी दुःखलाई पनि नदेखे झैँ गरी रमाउने मानिसहरु मुर्दाजस्ता । मनमा दरबार त्याग्ने निर्णय निश्चय भयो ।
सारथि छन्नले प्रिय घोडा कन्थक तयार पारे । सिद्धार्थलाई राहुलको याद आयो । वहाँले पर्दा तानेर खोपीमा चिहाउनुभयो । आमाको पाखुरालाई सिरान बनाएर सात दिनका राहुल सुतिरहेका थिए । मध्यरातमा सिद्धार्थ बाहिर निस्कनुभयो । कन्थकलाई थप्थपाउँदै भन्नुभयो– प्रिय कन्थक, आज तिमिले मलाई तार । ज्ञान प्राप्त गरेपछि म संसारलाई तार्नेछु । दरबारको पूर्वी द्वारबाट सिद्धार्थ र छन्न घोडामा निस्किए । यो आषाढ पूर्णिमाको रात थियो । अभिजित् नक्षत्र पारेर दुःख र अज्ञानलाई जित्ने महान् यात्राको थालनी गर्नुभयो सिद्धार्थले । यो परिघटनालाई महाभिनिष्क्रमण भनिन्छ ।
ज्ञानको खोजी : ई.पू. ५३४–५२८
त्यस रात तीस योजन हिँडी अनोमा नदीको किनारमा पुगे । वहाँले आफ्ना अमूल्य गहना र वस्त्र छन्नलाई दिनुभयो । तरबारले आँफै कपाल मुण्डन गरेर प्रब्रजित हुनुभयो । कन्थकले सिद्धार्थको वियोग सहन नसकी मर्यो । सिङ्गो कपिलवस्तु शोकको सागरमा डुब्यो । मल्लहरुको अनुप्रियाबाट सिद्धार्थको यात्रा राजगृहतर्फ सोझियो । त्यहाँ बिम्बिसारले वहाँलाई राज्य नै सुम्पिन तयार भए । तर ज्ञानको तुलनामा मगधको सिंहासन निकै तुच्छ थियो ।
तपस्वी भेषमा ज्ञानको खोजी गर्दै भिक्षु सिद्धार्थले ब्राह्मण, साधुहरु, साक्या, पद्मा, रेवत, भार्गव, वशिष्ठजस्ता गुरुहरूको सङ्गत गर्नुभयो । खोजकै क्रममा वैशाली महानगरमा रहेका गुरु आराड–कालाम, समाधिको उच्चस्तरको ज्ञान पाएका गुरु उद्दक रामपुत्रबाट पनि समाधिका उच्चस्तरहरु हासिल गर्नुभयो । सिद्धार्थलाई दुःखबाट मुक्त हुनु थियो, अरुलाई पनि मुक्तिको बारेमा सिकाउनु थियो । यी कुनै पनि मार्गले दुःखको स्थायी समाधान हुने कुरामा सिद्धार्थ विश्वस्त हुन सक्नुभएन ।
अब मुक्तिको लागि आफैले साधना गर्नुपर्ने भयो । त्यसका लागि उहाँले ६ वर्षसम्म दुष्कर चर्याको अभ्यास गर्नुभयो । वहाँले आफ्नो शरीरलाई यतिसम्म नियमन गर्नुभयो कि त्यो एक अस्थिपञ्जरमा परिणत भइसकेको थियो । त्यो विमुक्तिको मार्ग थिएन । वीणाको तार धेरै तन्काइयो भने छिन्छ । धेरै खुकुलो गरिए धुन निस्किँदैन । यो नियम जीवनमा पनि त लागू हुँदो रहेछ । सिद्धार्थले मध्यम मार्ग अपनाउने निश्चय गर्नुभयो । वहाँले दुष्कर चर्या छोड्नुभयो र पाँच साथीहरुले वहाँलाई छोडे ।
पञ्च महास्वप्न : ई.पू. ५२८
दुष्कर चर्यापछि सिद्धार्थले भोजनको माध्यमबाट क्रमशः स्वास्थ्यमा सुधार ल्याउनुभयो । वैशाख शुक्ल चतुर्दशीको रातमा उहाँले सपना देख्नुभयो ।
१. विशाल हिमाल वहाँको सिरानी थियो, दुवै हातहरु पूर्व र पश्चिम समुद्रसम्म र पैतालाहरु दक्षिणको समुद्रसम्म फैलिएका थिए,
२. नाभीबाट कुश उमे्रर आँखाले नभेट्ने गरी सुदूर आकाशमा पुगेको थियो,
३. दुवै पैतालाबाट काला र सेता कमिला उत्पन्न भै घुँडासम्म आएका थिए,
४. चार विभिन्न रङ्का चरा उडेर पैतालसम्म आई एउटै रङ्का भई गएका थिए,
५. फोहोरको थुप्रोमा हिँड्दा पनि उहाँको पैतालामा फोहर लागेको थिएन,
सपनाबाट ब्यूँझेपछि सिद्धार्थलाई लाग्यो आज बुद्धत्व प्राप्त हुनेछ । गाउँमा भिक्षा माग्न जाने तयारी गरी उहाँ वरको रुखमुनि बस्नुभयो । उहाँको मुखमण्डल पूर्वतिर फर्किएको थियो ।
सुजाताको खीर दान र सम्बोधिलाभः ई.पू. ५२८
उरुबेल गाउँकी युवती सुजाताले वृक्षदेवतालाई खीर चढाउन जाँदा सिद्धार्थलाई देखिन् । तपस्वीको दिव्य तेज र व्यक्तित्वबाट सुजाता यति प्रभावित भइन् कि उनलाई साक्षात् वृक्षदेव आफ्ना अगाडि प्रकट भएजस्तो लाग्यो । उनले त्यो खीर सिद्धार्थलाई दिइन् । सिद्धार्थले खीर खानुभयो । नैरञ्जनाको कञ्चन जलमा नुहाउनुभयो । स्वस्ति ब्राह्मणले दिएको आठ मुठा घाँसको आसन बनाएर बोधिलाभ गरेरै छोड्ने प्रतिज्ञाका साथ सिद्धार्थ वृक्षको फेदमा ध्यानमग्न हुनुभयो । नभन्दै त्यही आसनमा वहाँलाई बोधिलाभ भयो । जन्म र मृत्युको गाँठो सधैँका लागि खुल्यो । पैँतीस वर्षको उमेरमा बोधिवृक्षमुनि वहाँ सम्यक् सम्बुद्ध बन्नुभयो । यो वैशाख पूर्णिमाको रात थियो । त्यो ठाउँ बोध गया भनेर चिनियो । बुद्धले जुन वृक्षमुनि ज्ञान प्राप्त गर्नुभयो, पिपलको त्यस वृक्षलाई बोधिवृक्ष भनियो । ज्ञान पाएपछि बुद्ध सात हप्ता बोधिवृक्षकै वरिपरि साधना गरी बस्नुभयो ।
प्रथम धर्मचक्र प्रवर्तनः ई.पू. ५२८
आफूले पाएको ज्ञान संसारको हितका लागि बाँड्ने आसयका साथ बुद्धको धर्मयात्रा आरम्भ भयो । सारनाथको मृगदाव वनमा पाँच जना साथीहरुलाई ज्ञान सिकाउन वहाँ त्यतैतिर लाग्नुभयो । उनीहरू दुष्कर चर्याको अभ्यास गर्दाका साथी थिए । तीमध्ये मुख्य कौडिन्य त दरबारीया गुरु पनि हुन् । बुद्धले चतुरार्य सत्यको गहिरो उपदेश दिँदादिँदै उनी अर्हत् बने । बुद्धले सारनाथमा पहिलो उपदेशद्वारा जगतका लागि कल्याणको ढोका उघार्नुभयो । यो घटनालाई प्रथम धर्मचक्र–प्रवर्तन भनेर चिनिन्छ ।
सङ्घको विस्तार : ई.पू. ५२८–४८३
पञ्च वर्गीय भिक्षुहरूलाई प्रब्रज्या दिइसकेपछि बुद्धका अनुयायीहरूको सङ्ख्या दिनानुदिन बढ्न थाल्यो । सद्धर्मको गङ्गा अविरल प्रवाहमान हुन थाल्यो । भिक्षु भिक्षुणीहरूको सङ्घ बन्यो । उँच र नीचको पर्खाल भत्कियो । धनी र गरिबको सीमा मेटियो । लाखौँ उपासक र उपासिकाहरुको सङ्घ बन्यो, जो घरमा रहेर पनि बुद्धको उपदेश अनुसार ज्ञानको मार्गमा आरूढ भए । ज्ञान प्राप्तिपश्चात् ८० वर्षको उमेरसम्म लगातार ४५ वर्ष बुद्धले उपदेश दिइरहनु भयो । हरेक वर्ष वर्षावासका तीन महिना बाहेक अन्य समयमा बुद्धले यात्रा अविश्रान्त रह्यो ।
महापरिनिर्वाण : ई.पू. ४८३
बुद्धको शरीरले ८० औँ वसन्त पार गर्दै थियो । र, त्यो जराजीर्ण भइसकेको थियो । राजगृहबाट वैशाली जाने क्रममा उहाँ अस्वस्थ हुनुभयो । वहाँले आनन्दलाई तीन महिनापछि शरीर त्याग्ने कुरा सुनाउनुभयो । पावा पुग्दा नकर्मी चुन्दले सुकरमद्दव भनिने विशेष परिकार खुवाए त्यसपछि बुद्ध झन् बिरामी हुनुभयो । बुद्धको अन्तिम शारीरिक यात्रा जसोतसो कुशीनगरसम्म पुग्यो । सालका दुई रुखको माझमा आसन लगाई पल्टेर अन्तिम क्षणसम्म पनि उपदेश दिइरहनु भयो । अन्ततः लोकलाई अनित्यको अन्तिम पाठ पढाउँदै ध्यानद्वारा पूर्ण शान्तिमा प्रवेश गर्नुभयो । यो वैशाख पूर्णिमाको रात थियो । बुद्धले शरीर त्यागेको घटनालाई महापरिनिर्वाण भन्ने गरिन्छ ।
अस्थिधातुको वितरण : ई.पू. ४८३
कुशीनगरमा राजकीय सम्मानका साथ बुद्धको शरीरको दाहसंस्कार गरियो । वहाँको अस्थिधातु कसले लाने भन्ने विषयमा कुशीनगर र आसपासका राजाहरूमा विवाद भयो । द्रोण नाम गरेका ब्राह्मणले विवाद समाधानका लागि अस्थिधातुलाई आठ भाग लगाए । जसमध्ये मगध, वैशाली, कपिलवस्तु, अल्लकप्प, रामग्राम, पावा, कुशीनगर र बेठद्वीपका ब्राह्मणहरूलाई क्रमशः एक एक अंश प्राप्त भयो । अस्थिधातु सङ्कलन गरिएको घडा द्रोण आफैले राखे भने पिप्पली वनका मौर्यहरु पछि आएका हुनाले कोइला मात्र प्राप्त गरे । बुद्धको अमूल्य अस्थिधातु लगिएका ठाउँहरूमा स्तूप बनाइए । बुद्धको पूर्ण पारदर्शी र सार्वभौम धर्मको उपहारले विश्व धन्य बन्यो ।
(क्रमशः….)
प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार ८ : २० बजे
प्रतिक्रिया