दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

अछाममा मतदाता नामावली सङ्कलन कार्य सुरु हुँदै

अछाम । अछाममा मतदाता नामावली संकलन कार्य सुरु हुने भएको छ । आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गर्दै फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम सुरु हुने भएको जनाइएको छ । जिल्लाका सबै स्थानीय तहका केन्द्रमा नामावली संकलन कार्य सञ्चालन गर्न लागेको जिल्ला निर्वाचन कार्यालयको भनाइ छ । 

मंसिर १७ गतेदेखि सुरु हुने नामावली संकलन कार्य दुई चरणमा सञ्चालन हुने निमित्त जिल्ला निर्वाचन अधिकारी गजेन्द्र प्रकाश थारुले जानकारी दिनुभयो । दुई चरणमा सञ्चालन हुने नामावली संकलन कार्य प्रत्येक पालिकामा १० दिनसम्म सञ्चालन हुने र बिदाको दिनसमेत जारी रहने बताइएको छ । ६ गाउँपालिका र ४ नगरपालिका सहित १० स्थानीय तह रहेको अछाममा पहिलो चरणमा मंसिर १७ गतेदेखि मङ्सिर २६ गतेसम्म जिल्लाका कमलबजार नगरपालिका, ढकारी गाउँपालिका, चौरपाटी गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका, रामारोशन गाउँपालिकामा सञ्चालन हुनेछ ।

दोस्रो चरणमा मङ्सिर २८ गतेदेखि पुस ८ गतेसम्म साँफेबगर नगरपालिका, मेल्लेख गाउँपालिका, पञ्चदेवल विनायक नगरपालिका, तुर्माखाँद गाउँपालिकामा सञ्चालन हुने निर्वाचन कार्यालयले जनाएको छ । 

मंगलसेन नगरपालिकाका मतदाता र जिल्लाभित्रका अन्य मतदाताहरूले जिल्ला निर्वाचन कार्यालय अछाम तथा जिल्ला प्रशासन कार्यालय अछाममा रहेको मतदाता नामावली संकलन कक्षबाट सेवा लिन सक्ने कार्यालय प्रमुख थारुले बताउनुभयो । उहाँले बाह्य जिल्लाबाट आएका नागरिकका लागि पनि मतदाता नामावली कार्य सञ्चालन हुने जानकारी दिनुभयो । नामावली संकलनका लागि दर्ता कर्मचारी, दर्ता स्थल व्यवस्थापक, सहायक दर्ता कर्मचारी र दर्ता स्थल सहयोगी रहने व्यवस्था मिलाइएको जनाइएको छ ।

स्थानीय तहको केन्द्रमा हुने मतदाता नामावली संकलनमा १६ वर्ष उमेर पूरा गरी नागरिकता भएकाहरूले फोटो खिचाउने र नाम दर्ता गराउन सक्नेछन् । फोटो सहितको मतदाता नामावली संकलनको लागि आउँदा अनिवार्य रूपमा नेपाली नागरिकताको सक्कल प्रमाणपत्र ल्याउनुपर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

अछाममा हालसम्म १ लाख ४८ हजार ४ सय जनाभन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका निमित्त जिल्ला निर्वाचन अधिकारी थारुले बताउनुभयो ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ७ : २२ बजे