साइबर ब्यूरो स्थापना गर्न कोरियाली सहयोग

काठमाडौं । गणतन्त्र कोरियाले साइबर ब्यूरो स्थापना गर्न रु ८० करोड भन्दाबढी आर्थिक सहयोग उपलव्ध गराउने भएको छ । 

सहयोगसम्बन्धी सम्झौतामा आज राजधानीमा आयोजित एक कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डे र यहाँस्थित कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग( कोइका) का देशीय निर्देशक सुनहुन कोले हस्ताक्षर गर्नुभयो ।  

उक्त रकम नेपाल प्रहरीको क्षमता अभिवृद्धि, साइबर अपराध विरुद्ध उनीहरूको सशक्तीकरण, साइबर ब्यूरोको अत्याधुनिक भवन निर्माण, साइबर अपराध अनुसन्धान र डिजिटल उपकरण, विधिविज्ञान प्रयोगशाला निर्माणमा उपयोग गरिने गृह मन्त्रालयले जनाएको छ । 

कोइकाले नेपाल प्रहरीसँगको सहकार्य र समन्वयमा उक्त परियोजना आगामी छ वर्षभित्रमा पूरा गर्नेछ । कोरिया  सरकारले सन् २०४७ देखि स्वास्थ्य, व्यावसायिक तालिम, ग्रामीण विकास र सूचना प्रविधिका विभिन्न क्षेत्रमा कोइकामार्फत नेपाल सरकारलाई सहयोग गर्दै आएको छ । 

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ४ : २० बजे