‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आत्महत्याको योजना बनाउने मानिसले कुनै पनि बेला आत्महत्या गर्न सक्छ : मनोविश्लेषक आचार्य

नेपालमा दिनानुदिन आत्महत्याका घटनाहरु बढ्दै गइरहेको अवस्था छ । आत्महत्याको अवस्था बढ्दै जानुको प्रमुख कारकका रुपमा सामाजिक, मानसिक र आर्थिक तत्वलाई लिइएको छ । नेपालको सन्दर्भमा डोरीले झुण्डिएर, विष सेवन गरेर, घरको छत तथा खोलामा हाम फालेर, आफ्नो हात काटेर लगायत अत्याधिक रुपमा रक्सीको सेवन गरी आत्महत्या गर्ने गरेको पाइन्छ । यिनै विषयहरुमा केन्द्रीत भएर चक्रपथकर्मी युवराज ढुङ्गेलले मनोविश्लेषक वाशु आचार्यसँग गरेको कुराकानी :

सामान्यतया आत्महत्या केलाई भनिन्छ ?
सामान्य अर्थमा आफैँले आफ्नो श्वास रोकि गरिने हत्यालाई आत्महत्या भनिन्छ । प्रायः मानिसहरु मानसीक तनाव तथा पीडाहरु थेग्न नसकी बाँच्नु भन्दा मर्न सजिलो ठानेर आत्महत्या गर्दछन् । केही मानिसहरु भने आफ्नो रिसको आवेगमा आई आत्महत्या गरेको पाइन्छ । आत्महत्या मानिसले विभिन्न तरिकाले गर्ने गरेका छन् ।
मनोवैज्ञानिक दृष्टिमा आत्महत्या एक प्रकारको मानसीक समस्या हो । यो समस्या पछिल्लो ५० वर्षको अवधिमा ६० प्रतिशतले बढेको छ । त्यसैले हिजोआज आत्महत्या मृत्युको एक प्रमुख कारण बनेको छ ।

आत्महत्या गर्नुपर्ने कारण के–के हुन सक्छन् ?
आत्महत्या गर्ने यही कारण हो भन्न सकिँदैन । किनकि पहिला पहिला प्रेममा असफल हुँदा समेत समान्य कुरामा आत्महत्या हुने गरेको थियो । वास्तवमा आत्महत्या एक जटिल सामाजिक, मनोवैज्ञानिक तथा जैविक कारणको उपज हो । त्यसैले आत्महत्याका विविध कारण हुन सक्दछन् । तर आत्महत्याको कोसिस गर्ने तथा आत्महत्या गर्ने ९० प्रतिशत मानिस कुनै न कुनै मानसिक समस्याबाट पीडित भएका हुन्छन् । तर सबै मानसिक समस्याले आत्महत्या तथा आत्मक्षति गर्छ भन्ने छैन ।
१५ देखि २० प्रतिशत डिप्रेसन पीडितले आत्महत्याको प्रयास गर्छन् । मानिसले डिप्रेसनका साथै चिन्ता, व्यक्तित्व विकार तथा  मानसिक समस्याको कारणले पनि आत्महत्या गर्छन् । प्रायः मानिसलाई डिप्रेसनमा पुर्याउने सामाजिक तथा मनोवैज्ञानिक कारणले पनि मानिसहरुले आत्महत्या गर्न सक्दछन् । गम्भीर तथा पीडादायक शारीरिक रोग क्यान्सर तथा एड्स लाग्नु, परीक्षामा असफलता, प्रेममा विछोड तथा असफलता, कष्टदायक वैवाहिक जीवन, अवैध गर्भधारण, व्यापार–व्यवसयामा घाटा तथा क्षति, ऋण, सामाजिक अपमान तथा बहिष्कार आदि आत्महत्याका कारक हुन सक्छन् ।
आत्महत्या गर्ने मानिसको मस्तिष्कमा सेरेटोनिन स्नायु रसायनको कमी हुन्छ । यस्ता रसायनको कमी भयो भने मानिसलाई संवेदना नियन्त्रण गर्न कठिन पर्छ र उनीहरूमा आक्रमक तथा विध्वंशक आचारण बढ्छ । जसले गर्दा मानिस आत्महत्या गर्न पुग्छन् । वंशाणुगत कारणले पनि मानिसले आत्महत्या गर्छन् ।

परिवारको कुनै एक सदस्यले आत्महत्या गर्दै छ भनि कसरी पहिचान गर्ने ?
आत्महत्या विश्वव्यापी घटना भएतापनि ७८ प्रतिशत आत्महत्याका घटना विकासोन्मुख देशहरुमा हुने गरेको तथ्याङ्क छ । उनीहरुको भावनामा बिना कारण उतार चढाव आउने गर्छ । सोचेको जस्तो भएन भने व्यक्ति एकदमै रिसाउने, झर्किने, छिटो हतोत्साहित हुने, अस्वभाविक रुपमा दुःखी तथा खुसी हुने आदि लक्षणहरु देखिन्छ । कुनै पनि कुरामा प्रतिक्रिया नदिने, आफ्नो सरसफाइमा वास्ता नगर्ने, कुनै कुरामा पनि रुचि नदेखाउने जस्ता नैराश्यता झल्काउने लक्षणहरु उनीहरुमा देखिने गर्दछन् ।
आफूलाई योग्यहीन महशुस गर्ने, आफूले आफैंलाई हानी नोक्सानी तथा शारीरिक असर पार्ने व्यवहार गर्ने र आफू मर्नेबारे कुराहरु गरिहन्छन् । त्यही अनुसार मर्नका लागि गोप्य रुपमा तयारी समेत गरेका हुन्छन् । मेरो कोही छैन, मलाई कसैले फुटेको आँखाले हेर्दैनन्, म केको लागि बाँच्ने भन्ने शब्दहरु व्यक्त गरिरहेको पाइन्छ । गम्भीर तनाव र डिप्रेशनका बीच पनि कुनै व्यक्ति अचानक शान्त हुन थाल्यो भने त्यो व्यक्ति कुनै गलत निर्णयमा पुगिसकेको भन्ने स्पष्ट हुन्छ ।
त्यस्ता व्यक्तिहरु एक्लै बस्न रुचाउने, कुनै पनि सामाजिक गतिविधिबाट भाग्ने र कुनै पनि काममा दिलचस्पी नराख्ने गर्छन् । आत्महत्या गर्ने सोच आएपछि कुनै उक्त व्यक्तिमा अचानक परिवर्तन आएको अनुभव गर्न सकिन्छ । 
धेरै संवेदनशील तथा बिना सोचविचार निर्णय गर्ने व्यक्तिहरू, मानसिक रूपमा अपरिपक्व तथा कमजोर मानिस, जो जीवनमा आउने सानोतिनो उतारचढावदेखि हायलकायल हुने गर्छन्, एकल जीवन जिउने मानिस, आत्महत्याको धम्की दिने तथा पहिला आत्महत्याको कोसिस गरेका व्यक्ति ।

कुन उमेर समूहका मानिसहरुले आत्महत्या गरेको देखिन्छ ?
विश्वमा प्रति वर्ष १० लाख मानिसहले कुनै न कुनै कारण आत्महत्या गरेको तथ्याङ्क उल्लेख छ । प्रायः सबै देशमा १५ देखि २४ वर्षका मानिसमा यो समस्या बढी देखिने गरेको छ । जब मानिसले समस्या समाधानका कुनै उपाय देख्दैन, त्यतिबेला उसले आत्महत्याको बाटो रोजेको पाइन्छ । संसारमा वर्षेनी लगभग ८ लाख व्यक्तिले आत्महत्या गर्छन् । हरेक ३ सेकेन्डमा १ जनाले प्रयास र ४० सेकेन्डमा १ जनाले आत्महत्या गर्छन् । १५–२९ वर्ष उमेर समूहमा आत्महत्या मृत्युको दोस्रो प्रमुख कारणका रुपमा रहेको छ । यही उमेरका व्यक्तिले आत्महत्या गर्छ भन्ने हुँदैन्, यो वातावरण अनुरुप हुने प्रक्रिया हो ।

आत्महत्या गर्न कस्ता किसिमका मानसिक रोगहरुले उत्प्रेरित गर्छ ?
आत्महत्याका लागि धेरै पक्षहरुले प्रेरित गरिरहेका हुन्छन् । त्योमध्ये सबैभन्दा महत्वपूर्ण कारण भनेको डिप्रेसन नै हो । त्यसबाहेक लागुऔषध र मद्यपानले मानिसलाई आत्महत्या गर्न पनि प्रेरित गर्छ । सिजोफेनिया र बाइकोलार जस्ता जटिल मानसिक समस्याका कारण पनि मानिसले आत्महत्या गर्छ ।  डिप्रेसन पनि ३ प्रकारका हुन्छन् । सामान्य, मध्यम र मेजर डिप्रेसन । मेजर डिप्रेसन सबैभन्दा भयानक अवस्था हो । यो अवस्थामा रहेका मानिसहरुले आत्महत्या गर्ने सम्भावना झन्डै सतप्रतिशत नै हुन्छ । यस्ता व्यक्तिहरु पूर्णरुपमा आत्महत्या गर्न तयारी भएर बसेका हुन्छन् । मेजर डिप्रेसनले मानिसलाई समाजमा टिक्नै नसक्ने महशुस गराउँछ । यसले मानिसलाई आफ्नो नियन्त्रणभन्दा बाहिर धकेल्छ ।

मानिसमा आत्महत्या गर्ने विचार किन र कसरी आउँछ ?
आत्महत्या गर्ने वा आत्महत्याको विचार गर्ने मानिसको मनमा प्रायः यस्ता विचार पैदा हुने गर्छन् । भविष्य अँध्यारो देख्ने, बाँच्नुको अर्थ नदेख्ने, धरतीको बोझ ठान्ने, मरेपछि मात्र समस्या समाधान देख्ने, संसार बिरानो देख्ने, तिरस्कार तथा अपहेलना सहन नसक्ने, लेखेको कर्ममा विश्वास गर्ने, आत्महत्या गर्ने योजना बनाउने मानिसले कुनै पनि बेला आत्महत्या गर्न सक्छन् ।

आत्महत्या नियन्त्रनमा परिवारको भूमिका कस्तो हुन्छ ?
कतिपय यस्ता समस्या गलत पारिवारिक तथा समाजिक वातावरण तथा गलत जीवनशैलीद्वारा उत्पन्न हुने गर्छन् । सुरुदेखि नै बालबालिकाको उचित देखाभाल गर्ने तथा उनीहरूको आहारबिहार ठीक राख्ने हो भने बालबालिका शारीरिक तथा मानसिक रूपमा स्वस्थ र मजबुत हुन्छन् । यस्ता मानिसहरूमा तनाव थेग्नसक्ने सामथ्र्य पनि बढी हुन्छ । आत्महत्याका घटनाहरू रोकथाम तथा न्यूनीकरण गर्न शैक्षिक तथा जागरण कार्यक्रमहरूको ठूलो भूमिका हुन्छ । आत्महत्याको जोखिममा भएका व्यक्तिलाई सहयोग गर्नको निम्ति साहस र धैर्यको जरुरत हुन्छ । राम्रोसँग कुरा गरेको खण्डमा आत्महत्याको सोचाइप्रतिको भावना उथलपुथल हुनसक्छ ।

आत्महत्या गर्नेमा महिला धेरै छन् कि पुरुष ?
महिलाको तुलनामा पुरुषको संख्या बढी छ । रक्सी खाने, कडा मानसिक रोग पनि पुरुषमा बढी हुने, व्यापार–व्यवसायको प्रतिस्पर्धामा पनि पुरुष नै बढी हुने भएकाले डिपे्रसन तथा इम्पल्सिन एक्ट पनि पुरुषमै बढी हुने कारण आत्महत्या गर्नेमा पुरुष नै बढी देखिन्छन् ।

आत्महत्या कसरी नियन्त्रण गर्न सकिन्छ ?
विकसित देशमा आत्महत्या रोकथामका लागि अनेकौं प्रयास भएका छन् । प्रशस्त संघसंस्था खोलिएका छन्, जसले आत्महत्या गर्न खोज्ने व्यक्तिलाई भावानात्मक सहयोग गर्नुका साथै उपयुक्त परामर्शका लागि मार्गदर्शन गर्ने कार्य गर्छन् । तर नेपालमा भने यस किसिमका संघसंस्था छैनन् । एकाध भएपनि प्रभावकारी हुन सकेका छैनन् । मानसिक रोगका व्यक्तिहरुसँग सकेसम्म धेरै समय बिताउने, उसका कुराहरु सुन्ने, माया गर्ने र परिवार तथा समाजबाट सहयोग गर्नुपर्छ ।
सकारात्मक कुराहरु सिकाउने, आज जे छ भोलि योभन्दा राम्रो हुन्छ भन्ने कुराको महसुस गराउनु आवश्यक छ । तीव्र आर्थिक समस्याले पिरोलिएका व्यक्ति, परीक्षामा असफल भएका विद्यार्थी, अन्यायपूर्ण तरिकाले नोकरीबाट बर्खास्त परेका व्यक्ति, अतिप्रियजनको आकस्मिक निधनद्वारा दुःखी भएका व्यक्ति आदिलाई विशेष रेखदेख गर्नुपर्दछ ।

आत्महत्या गर्ने सोचको उपचार कसरी गरिन्छ ?
यसका लागि साइकोथेरापी र आवश्यक परेको खण्डमा औषधीको प्रयोगबाट यसको उपचार गरिन्छ । मानसिक रोग नै आत्महत्याको प्रमुख कारण भएकाले यसको उचित औषधि–उपचारको व्यवस्था तथा मानसिक रोगीहरूको उचित स्याहारसुसार र रेखदेख गर्ने हो भने ९० प्रतिशत आत्महत्या स्वतः कम हुन्छ । आत्महत्यालाई निर्मुल पार्न कठिन छ ।
तर आत्महत्या गर्ने सोचलाई भने हटाउन सकिन्छ । डिप्रेशन भएको छ भने एक्लै बस्दै नबस्नुस् । आफ्ना परिवारका सदस्य तथा साथीभाईसँग लगातार सम्पर्कमा रहने गर्नुस् । आफ्ना समस्याको बारेमा खुलेर कुरा गर्नुस् । एक्लोपनबाट बच्नका लागि किताब पढ्नुस्, निन्द्रा पुर्याउनुस्, मद्यपान तथा धुम्रपान नगर्नुस् र मानसिक स्वास्थ्यका लागि मनोचिकित्सकको सहयोग लिनुस् ।

नेपालमा आत्महत्या गर्नेको तथ्याङ्क कस्तो छ ?
नेपालमा ८० प्रतिशत आत्महत्या भने मानसिक स्वास्थ्य समस्याका कारणले हुन्छन् । त्यसबाहेक व्यक्तिका मनोवैज्ञानिक, वंशाणुगत र सामाजिक अवस्थालाई पनि आत्महत्याको कारण मानिएको छ । विश्व स्वास्थ्य संगठनअनुसार संसारभर बढी आत्महत्या हुने देशमध्ये नेपाल सातौं स्थानमा पर्छ ।
नेपालमा पुरुषको तुलनामा आत्महत्या गर्ने महिलाको संख्या धेरै छ । आत्महत्या गर्ने महिलालाई मात्र हेर्ने हो भने नेपाल तेस्रो स्थानमा पर्छ । एक अध्ययनअनुसार नेपालमा बर्सेनी औषत ८ हजार ६४० जना मानिसले आत्महत्या गर्ने गरेको पाइएको छ । नेपालमा आत्महत्याको अवस्थाबारे चर्चा गर्दा प्रत्येक वर्ष सरदर ४ हजार ६७४ व्यक्तिले आत्महत्या गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।

अन्तमा हाम्रा पाठक तथा मानसिक रोगी व्यक्तिहरुलाई के सन्देश दिन चहानुहुन्छ ?
मानिसलाई जिन्दगी जिउन एकदमै सजिलो छ, तर कोही व्यक्तिहरुलाई धेरै कठिन रहेको हुन्छ । समस्याको अन्त्य नै मृत्यु हैन त्यसलाई जितेर अहि बढ्नु नै स्वस्थ व्यक्तिको पहिचान हो । सानैदेखि जटिल समस्या नहुने यो संसारमा कोही छैन सबैले आफूलाई मारेका पनि त छैनन् । त्यसैले मानसिक रोग एक अवस्था हो त्यसका लागि सही समयमा पहिचान गर्न सकियो र उपचार भएमा यो विचारको समधान गर्न सकिन्छ ।
आत्महत्या मुख्यतया डिप्रेशनकै कारण हुने भएकाले धेरै कुरा नसोच्नुस्, मनमा कुराहरु नखेलाउनुहोस्, अनावश्यक तर्क या विचार नगर्नुस्, अरुको देखासिखीबाट टाढै रहनुहोस्, आफ्नालाई व्यस्थ राख्ने प्रयास् गर्नुहोस्, तनाव नलिनुहोस्, नकरात्मक व्यक्तिहरुबाट टाढै रहनुहोस्, योग, व्यायाम, मेडिटेसन गर्नुहोस् । यस्ता विभिन्न साना कुराहरुले तपाईंले आफूलाई नियन्त्रित पर्न सक्नुहुन्छ । अध्ययन गर्नुस्, नयाँ–नयाँ कुराहरु खोज्ने बानीको विकास गर्नुहोस्, समाजका विभिन्न कार्यमा सहभागी रहनुहोस् । यसबाट आत्महत्या गर्ने कुरा तपाईंको मनबाटै हट्नेछ । बाँचुन्जेल खुसीसाथ जिउनु नै आत्महत्या नियन्त्रणको उपाय हो । 

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १ : ४३ बजे