राजमार्गमा दृष्य एक, पीडा अनेक

एमाले नेतृत्व विरुद्ध स्यालहुईयाँ ‘संयोग मात्र’ होइन !

काठमाडौं । नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशन अन्तिम चरणमा छ । नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । अबको केही घण्टामै परिणाम आउनेछ । 

कुनै पनि पार्टीको अधिवेशन, महाधिवेशन, गठन, पुनर्गठन आदि क्रियाकलाप सम्बन्धित पार्टीको नितान्त आन्तरिक विषय हो । यस्ता क्रियाकलाप स्वाभाविक औपचारिक विषय हुन् । तर, मुलुकको शक्तिशाली पार्टी, जनप्रिय पार्टी र जनताले आशा भरोसा गरेको पार्टी हुनुको हैसियतले यसका क्रियाकलापप्रति मिडिया, भिन्न पार्टी, सर्वसाधारणको विशेष चासो हुनु अन्यथा होइन ।

यसप्रति हुने — भइरहेका टिप्पणीहरूलाई पार्टीका नेता—कार्यकर्ताहरूले यसरी नै बुझ्नु नै सही हुनेछ । थप भन्ने हो भने यो पार्टीका लागि मात्र सीमित पार्टी होइन, सबैको चासो र अपेक्षाको केन्द्र हो भनेर बुझ्नु नै उपयुक्त होला । नेपालीमा एउटा उखान प्रचलित छ, ‘ आफ्नो आङको भैँसी नदेख्नेले अरुका आङको भैँसी देख्दछ ।’ एमाले महाधिवेशनबारेका कतिपय टिप्पणीहरू देख्दा यो उखान चरितार्थ भएको देखिन्छ । भिन्न पार्टी दृष्टिकोण, भिन्न व्यवसाय भएका कतिपय मानिसहरू एमालेका विषयमा समान (उस्तै) खाले टिप्पणी गरिरहेको देख्दा यसलाई संयोग मात्र हो भनेर मान्न गाह्रै पर्ने देखिन्छ । खास गरी यसको खुला उद्घाटन समारोहको ऐतिहासिक सफलताबाट आँखा तिर्मिराएकाहरू महाधिवेशन शब्दलाई बिगारेर ‘ओलीवेशन’ आदि शब्द प्रयोग गरिरहेका छन् । हुन त बिगार्ने जिम्मा पाएका र नकारात्मकतामा रमाउनेहरू अरुको गतिलोलाई गतिलो भन्न सक्दैनन् र आफ्नो अगतिलोलाई अगतिलो भनेर स्वीकार गर्न सक्दैनन् । 

अहिले महाधिवेशनमा भएको सहमतिको प्रयास र चुनावका मागको विषयमा पनि ‘ओलीवेशन’को फोबियाको शिकार भएकाहरू नचाहिँदा स्यालहुईयाँ मच्चाइरहेका छन् । ओलीलाई व्यक्तिवादी, अलोकतान्त्रिक आदि भएको आरोप लगाइरहेका छन् । यसो गर्नेमा केही समय अघिसम्म पार्टीभित्रै रहेर ओलीलाई घेराबन्दीमा पार्ने, आफ्नो लागि भाग खोज्ने, सक्दो बार्गेनिङ गर्ने, हाताहाती नभई नहुने, पार्टी निर्णय कार्यान्वयनमा भन्दा निजी मान—अपमानका विषय सडकमा छिरोल्ने, उसले पायो—मैले पाइन भनेर कहाँ कहाँ लागे—पुगेसम्म सेटिङ गरेर आफ्नै पार्टी नेतृत्वको सरकार ढलाएर, सत्रुको पाउमा शक्ति सुम्पने लड्डुलालहरू छन् । यसमा आफ्नो महाधिवेशन समयमा आयोजना गर्न नसक्ने, समयमै टुंगोमा पु¥याउन नसक्ने, पार्टीमा भएको अन्यायका विरुद्धमा आफ्नै केन्द्रीय कार्यालयमा कार्यकर्ताको धर्ना बसेको काम्लो कुल्चेर हिँड्नेहरू छन् । यिनीहरू आफ्नै वडा भेलामा धक्कामुक्की र गोलीसम्म चलेको थाहा नपाएझैँ गर्छन् र ‘ओलीवेशन’को प्रचार गर्छन् । 

लोकतन्त्रमा नेतृत्वले लिने जिम्मेवारी तोकिएको प्रक्रिया बमोजिम हुन्छ । जनताको सार्वभौम अधिकारको प्रयोग जनप्रतिनिधिको माध्यमबाट हुन्छ । अध्यक्षले प्रयोग गर्ने अधिकार पनि केन्द्रीय कमिटीका सदस्यहरूको सहमति वा अनुमोदनमा हुन्छ । केन्द्रीय कमिटीले सर्वसम्मत रूपमा दिएको अधिकार प्रयोग गरेर नै अध्यक्ष केपी ओलीले पदाधिकारीको संख्या थप्ने प्रस्ताव र सर्वसम्मतिको सूची प्रस्ताव गर्ने काम भएको हो । जस अनुसार १९ जना पदाधिकारी समेत ३०१ संख्या रहेको नेतृत्व चयनका लागि नामावलि प्रस्तुत भएको हो । यसमा ११ जना प्रतिनिधिलाई चित्त बुझेन र ३३ स्थानका लागि चुनाव गर्नुपरेको स्पष्ट छ । यसबाट सहमति र सर्वसम्मतिको भावनाको कति हदसम्म सम्बोधन भएको रहेछ भन्ने स्पष्ट हुन्छ । साथै, यस्तो हुँदा पनि लोकतान्त्रिक सिद्धान्तको पूर्ण पालना गर्दै चुनावको गएको छर्लङ्ग छ ।  

सहमति, सर्वसम्मति सबैभन्दा उपयुक्त हो र निर्वाचन अन्तिम विकल्प हो । यसप्रति एमाले नेतृत्वमाथि खनिनुपर्ने कुनै कारण देखिँदैन । घटनाक्रहरूले पुष्टि गरेको तथ्य के हो भने एमाले नेतृत्व एकताबद्ध एमाले चाहन्छ । माधव नेपालको बहिर्गनमलाई साथ नदिएर एमालेमा रहेकाहरूको सम्मानजनक अवस्था रहोस् भन्ने चाहना देखिन्छ । अनेकौँ जोखिम उठाएर, लामो समयदेखि सहकार्यमा रहेका साथीहरूलाई छोडेर पनि एकताबद्ध कम्युनिष्ट आन्दोलनका पक्षमा रहेका साबिक माओवादी केन्द्रबाट एमालेमा रहनुभएका नेताहरूको सम्मानजनक व्यवस्थापन होस् भन्ने दूरदर्शिता देखिन्छ । 

तर, पार्टीको सहज आन्तरिक व्यवस्थापनका विरुद्ध निर्वाचनलाई नै अन्तिम र एक मात्र लोकतन्त्र ठान्ने जडसूत्रवादी व्यक्तिहरूको पदलोलुपताले थोरै चुनौती थपिदिएको छ । एमाले विरुद्ध घेराबन्दीमा रमाउनेहरू समवेत स्वरमा अहिले चुनावको पक्षमा बोलीरहेका छन्, भोलि निर्वाचनको परिणामपछि उनीहरू यही चुनावको विरुद्धमा स्यालहुईयाँमा उसै गरी एउटै स्वरमा एमाले नेतृत्वको विरुद्धमा चिच्याउने छन् । यस्तो हुँदा ‘संयोग मात्र हो’ भन्न सकिने छैन । कुनै व्यक्तिका पक्ष—विपक्षमा, आन्तरिक चुनावको पक्षमा धेरैथरि मानिसहरूको एउटै स्वर हुनु एमाले विरुद्ध घेराबन्दीको संगठित प्रयास हो । एमाले नेतृत्व र यसको इमान्दार कार्यकर्ता पङ्क्ति सजग रहनु आवश्यक छ । 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ११ : ५७ बजे