राजमार्गमा दृष्य एक, पीडा अनेक

जडता, आग्रह र स्वार्थका लागि सिद्धान्तको दुहाई ? सहमतिमा सर्वसम्मत नेतृत्व निर्माण गर्नु लोकतान्त्रिक पद्धति हो

काठमाडौं । अहिले नेकपा (एमाले)को दसौँ राष्ट्रिय महाधिवेशन चलिरहेको छ । सिद्धान्त कुनै कुरा बिगार्नका लागि होइन, कार्यतालिका र अपेक्षा अनुसार हिजो (१२ गते) सकिन पर्ने हो । यो महाधिवेशन नेतृत्व चयन गर्ने महाधिवेशन भएको हुनाले यो अलि लम्बिन पुगेको छ । 

महाधिवेशनका अधिकांश प्रतिनिधिहरू नेतृत्व सर्वसम्मत होस् भन्ने चाहन्छन् । विगतमा भएका विना प्यानल र प्यानलबद्ध निर्वाचन र त्यसको परिणाम देखे—भोगेका प्रतिनिधि र कार्यकार्यकर्ताहरू कुनै पनि बहानामा बाँडिन नहुने विचार राख्दछन् । चुनावले मानिसलाई कित्तामा उभ्याउँछ, यो कित्ता स्थायी गुटबन्दीमा परिणत हुन्छ र यसले सकारात्मक सन्देश दिँदैन भन्ने मान्यता राख्दछन् । यसरी सहमति—सर्वसम्मत नेतृत्व निर्माण होस् भन्ने चाहन्छन् । तर, सर्वसम्मति हुँदा आफूले भनेजस्तो पद पाइँदैन भन्ने बुझेका केही नेता भने पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको हवाला दिएर चुनावै गर्नुपर्ने अडानमा देखिएका छन् । यसरी सिद्धान्तको आफू अनुकूल व्याख्या गरेर आमप्रतिनिधिको भावनामाथि प्रहार गरिरहेका छन् । सिद्धान्त भनेको सपार्न र उचित व्यवस्थापनका लागि बनाइने गर्दछ । सिद्धान्त जति नै राम्रो भए पनि यो जीवनका लागि हो, जीवन सिद्धान्तका लागि हुनुहुँदैन । जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारी स्वयं भन्नुहुन्थ्यो, ‘जीवनका लागि सिद्धान्त हो, सिद्धान्तका लागि जीवन होइन ।’ यसरी हेर्दा अहिले एकताबद्ध र सुदृढ पार्टी जीवनका लागि निर्वाचनबाट नभई सहमति र समझदारीबाट सर्वसम्मत नेतृत्व निर्माण गर्नु नै श्रेयस्कर हुनेछ । हो, एमाले प्रतिस्पर्धा र पहलकदमीबाट नेतृत्व विकास गर्ने सिद्धान्त अवलम्बन गर्ने सैद्धान्तिक मान्यता राख्दछ, तर यसले देश, काल, परिस्थितिबाहिर गएर सिद्धान्तको प्रयोग गर्नुलाई प्रोत्साहन गर्दैन । राम्रै भए पनि हरेक ठाउँमा उही सिद्धान्त उसरी नै प्रयोग गरिँदैन । सिद्धान्तको प्रयोग सिर्जनशील ढंगले गर्ने हो ।  

महाधिवेशनका प्रत्येक प्रतिनिधिलाई चुन्ने—चुनिने अधिकार छ । अधिकारको कुरा पनि त्यस्तै हो । भनिएका अधिकार पनि सबैले उस्तै गरी पाउन सम्भव हुँदैन । समय, परिस्थिति अनुसार अधिकार पाइने, खुम्चिने, कटौती हुने पनि गर्दछ । तर, यी सबै जस्तोसुकै परिस्थितिमा पनि उही ढंगले न लागू हुन सक्दछ, न खुम्चिन सक्दछ र न त कटौती नै हुन सक्दछ । अहिले नेकपा(एमाले)मा कुनै प्रकार सैद्धान्तिक वैचारिक मतभिन्नता छैन । यस्तो बेलामा नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने हठ कसैले गर्नुहुँदैन । चुन्ने प्रतिनिधिहरूको मन—भावना खल्बल्याएर ‘मत’को हठ सिद्धान्तसम्मत हुँदैन । सहमति, सहकार्य, सर्वसम्मति लोकतन्त्र विरोधी मान्यता होइन । जित र हार होइन, जित जितका लागि सहमतिमा सर्वसम्मत नेतृत्व निर्माणमा जानु पार्टीको बृहत्तर हितमा हुनेछ । विगतका महाधिवेशनका क्षणिक प्रतिस्पर्धाले कोरेको कित्ताबन्दीको खाडल पुर्न एमालेले ठूलो मूल्य चुकाउन परेको तथ्य पार्टी पङ्क्तिले बिर्सेको छैन । 

जनताको बहुदलीय जनवाद कम्युनिष्ट आन्दोलनमा सिर्जनात्मक प्रयोगका लागि, सिर्जनात्मक ढंगले विकसित गरिएको सिद्धान्त हो । यसले गतिशीलता विकासको आधार मान्दछ । जडताको विरुद्धमा विकसित र स्थापित भएको को यो सिद्धान्त (जबज) को प्रयोग जडता, आग्रह र स्वार्थका लागि गरिनु हुँदैन । 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १० : ४८ बजे