एमाले महाधिवेशनमा पत्रकारका लागि सहायता कक्ष

भरतपुर – नेकपा (एमाले)को सौराहामा जारी दशौँँ राष्ट्रिय महाधिवेशनमा सहभागी सञ्चारकर्मीलाई प्रेस चौतारी नेपाल, चितवन शाखाले सहायता कक्षमार्फत व्यवस्थापन र अन्य सहयोग गरेको छ । महाधिवेशनमा समाचार सङ्कलनका लागि केन्द्र र स्थानीयस्तरबाट आएका सञ्चारकर्मीलाई समाचार सङ्कलनमा सहजीकरण गरेको चौतारीका जिल्ला अध्यक्ष सुवास पण्डितले बताउनुभयो ।

चौतारी बागमती प्रदेशका सदस्य एवं महाधिवेशन प्रचार सहयोग समिति, चितवनका सचिव तिलक रिमालले पत्रकारलाई सहजीकरण गर्न मिडिया सेन्टरसमेत स्थापना गरिएको बताउनुभयो । पत्रकारलाई समाचार सम्प्रेषण गर्न सहज तुल्याउन मिडिया सेन्टरमा आवश्यक इन्टरनेट र कम्प्युटरको सहज व्यवस्था गरिएको उहाँको भनाइ छ । 

रिमालले भन्नुभयो, “मिडिया सेन्टरमा बसेर पत्रकारलाई समाचार तयार गर्न सहज भएको छ ।” चौतारीले हेल्पडेस्कबाट पानी, चिया, अण्डा र केरासमेत निःशुल्क वितरण गरिरहेको छ । यस्तै स्वास्थ्य सामग्री मास्क, स्यानिटाइजर पनि वितरण गरिएको छ ।

पण्डितले भन्नुभयो, “हामीले रिपोर्टिङ मात्र गर्ने होइन, सामाजिक काम पनि गछौँ भन्ने उदाहरण सौराहामा प्रस्तुत गरेका छौँ ।” भरतपुरको नारायणी नदी किनारमा सम्पन्न महाधिवेशनको उद्घाटन सत्रमा चौतारी चितवनले प्रकाशन गरेको चौतारी स्मारिका एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट विमोचन गरिएको थियो ।

रासस

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ९ : १३ बजे